धरान÷पश्चिम नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं. २ राङ्गथाङ्गका ३५ बर्षीय जयसिंह धामी मालघाटस्थित तुइनमा झुण्डिएको बेला भारतीय सीमा सुरक्षा बल एसएसवीले लठ्ठा फुस्काई दिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएको भन्ने समाचारप्रति नेपाल सरकार गृहमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकार गृहमन्त्रालयले साउन १६ गते शनिवार एक विज्ञप्ती प्रकाशित गरी सत्यतथ्य बाहिर नआइ एकपक्षीय ढंगले समाचार सम्पे्रषण भएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ श्रावण १५ गते शुक्रबारका दिन दार्चुला जिल्लाको व्यास गाउँपालिका २ राङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामी सहितका व्यक्तिहरु भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा जयसिंह तुइनबाट तर्दै गर्दा भारतीय एसएसवीका जवानले तुइन काटिदिएकोले निज जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित समाचारप्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।


विज्ञप्तीमा अगाडि भनिएको छ, उक्त घट्नाप्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवम् सुरक्षा निकायहरुलाई सो घट्नाको वास्तविकता पत्ता लगाउन निर्देशन दिइसकेको र घट्नाको वास्तविक सत्यतथ्य जानकारी तथा खोज उद्वारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ न.ं गण र राष्ट्रिय अनुसन्धानको टोली खटिई घट्ना स्थलमा आवश्यक जाँचबुझ कार्य भइरहेको छ । अनुसन्धान तथा छानविनको क्रम जारी रहेकोले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न सबैमा गृह मन्त्रालयले अनुरोध गरेको छ ।
गृह मन्त्रालयले विज्ञप्ती प्रकाशित गर्नु भन्दा अगाडि शनिवारै जिल्ला प्रशासन कार्यालय दार्चुलाले समेत अनुसन्धान पश्चात घट्नाको सत्यतथ्य जानकारी गराउने विज्ञप्तीमार्फत आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) द्वारा हस्तक्षरित विज्ञप्तीमा भनिएको छ साउन १५ गते मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरु भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा जयसिंह धामी तुइनबाट तर्दै गर्दा एसएसवीका जवानले तुइन काटी दिएकोले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ ।
विज्ञप्तीमा भनिएको छ उक्त घट्नाका सम्बन्धमा वास्तविक सत्य, तथ्य जानकारी गराई आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाउन हुन भारतीय समकक्षीलई पत्राचार समेत गरिसकिएको र सो घट्ना अनुसन्धान छानविनको क्रममा नै रहेकोले सत्यतथ्य पुष्टि नभइसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तत्यहीन, भ्रामक सूचना, समाचारप्रकाशित नगरी दिनुहुन अनुरोध छ । सत्यतथ्य बुझ्न घट्ना स्थलमा सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण दर्चुला, जिल्ला प्रहरी कार्यालय दार्चुला, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय दार्चुलाबाट टोली खटिएको र हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभई सकेकोले अनुसन्धान पश्चात घट्नाको सत्यतथ्य जानकारी गराइने विज्ञप्तीमा जनाइएको छ ।
