घण्टाघरबाट हेर्दा

शेर गए भीम आए
प्रदेश नं १ मा शेर गए भीम आए । जो आए नि गए नि जन्ताको भागमा गुएँलाको फूल । बडो तामझामका साथ भित्रिएका माने मुखमन्तरी भएका नाममात्रका शेरले साढे तीन बर्षमा वल्लो छेउको सिन्को पल्लो छेउसम्म सारेनन् । मुखमन्तरी बने दौरा शुरुवाल भिरे, करोडौका गाडी चढे, अगुवा पछुवा लगाएर कहिले ट्वाइलेट उदघाटन गर्न पुग्यो, कहिले धान रोवाइको उद्घाटन गर्न गयो, कहिले बाख्राको खोर उद्घाटन, कहिले संगुरको खोर उद्घाटन गर्न मच्चिएर पुग्थे । विचरा उद्घाटन गर्दा गर्दा हैरान भएर थाकेछन् क्यारे । अस्तिका दिन थपक्क शुरुवाल तुरुवाल खोलीवरी भीमलाइ लगाइदेछन् । पर्देशको नामसम्म जुराउन नसक्ने भएसी विचरा के अनुहार देखाउनु र बस्नु ? शेरले दिएको दौरा शुरुवाल भिमले पनि हतार हतायर भिरेछन् । आखिरी तिन्ले केही लछारपाटो लगाउने त हैनन् ।
झण्डै बजाएछन्
उपिन्द्र जादको ग्रहदशा यसपटक साह«ै राम्रो छैन । जहाँ गए नि आफ्नै काजकर्ताले घेरेर मुड्केसास्ती गर्ने योग प¥या छ । राजपामा आयातीत नेता बाउरामले उचालेर छँदाखँदाको पार्टी टुक्र्याएसी उपिन्दरमाथि यतिबेला आफ्नै कार्जेकर्ता खनिन थाल्या हुन् । राजधानीको एउटा कार्जेक्रममा कार्जेकर्ताले जादवको झण्डै च्यापु भत्काएका थिए । अस्तिका दिन फेरि जनकपुरमा त्यसै गरे । मधेश आन्दोलनको बलमा नेता भइ पटक पटक मन्तरी पड्काएका जादवलाई फेरि अर्को विपत्ति आइलाग्न लाग्या छ । बाउराम कामीले आफ्नी हिस्स परेकी हिसिला कमिनीलाई जसरी नि मन्तरी बनाउनुपर्छ भनेर घाँटी निमोठेका निमोठ्यै छन् । नमानम त बाउराम छोडेर हिँड्लान भन्ने त्रास मानम भने कार्र्जेकर्ताले मधेशबाटै उखेलेर फाल्लान भन्ने त्रास । अहिलेलाई कार्जेकर्ता ढोलक बजाउन खोज्नुबाट जोगिन नै बेश ।
विमलेन्द कायस्थको पार्टी कार्जालय


सिद्धिने बेलामा छिचिमिराको प्वाँख पलाउँछ भन्थे हो कि क्या हो ? ती जनकपुरिया विमलेन्द्र कायस्थले अस्तिका दिन आफनो सम्पर्क कार्यालय खोलेछन् । बडो तामझामका साथ खोलेछन् । तिनले पार्टी कार्यालय खोल्दा केही भातमाराहरु पुगेर पिररिरि पिरिरिरि ताली बजाएछन् । ती जनता पनि गएर ताली पिटिदिन्छन् । तिन्को कामै ताली पिट्ने हो । भोलि अर्कोले सम्पर्क कार्यालय खोल्दा तिनैले गएर ताली पिट्छन्, पर्सी अर्कोले खोल्दा पनि दौडिएर पुग्छन् । पार्टी कार्यालय उद्घाटन गरेसी तिन्ले बडो गजक्क भएर ख्वांकक खोकेछन् । म १४ औं महाधिवेशनमा सभापतिमा लड्छु । जुन थालमा खायो त्यही थालमा छिद्रा गर्ने स्वभावका कायस्थले शेरबहादुर देउवालाई टक्कर दिने रे । सुन्दा नि कुरी कुरी लागेर आउँछ । कहाँ राजाराम कहाँ गंगुतेली भन्या यही हो । आफनै निर्वाचन क्षेत्र जनकपुरमा राजिन्दर महतोले उत्तानोचित्त बनाएको तिन्ले भुसुक्कै बिर्सेछन् ।
बेहुली चम्पट
आफ्नो कान्छी श्रीमति भनेर बयान गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई यतिबेला पर्नु पीर प¥या छ । कान्छी श्रमति माने रजिष्ट्रार मोहनचन्द्र रेग्मीले अस्तिका दिन राजीनामा दिएका छन् । अब श्रीमान र दुई जना लहमीले के फुइøयाँ हेरेर बस्या होलान् ? जग्गेबाटै धाइफल तोडिसक्दा पनि श्रीमान् र लमीहरु अझै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोज खान धर्ना ढुक दिएर बस्या छन् । भण्डारे माने स्वास्थ्य मन्त्रीले भगाउन कैयौ जोर बल गर्दा नि तिन्ले बाहिर जाने सुसार ग¥या छैनन् । अब भण्डारेले गलहत्यारएरै बाहिर लघार्लान जस्तो छ । त्यसरी लघारिँदा अलि अलि बँचेखुचेको इज्जत पनि डावाडोल हुन्छ नै । बरु आफै कुले ठोके बेश होला कि ?
गाला फुट्ने गरी…..
झालेमाले भित्रका आदि मानव लालबाबु पण्डितले अस्तिका दिन त्यस्तो के बोलेका होलान् ? दिउँसै लाल्टिन बालेर अनुहार हेर्नुपर्ने आर्यघाटबाट विरोल्दा विरोल्दै उम्किएका जस्ता पण्डितले भन्या ‘गाला फुट्ने गरी दुई झापड हानेपछि माकुने ऐøया गर्दै’ एमालेमा फर्कन्छन् रे । आखिरी पण्डित न परे । कस्लाई के गर्दा हुन्छ के गर्दा हुँदैन भन्ने कुरा तिन्लाई भन्दा अरु कस्लाई थाहा होला ? एउटा सग्लो पार्टी त्यसरी फुटाएर तलदेखि माथिसम्म भ्वाङ पार्ने माकुनेलाई पण्डितले पहिल्यै दुई थप्पड हान्नु पर्दैनथ्यो ? हगीसक्यो अनि दैलो देख्यो भनेझै भ्वाङ्ग पारेर हिडिसकेपछि फलाकेर त भएन
नि । दुई थप्प्पड हान्दा हुन्थ्यो भने अब चार थप्पडले काम गर्ला । लौन पण्डित बा † केही मेलोमेसो त गर्नुप¥यो ।
सर्पनाथ एक्लै
अन्तत : सर्पनाथ एक्लै हुने भएका छन् । सर्पनाथ माने झल्लाझलु । माकुनेको पार्टीमा लाग्दा आफ्ना क्षेत्रका सम्पूर्ण कार्जेकर्ता आफूसँग आउने छन् भनेर ढुक्क देखिएका झलु यतिबेला छाँगाबाट खसेझैँ भएका छन् । राजकानी बढेर यमानको भएपछि सरकारी खर्चमा उपचार गरेर दिल्लीमा बसेका झलुलाई आफ्नै विश्वासपात्रहरुले जुम्राले छोडेझै छोडिदिएका छन् । विभाजनकारीको पछाडि नलाग्ने भनेर ओढे जवाफ दिएपछि झल्लुको हरिविजोग हुने भएको छ । बुढेसकालमा विचरालाई के के आइलाग्या होला ? कार्जेकर्ता बेगर एक्लै लखर लखर माकुनेसँग जाउ भने बँचे खुचेको इज्जत पनि स्वाहाँ हुने, खप्रओसँग जाम भने ज्यान गए मन मान्दैन । झल्लु धर्म संकटमा छैनन विचरा ।
चाकडीवाजहरुको बधाई
देशाँ अर्थोक कुराको विकास नभएपनि चाकडीप्रथाको विकासचाहिँ धुवाँधारसँगै भएको रै’छ । अब हेरम न पर्देश नं. १ मा भीम आचार्जे मुखमन्तरी भए । उनी लगभग एक महिने मुखमन्तरी हुन् । तर उन्लाई बधाइ दिनेहरु ओइरो लागेका छन् । बधाई दिनेहरुको अनुहार देख्दा घण्टाघर पनि अल्मलमा मात्र परेको मात्र छैन चकित भएको छ । एउटा एमालेको मान्छे हँटेर अर्को एमालेको मान्छे मुख मन्तरी बन्यो । अब बधाई दिँदा पनि एमालेले नै दिने हो । तर मुख मन्तरीलाई बधाई दिन काँग्रेसका केही चाटुकारहरु फरियावादको फुर्को जोडेर बधाई दिन तत्छाड मछाड गर्दैैछन् । आफूलाई काँग्रेस भन्ने केही जन्तु मेरो भतिज मुखमन्तरी भएकोमा बधाई भनेर सँगै खिचेका तस्विर पोष्ट्याउछन्, कोही टाढाको नाता केलाएर मेरा ज्वाई, मेरा भिनाजु,
मेरा काका भनेर बधाइ दिन्छन्, अब पार्टीको लक्ष्मण रेखाले काम नगर्ने निश्चित देखियो ।
अन्तेमा
हिजोआज घण्टाघरलाई एउटा चिन्ताले सताउन थाल्या छ । अर्थोक केही साइत हाम्रो देशका नेताहरुको गफ जोताइले चिन्ता लाग्या हो । सबै दलका नेताहरुले हिजोआज देशलाई स्वर्ग बनाउँछु भनेको सुन्दा कही स्वर्गबासी त भइँदैन भन्ने चिन्ता लाग्या हो । यिन्का थुतुनोको केही भर छैन । पहिला पहिला नेताहरुले देशलाई स्वर्ग बनाउँछु भन्दैन् थिए । बरु सिंगापुर, स्विजरल्याण्ड बनाउछु भन्थे । अहिलेका नेताहरु त डाइरेक्ट स्वर्ग बनाउनछु भन्छन् । कथंकदाचित बनाइदिए भने त स्वर्गबासी भइने भैयो । हैट हाम्रा नेताहरुले कति साह«ो असुश बोल्या हँ ?

तपाईको प्रतिक्रिया