धरान÷यसपटकको गुरु पूर्णिमा तथा व्यास जयन्तिका अवसरमा धरान वडा न. १४ विजयपुर निवासी विद्वान गुरु यज्ञेश्वर खनाल सम्मानित हुनु भएको छ ।
सनतन धर्मसेवा समिति सुनसरीले धरानको गीता भवनमा आयोजित विशेष समारोहमा गुरु यज्ञेश्वर खनाललाई सम्मानित गरेको थियो ।पूर्वीय दर्शनमा गुरुपूर्णिमा तथा व्यास जयन्तिको अत्यन्तै ठूलो महत्व रहेको छ । सम्मानित हुने गुरु यज्ञेश्वर खनालले जीवनका सम्पूर्ण ऊर्जा शिक्षा क्षेत्रमै समर्पित गर्नुभएको छ । उहाँले धरानको डिपो मावि, शिक्षा निकेतन मावि, शिक्षा सदन माविमा अध्यापन गर्नुभएको
थियो । जीवनको उत्तरार्धमा समेत उहाँले थकाई नमारी हाल विजयपुर माविमा अध्ययापन गराउदै आउनु भएको छ । सनातन धर्मसेवा समिति सुनसरीले सम्मानित गरेपछि भाव विह्ल हुँदै उहाँले पिण्डेश्वर विद्या पीठमा अध्ययन गर्दाको बाल्यकालको स्मरणसँगै विभिन्न विद्यालयमा शिक्षक भएर अध्यापन गराउँदाको रोचक क्षण र अविस्मणीय प्रसंग सुनाउनु भएको थियो । उहाँले भन्नुभयो आफूले शिक्षक भई शिक्षण कर्ममात्र गरेको तर गुरु हुने स्थानमा पुग्न नसकेको समेत बताउनुभयो । एउटा शिक्षकको जीवनभरिको सर्वश्व कमाई भनेको आफूले ज्ञान दिएका विद्यार्थीहरुमात्र रहेको र बेलाबेलामा ती विद्यार्थीलाई भेट्दा उनीहरुले दर्शाउने सम्मान नै सम्पत्ति रहेको खनालले बताउनुभयो ।

सम्माति हुनु भएका गुरु खनाललाई समारोहका प्रमुख अतिथि प्रा. नारायणप्रसाद कट्टेल, समितिका अध्यक्ष प्रा.डा. गोपाल भण्डारीसँगै अन्य अतिथिहरुले फूलमाला, अविर, टोपी लगाई दोशल्ला ओढाई २ हजार१ सय दक्षिणा प्रदान गर्नुभएको थियो । गुरु खनालको जीवनी र गुरु पूर्णिमा तथा व्यास जयन्तिका सम्बन्धमा प्रा.डा चन्द्रमणि नेपालले प्रकाश पार्नुभएको थियो ।
प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा सम्पन्न उक्त सम्मान समारोहमा समितिका सदस्य प्रा.डा महानन्द तिम्सिना, उपसभापति आनन्द आचार्य, प्रा.डा. भरत भट्टराईले समेत गुरु पूर्णिमाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन जगन्नाथ कट्टेलले गर्नुभएको थियो भने भरतमणि भट्टराईले सान्दर्भिक कविता वाचन गर्नुभएको थियो ।
