धरान÷भ्रष्टाचार, अनियमिततामा निर्लिप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलको प्रतिवेदन सार्वजनिक भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीको स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले सोमबार राजीनामा माग्नु भएको छ ।
मन्त्री श्रेष्ठले छुट्टाछुट्टै समयमा मन्त्रालयमा बोलाई तपाईहरुले प्रतिष्ठान चलाउन सक्नुभएन, प्रतिष्ठानलाई लथालिंग बनाएको, भ्रष्टाचार र अनियमिततामा निर्लिप्त रहेको भन्दै उनीहरुको राजीनामा माग्नु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मन्त्री श्रेष्ठले सोमबार २ बजे उपकुलपति गिरी, २ः३० बजे शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, ३ बजे रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र
३ः ३० बजे अस्पताल प्रमुख प्रा.डा गौरी शंंखर साहलाई मन्त्रालयमा बोलाइएको थियो । स्रोतका अनुसार चारैजना पदाधिकारीले आफूले भ्रष्टाचार नगरेको सफाइ दिन खोजेका थिए । मन्त्रीलाई भेटीसकेपछि चारैजना पदाधिकारी अज्ञात स्थलतिर लागेका र राति ११ बजेसम्म सल्लाह गरेका थिए । राति ११ बजेसम्म उनीहरुको गोप्य बैठक बसेको थियो । बैठकमा भएको संवादलाई उल्लेख गर्दै स्रोतले भन्यो चारैजना राजीनामा नदिने निष्कर्षमा पुगेका छन् । बैठकमा उपकुलपति गिरीले भने यदि मैले राजीनामा दिनुप¥यो भने मेरो कारणले हैन तिमीहरु तीनजनाको कारणले म बद्नाम भएको हुँ ।
ताला तोड्ने रजिष्ट्रारको प्रस्ताव




स्वास्थ्य मन्त्रीलाई भेटेर फर्किएका चारैजना पदाधिकारीहरुले राति ११ बजेसम्म गरेको छलफलमा प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेगमीले आफू कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए ।
स्रोतले दिएको जानकारी अनुसार असार १५ गतेदेखि ५८ दिनसम्म प्रतिष्ठानको सुद्धीकरणको माग राखी आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले ताला लगाइदिएपछि चारैजना पदाधिकारी शैक्षिक शाखामा बसेर काम गर्दै आएका थिए । पछि शैक्षिक शाखामा समेत संघर्ष समितिले ताला लगाइदिएको र साउन २० गते संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचमा ६ बुँदे सहमति भएपछि चारैजना पदाधिकारी काठमाण्डौ पुगेका थिए । उपकुलपति डा. ज्ञानेन्द्र गिरी आठ दिन अगाडि, रजिष्ट्रार पाँच दिन अगाडि, अस्पताल प्रमुख चार दिन अगाडि र रेक्टर दुई दिन अगाडि काठमाण्डौ पुगेका हुन् । राति भएको छलफलमा आफू प्रहरी प्रशासन लगाएर आफ्नो कार्यकक्षमा लागेको ताला तोड्ने रजिष्ट्रारले भनेको स्रोतले जनाएको छ । स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले मन्त्रालयमा बोलाएर राजीनामा माग्नु अगाडि रजिष्ट्रार रेग्मी ससुरली चितवनका काँग्रेस नेता राजेश्वर खनालसँग कहिले नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्याल, कहिले प्रधानमन्त्री शेरबहादुर देउवाकोमा पुगेको नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले बताए । यस भन्दा अगाडि नेपाली काँग्रेस चितवनका जिल्ला सचिव न्यौपानेसँग ससुराली तर्फको नाता भँजाएर आफूलाई जोगाउन रेग्मीले भनसुन गरेका थिए । अत्यन्तै अवसरवादी छेपारे प्रवृत्ति भएका रेग्मीको स्वभाव थाहा पाएपछि सचिव न्यौपानेले गलत मान्छेलाई बचाउको सिफारिस नगर्ने बताएका थिए । कहिले एमालेको सदस्यता लिने, कहिले काँग्रेसको सदस्यता लिने, कहिले उपेन्द्र यादवको समाजवादी पार्टीको सदस्यता लिने त कहिले हृदयेश त्रिपाठीको खास मान्छे हुँ भन्दै हिँड्ने रजिष्ट्रार रेग्मीले ताला तोड्ने कुरा गरेकोमा प्रतिष्ठानको संयुक्त संघर्ष समितिले मनको लड्डु घ्युसँग नखान चेतावनी दिइसकेको छ । संघर्ष समितिसँग गरेको सम्झौता सार्वजनिक भइसकेको अवस्थामा राजीनामा दिएर प्रतिष्ठान सुद्धीकरणमा सहयोग गर्नु नै बुद्धिमानी हुने संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमाले बताउनुभयो ।
भिसीलाई दिएको सात दिने अल्टिमेटल हिजो सिद्धियो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्रोफेसर पदमाथि नै प्रश्नचिन्ह लागेपछि स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले प्रोफेसर पदको पुस्ट्याई गर्न सात दिनको समय सीमा दिनु भएको थियो । साउत २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरी सात दिनभित्रमा मन्त्रालयमा उपस्थित भई सो पदको पुष्टि गर्न दिएको समय सीमा हिजो मंगलबार सिद्धिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार गिरी हिजो मंगलबार विराटनगरस्थित विराट अस्पताल प्रा.लि.ले दिएको प्रोफेसरको उपाधिको कागज बोकेर मन्त्रालय गएका थिए । स्वास्थ्य मन्त्री उमेश श्रेष्ठका सहयोगी (पिए) कपिल तिम्सिनासँग सम्पर्क गर्दा उहाँले भन्नुभयो भिसीको प्रोफेसरको उपाधि नै गैर ढंगले बनाइएको पाइयो । कुनै अस्पतालले प्रोफेसर भनेर दिँदैमा हुँदैन । यता विराट अस्पतला प्रा.लिका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीसँग सम्पर्क राख्दा मेरो मेडिकल कलेजमा काम गर्दा प्रोफेसरको उपाधि मागे मैले लेखेर दिएँ । हामीले दियौँ तर त्यसलाई नेपाल सरकारले मान्यता दिन्छ कि दिँदैन त्यो अर्कै कुरा हो ।
काँग्रेसको नाम भँजाएर कासमा सिफारिस
आर्थिक अनियमितता लगायतका कुरामा विवादमा मुछिएका एमालेका तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा नियुक्त भएका प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई जोगाइदिन्छु भन्दै प्रतिष्ठानको कार्यकारिणी सदस्यमा डा. नारायण भट्टराईले आफ्नो नाम सिफारिस गराएका छन् ।
विश्वप्रकाश शर्मामार्फत काँग्रेसका नेताहरु मिलाएर भिसीमा जोगाइदिने भन्दै भट्टराईले कार्यकारिणी सदस्यमा आफनो नाम सिफरिस गराएका हुन् । प्रतिष्ठनका उपकुलपति डा. गिरीले माइक्रोवायलोजी विभागका प्रमुख डा. नाराययण भट्टराई र प्याथोलोजी विभागका स्मृति कार्कीको नाम सोमबार मन्त्री उमेश श्रेष्ठलाई बुझाएका थिए । स्रोतले भन्यो भिसीमा तपाईलाई जसरी पनि टिकाउँछु भनेपछि भट्टराईको नाम भिसीले सिफारिस गरेका हुन् ।
प्रतिष्ठानका कार्यकारिणी समितिमा ७ जना रहने प्रावधान छ । हाल दुई जनाको पदावधि सिद्धिएका कारण दुई जनाको कार्यकारिणी सदस्य सिफारिस हुन्छ । चार जना पदाधिकारी, दुई जना विभागीय प्रमुख र एक जना स्वास्थ्य मन्त्रालयको प्रतिनिधि कासमा रहने व्यवस्था छ । प्रतिष्ठानका एक कर्मचारीले भने एमालेको भिसीलाई टिकाउन काँग्रेसकै केही मान्छे लागेको देख्दा आश्चर्य लागेको छ ।
