बाढीपीडितहरुको राहतको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पूर्वाञ्चलको भ्रमण गरेका छन् । कार्तिक १, २ र ३ गते भएको वेमौमी बर्षाका कारण प्रदेश नं. १ मा ठूलो धनजनको क्षति भएको थियो ।
पूर्वाञ्चलमा हालसम्म वेमौसमी बर्षाका कारण आएको बाढी, पहिरोमा परी ८६ जनाको मृत्यु भएको तथ्यांक बाहिर आए पनि मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ । प्रतिकूल मौसमका कारण उच्च पहाडी जिल्लामा भएको धनजनको क्षतिको विवरण हालसम्म आउन सकेको छैन । कैयौ परिवारका सदस्यहरु हालसम्म हराइरहेका छन्, कैयौ हालसम्मै पहिरोमा पुरिएका छन्, कैयौलाई खोला नदीले बगाएर बेपत्ता बनाएको छ । अर्कोतर्फ वेमौसमी बर्षाका कारण खरबौको सम्पत्ति नष्ट भएको छ ।
बर्षभरि दुःख गरेर लगाइएको धानबाली नष्ट भएको छ ।
सरकारी तथ्यांकलाई मात्र आधार मान्दा ८ हजार हेक्टरमा लगाइएको अरबौ रुपैयाकौ धानबाली नष्ट भएको छ । तर क्षति सरकारी तथ्यांक भन्दा कैयौ गुणा बढी भएको विज्ञहरुको अनुमान छ । वैमौसमी बर्षाका कारण परिवार, घरवारविहीन भएकाहरुलाई सरकारी स्तरबाट तत्काल राहतको व्यवस्था हुनुपर्नेमा हालसम्म पीडितले सरकारी स्तरबाट कुनै राहत पाउन सकेका छैनन् । यसलाई दुर्भाग्य नै मान्नुपर्छ । नागरिकप्रति सरकार कति जिम्मेवारी छ भन्ने कुरा यसले प्रष्ट पार्छ । विपत्तिका समयमा नपाएको राहतको औचित्य कति रहन्छ ? नेपालीहरुमा भएको सामाजिक सहिष्णुताका कारण व्यक्त तथा केही संघ संस्था, नेपाल रेडक्रस सोसाइटीहरुले तत्काल यथाशक्य राहत वितरण गरे । तर त्यो उनीहरुका लागि हप्ता दशदिनका लागि पनि पर्याप्त थिएन ।
भीषण बर्षासँगै आएको बाढी, पहिरोका समयमा सरकार सिंहदरबारमा उगाएर बसेको थियो । कथित गठबन्धनका कथित नेताहरु भागबण्डामै वार्ता गर्न व्यस्त थिए । नागरिकहरुले राज्यको अनुभूति गर्न पाएनन् र यो मुलुकमा लोभीपापीहरुको नेतृत्व रहुन्ज्याल पाउने सम्भवना पनि न्यून रहेको छ । जे होस् प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार हेलिकोप्टर चढेर बाढी पीडितहरुको अवस्था बुझ्न पूर्वाञ्चल भ्रमणमा आएका थिए । त्यसभन्दा अगाडि उनी सुदर पश्चिमको अवस्था बुझ्न गएका थिए । राज्यका यतिविधि संयन्त्र छन् कहाँ कति क्षति भयो भन्ने विवरण प्रधानमन्त्रीलाई जानकारी दिएकै होलान् । तत्काल राहतको लागि आवश्यक व्यवस्था गरेर वितरण गर्न मातहका निकायलाई निर्देशन पनि दिन सकिन्थ्यो । तर त्यो भएन । प्रधानमन्त्री देउवालाई इटहरीस्थित सेनाको व्यारेकमा आएर छलफल गरे । त्यहीबाट उनी हेलिकोप्टरमार्फत पाँचथर, इलाम, ताप्लेजुङ्ग लगायतका जिल्लाको वस्तुस्थिति बुझ्न निस्किए । आखिरी जो प्रधानमन्त्री भएपनि गर्ने यही हो । विपत्ति साम्य भइसकेपछि कार्यकारी प्रमुखहरु निरीक्षणमा निस्कछन् । यसले एउटा परम्परालाई मात्र धानेको छ । आखिरी राज्यले क्षतिको विवरण संकलन गरेर उजागर मात्र गर्ने हो ।
प्राकृतिक विपत्तिको राज्यको संयन्त्रहरुले केही हदसम्म पूर्वानुमान गर्न सक्छन् । सोही अनुसार आफ्ना नागरिकलाई सचेत रहन आग्रह गर्न सक्छन् । तर यो काम राज्यबाट कहिल्यै भएन । एकपटकको विपत्ति टरेपछि सरकार ढुक्कसँग निदाउँछ तर पुन ः आउन सक्ने विपत्तिका सम्बन्धमा न तयारी गर्छ न तयारी गर्ने जमर्को गर्छ ।
