इनरुवा÷धार्मिक तथा मानवीय सेवामा सरिक रहँदै आएका इनरुवा बबियाका चार दर्जन भन्दा बढी मुस्लिम, मौलवी र मौलानाहरु सोमबार नेपाली काँगे्रसमा प्रवेश गरेका छन् ।
कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बबियामा आयोजित एक कार्यक्रममा उनीहरुलाई फूलमालासहित अविरको टीका लगाएर स्वागत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री कार्कीले वर्तमान सरकारको हाल सबैभन्दा ठूलो प्राथमिकता कोरोना भाइरस विरुद्धको खोप रहेको र यसलाई अभियानकै रुपमा सञ्चालन गरी आगामी चैत्र सम्ममा सबैलाई खोप उपलबध गराउने रहेको छ । उहाँले भन्नुभयो नेपाली काँग्रेस सबै जातजाति, धर्म, सम्प्रदायका मानिसहरुको सम्मान, संरक्षण र अधिकारको लागि सदैव प्रयत्नशील रहन्छ ।
उक्त अवसरमा सुनसरी क्षेत्र नं २ का संघीय सांसद सीताराम मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, नेपाली काँग्रेस इनरुवाका सचिव धिरज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
