नेपालको उत्तरी छिमेकी चीनले पूर्वको ताप्लेजुङदेखि पश्चिमको कालीकोटसम्म दर्जनौ स्थानमा सीमा मिचेको छ । भौगोलिक विकटताका कारण नेपालका सीमा सुरक्षाकर्मीहरुको शून्य उपस्थिति, स्थानीयको वेवास्ता, सरकारका अन्य संयन्त्रहरुको वेवास्ताका कारण नेपालका उत्तरी सीमा स्तम्भहरु अधिकांशमा गायव भएका छन्, मनलाग्दी ढंगले चीनले एकतर्फी सार्ने काम गरेको समय समयमा उजागर हुने तथ्यले स्पष्ट पारेको छ ।
चाहे उत्तरले होस् चाहे दक्षिणले होस् नेपालको भूभाग मिचिँदा नेपालका राजनैतकि दलहरुमा एक पक्षलाई ढाकछोप गर्न तल्लिन देखिनु विडम्बना हो । संखुवासभाको उत्तरी भोट खोलामा चीनले नेपालको भू–भाग मिचेर सडकबनउँदा आफूलाई राष्ट्रवादी भन्नेहरु कोहीले मुख खोलेनन् । हाल हुम्लाको नाम्खामा चीनले सीमा अतिक्रमण गरेको कुरा बाहिर आएसँगै वर्तमान सरकारले अध्ययन गर्न एक समिति बनाउँदा नेपालका कम्युनिस्टहरु त्यसको ढाकछोपमा लाग्नु लज्जाको विषय हो ।
हुम्लाको नाम्खामा चीनले सीमा मिचेको भए यस भन्दा अगाडि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला बनेको समितिले प्रतिवेदन किन सार्वजनिक गरिएन ? ६ बर्ष अगाडि बनेको उक्त समितिले हुम्लाको नाम्खामा चीनले सीमा मिचेको प्रतिवेदन सरकारलाई दिएको थियो । एक बर्ष अगडि हुम्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख र नापीका अधिकारी सम्मिलित अर्को समिति बनाइयो । तर त्यसले दिएको प्रतिवेदन समेत सार्वजनिक गरिएन, गोप्य राखियो । प्रतिवेदन गोप्य राखिनुले आशंका बढाएको छ । चीनले हुम्लामा सीमा नमिचेको भए दुवै प्रतिवेदन सार्वजनिक गर्न के ले रोक्यो ? हाल बनाइएको समितिलाई लिएर एमालेका नेताहरुले चर्को विरोध गर्नु, नेपालस्थित चिनियाँ राजदूतले समितिल काम नथाल्दै आपत्ति जनाउनु आफैमा विरोधाभाष देखिन्छ ।
ताप्लेजुङदेखि कालीकोटको लिमी सम्म चीनसँग नेपालको १ हजार ४ सय १४ किमी सीमा जोडिएको छ । दोलखाको लामा बगरको उत्तरतर्फ लाम्ची गाउँको टिप्पामा समेत विगत ३० बर्षदेखि सीमा विवाद देखिएको छ । स्थानीयहरुले बारम्बार त्यस ठाउँमा सीमा मिचिएको कुरा सम्बन्धित निकायलाई जानकारी गराएका थिए । तर आजसम्म त्यसको समाधान हुन वा गर्न नसक्दा दुई देशबीच बाउड्री प्रोटोकलमा हस्ताक्षर समेत हुन सकेको छैन । यति लामो समयदेखि दोलखाको लाम्ची गाउँको सीमामा बाउन्ड्री प्रोटोकलमा हस्ताक्षर नहुनुले चीनले नेपालको सीमा मिचेको प्रष्ट हुन्छ । दोलखाको टिप्पामा जंगे पिल्लरहरु ५७,५८, ५९ नै चीनले गायव बनाएर ६ हेक्टर नेपालको भूमि मिचेको तथ्य सार्वजनिक भइसकेको छ । यसभन्दा अगाडि हुम्लामा एउटा नेपाली गाउँ नै चीनले आफ्नो भूभागमा गाँभेको थियो । त्यसको चौतर्फी आलोचना हुँदा त्यस गाउँका बासिन्दाले हामी चीनमै गाभिएकोमा राजी छौ भनेकोले गाँभेको भन्ने जवाफ दिएको थियो । गाउँ नै चीनले आफ्नो भू–भागमा गाभ्दा पनि उत्तरी छिमेकी चीनको विरोध गर्न, उल्टै त्यसलाई ढाकछोप गर्न नेपालका कम्युनिस्टहरु लाग्नु लज्जाको विषय हो । नेपालका केही कम्युनिष्ट नेताहरुले त चीनले सीमा मिच्यो भनेर छानविन समिति बनाउनु कुटनीतिक सम्बन्ध विगार्नु हो सम्म भन्न पछि परेका छैनन् । नेपाल र चीन बीच अन्तर्राष्ट्रिय सीमाको अध्यावधिक नभएको तीन दशक भन्दा बढी भइसकेको छ । प्रत्येक दश दश बर्षमा अन्तर्राष्ट्रिय सीमाको अध्यावधिक गर्नुपर्ने हुन्छ । आफ्नो देशको सीमाको सवालमा समेत यहाँका राजनैतिक दलहरुको एक मत हुन नसक्नुले चीनबाट जनता र देशले के अपेक्षा गर्ने ?
