दमक (ताराबारी)÷आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण शुरु भएको दमक भ्यू टावरको १८ तलामध्ये छैठौ तलाको कंक्रिट ढलान सम्पन्न भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्टको रुपमा रहेको दमक भ्यू टावर २०७६ आषाढ १२ गतेबाट निर्माण शुरु भएको हो । दमक नगरपालिका वडा नं. ३ कृष्ण मन्दिर चौकबाट तीन किमी उत्तर आँपगाछीमा बन्दै गरेको भ्युटावर तीन बर्ष अगाडि पूर्व प्रधानमन्त्री ओलीले नै उद्घाटन गरेका थिए ।

दककमा भ्यु टावर बन्ने भएपछि तत्कालीन प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना समेत भएको थियो । जनताका समस्या एकातिर छन् भ्यु टावरको औचित्य किन भन्दै सामाजिक सञ्जालदेखि लिएर सञ्चार माध्यमहरुमा चर्को आलोचना भएको थियो । भ्यु टावर निर्माणमा चिनिया कम्पनी जेडसिजीआइस्सी र काठमाण्डौ ललितपुर उपमहानगरपालिका वडा नं. १५ मा रहेको ॐसाही राम निर्माण कम्पनी जेभीले ज्वाइन्ट भेन्चरमा काम गरिरहेका छन् ।
कुल १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १.६४ पैसामा शुरु भएको भ्यु टावरको काम २०७९ मा सम्पन्न गर्ने सम्झौता भएको थियो । एक सय मिटर अग्लो दमक भ्यु टावर ७२ मिटर अर्थात १८ तलाको कंक्रिट ढलाई र २८ मिटर स्टिलको भ्यु रहने छ । हाल ६ तलाको कंक्रिट ढलान भइसकेको छ भने काम तीब्र गतिले अगाडि बढेको छ । भ्यु टावरका प्रोजेक्टका म्यानेजर सल्जर विडारी भन्नुहुन्छ काम सन्तोषजनक रुपले अगाडि बढेको छ । कोभिड लगायतका कारण भएको लकडाउनले जुन रÏतारमा विगतमा काम हुनुपर्नै थियो त्यो हुन सकेन । यसका लागि ६ महिनाको म्याद थपिसकेको पनि उहाँले बताउनुभयो ।
सर्वसाधारणले उपलब्ध गराएको पाँच विगाहा क्षेत्रफलमा बन्ने भ्यु टावरमा सबै भन्दा तल पार्किङ स्थल, सोभेनियर पसल, ओपन एयर थिएटर, बगैंचा, फाउन्टेन पार्क, वाल उद्यान रहने छन् । निर्माण सम्पन्न भएपछि सर्वसाधारण १८ तालासम्म पुगेर दृश्यावोकन गर्न सक्ने प्रोजेक्ट म्यानेजर विडारीले बताउनुभयो ।
