‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा महिला पनि सहभागी हुने

धरान । ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई सहभागिता गराउने भएको छ ।
मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कार्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराईने निर्णय गरेको हो ।


छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि ईच्छुक महिला खेलाडीहरुलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडामा उपलब्ध खेलाडीहरु तथा धरान महिला फुटबल क्लबका खेलाडीहरुलाई फुटबल उपलब्ध गराई तत्काल अभ्यास सञ्चालन गर्ने÷गराउने निर्णय पनि गरेको छ । छलफल पश्चात मेयर राईले महिला खेलाडीहरुलाई चार थान फुटबल हस्तान्तरण गर्नुभयो । महिला खेलाडीहरुलाई अनुशासन, लगनशिल भएर फुटबल अभ्यास गर्न मेयर राईले आग्रह गर्नुभयो । महिला फुटबल टिमलाई उजागर गर्नका लागि धरान उपमहानगरपालिकाको साथ सहयोग रहने पनि मेयर राईले प्रतिवद्धता व्यक्त गर्नुभयो । छलफलमा धरान महिला फुटबल टिमका प्रशिक्षक भगवती राना मगरले महिला फुटबल खेललाई विकास गर्नका स्थानीय सरकारको मुख्य भूमिका हुनुपर्ने बताउनुभयो । प्रशिक्षक राना मगरले अहिले अधिकांश महिला खेलाडीहरुको परिक्षा सञ्चालन हुन
गइरहेको कारण विगतमा जस्तो धेरै समय फुटबल अभ्यास नहुने जानकारी दिनुभयो । उहाँले समय मिलाएर फुटबल अभ्यास गराउने बताउनुभयो । छलफलमा धरान महिला फुटबल क्लबकी क्याप्टेन सुस्मिता राईले फुटबल खेल्न घरपरिवारले नै प्रोत्साहित गरेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया