धरान÷गत बर्ष झै यस बर्ष पनि कोरोनाका कारण धरानस्थित विजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा बोलबम मेला लागेन । गत बर्ष पनि कोरोना संक्रमणकै कारण लाग्न नसकेको मेला यस बर्ष पनि दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढेको भन्दै बोलबम मेला नलाउने धरान उपमहानगरपालिकाले निर्णय गरेपछि धरान १४ विजयमा रहेका सबै मन्दिर बन्द छन् । तर पनि भक्तजनहरुको आस्था भने मरेन । मन्दिर बन्द भएपनि उनीहरुले चतराको सप्तकोशीबाट ल्याएको जल पिण्डेश्वर मन्दिरको गेटमा चढाए ।
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार मन्दिरको मुलगेट नै बन्द गरिएको छ । जसले गर्दा भक्तजनहरुले गेटमा नै पुजा गरेर फर्किएको बताउनुहुन्छ । उहाले धरानबाट मात्र हैन विराटनगरबाट पनि गाडीमा भक्तजनहरु जल चढाउन आएको पाइएकोजानकारी दिनुभयो ।
साउनको सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय बार मानिन्छ । यो दिन महिलाहरु ब्रत बस्ने, शिवालयहरुमा पवित्र जल चढाउने गर्छन् । धरानको पिण्डेश्वर महादेवको मन्दिरमा कोशी नदीको जल हिडेर ल्याउने र चढाउने चलन छ । यहाँ साउनको सोमबार नेपाल, भारत र भुटानबाट पनि भक्तजनहरु आउने गर्छन् ।
