शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी समालोचक आनन्ददेव भट्टको निधन

धरान÷शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी प्रसिद्ध समालोचक एवम् चिन्तक प्रा. आनन्ददेव भट्टको सोमबार विहान ८५ बर्षको उमेरमा निधन भएको छ ।
वि.सं. १९९३ साल असोज २५ गते जुम्लाको खलंगामा जन्मनु भएका भट्ट केही समय यता अल्जाइमर (विर्सने रोग) बाट पीडित हुनुहुन्थ्यो । उहाँको पुख्र्यौली घर वैतडीको पल्लाचौडली भएका कारण २०४८ साल पछि केही समय उहाँले वैतडीमा बसेर राजनीति समेत गर्नुभएको थियो ।


स्वर्गीय भट्टले वि.सं. २०२० देखि २०२३ सालसम्म धरानको महेन्द्र वहुमुखी क्याम्पसमा अँग्रेजी विभागको प्रमख भएर अध्यापन गर्नुभएको थियो । त्यसपछि उहाँले चितवन, धनकुटा र त्रिभुवन विश्व विद्यालय अँग्रेजी केन्द्रीय विभागका बसेर अध्यापन गर्नुभयो । उहाँले त्रिभुवन विश्व विद्यालयको पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशक रहेको अवस्थामा वि.सं. २०५० साल चैत्र ७ गते राजीनामा दिनु भएको थियो । वि.सं. २००९ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएका भट्टले नेपाल बुद्धिजीवि परिषदको उपाध्यक्ष, जन साँस्कृतिक संगठनको पदाधिकारी भएर पनि काम गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य भट्टको २०१३ सालमा इन्द्रेणी पत्रिकाले लेख प्रकाशित गरेपछि साहित्य लेखनमा उहाँ निरन्तर अगाडि बढ्नुभयो । वि.सं. २०१५ सालमा उहाँले खण्डकाव्य ९७ साल प्रकाशित गर्नुभएको थियो । साहित्यकार एवम् लेखक प्रा.डा. गोपाल भण्डारी भट्टलाई नेपाली समालोचनाको मुर्धन्य व्यक्तित्व रहेको स्मरण गर्नुहुन्छ । भट्टका कविता, कथा, अनुवाद, समालोचना साइली मैया खण्डकाव्य (२०१८), तिमीलाई देख्दा, युरिगागरिन, अब हिमाल बोल्छ, आमा बोलाउँछिन, जोवनकै थुक्काबाट, ओमर खयामलाई जवाफ, जनताको साहित्य लगायत तीन दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित भएका छन् ।
३५ बर्ष त्रिविवि अन्तर्गत रही अध्यापन गराउनु भएका भट्टले धरानमा बस्दा धरानको साहित्यिक महोलको नेतृत्व गर्नुभएको थियो । प्रा.डा. भण्डारी सम्झनु हुन्छ कृष्ण पाख्रिन, वेणु आचार्य, नरेश शाक्य, गोविन्द विकलहरुको टिमलाई गाइड गर्नुभएको थियो । उहाँ प्राध्यापक भएपनि विद्यार्थीहरुलाई कम्प्युनिस्टमा लाग्न प्रेरित गर्नुहुन्थ्यो । वि.सं. २०२२ सालको विराटनगरको डिआइजी काण्डमा विद्यार्थी उचाल्ने मध्येका उहाँ एक हुनुहुन्थ्यो । यद्यपि उहाँ आफूचाहिँ प्रत्यक्ष सहभागी हुनु भएन । वि.सं. २०४८ सालमा उहाँ धरान आउनुभयो । त्यसबेला उहाँ स्व. विए कृष्ण श्रेष्ठको घरमा आउनु भएको थियो । उहाँले अब मुलुकमा बहुदलीय व्यवस्था आयो अब पूर्वाञ्चलमा रहेका जातजातिहरुको भाषा, साहित्य, संँस्कृतिको खोजी गरी अभिलेखीकरण गर्नुपर्छ भन्ने मत उहाँको थियो । उहाँ केही क्रान्तिकारी पनि हुनुुहुन्थ्यो । वहुदल आएपछि उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानका सबैले अब राजीनामा दिनुपर्छ भेनर थर्काउनु भयो । कतिपयले डरले राजीनामा दिए कतिपयले हामी प्राज्ञिक क्षेत्रका मानिस हौ, जुनसुकै व्यवस्था आएपनि हामीलाई केही फरक पर्दैन भनेर राजीनामा दिएनन् । प्रतिष्ठानका कुलपति नयनराज पाण्डेलाई पनि उहाँले थर्काउनु भयो तर पाण्डेले म राजीनामा दिन्न के गर्नुपर्छ गर भेनर जवाफ दिएको भण्डारी स्मरण गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया