धरान÷नेपाली काँग्रेको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा काँगे्रसका कार्यकर्ता वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला नेतृत्व चयनमा जुटेका छन् भने नेतृत्वका लागि आकांक्षीहरु समेत उमेद्वारी घोषणासँगै आन्तरिक प्रतिष्पर्धामा उत्रिएका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको संसोधित कार्यतालिका बमोजिम सुनसरीको श्रावण २६ गते हुने जिल्ला अधिवेशनमा यतिबेला नेतृत्वका लागि चारजना आकांक्षीहरु देखिएका छ् । दुई कार्यकाल जिल्ला सचिवकोे कुशलतापूर्वक नेतृत्व सम्हाल्नु भएका, अधिवक्ता समेत रहनु भएका केदार भण्डारी, जिल्ला उपसभापति प्रदीप चौधरी, प्रतिनिधिसभाका सांसद सीता राम मेहता र सञ्जय श्रेष्ठले जिल्ला सभापतिका लागि आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ ।

प्रतिष्पर्धी देखिएका चार आकांक्षीलाई लिएर मतदाताहरुबीच चर्चा परिचर्चा हुन थालेको छ । यसै सम्बन्धमा सुनसरी जिल्लाका २८ हजार सक्रिय सदस्यको अन्तिम नामावली बोकेर नेपाली काँग्रेसेसको केन्द्रीय कार्यालय पुग्नु भएका जिल्ला सचिव केदार भण्डारीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो जिल्ला सभापतिमा मैले आफनो उमेद्वारी घोषणा गरिसकेको छु । सचिवको जिम्मेवारीमा रहेर दुई कार्यकालमा मैले गरेका कामको साथीहरुले मुल्यांकन गर्नुभएको छ । सबैको साथ र सहयोग पाउनेमा म आशावादी छु । तपाईको उमेदवारी किन त भन्ने जिज्ञासामा भण्डारीले भन्नुभयो नेपाली काँग्रेस सुनसरीको संगठनलाई अझ सशक्त बनाएर लैजाने, प्रजातन्त्र सुदृढिकरणका लागि अभियान चलाउने, जिल्लाको शान्ति सुरक्षा र अमनचयनकालागि सम्बन्धित पक्षसँग सहकार्य गर्ने लगायतका कार्यहरु प्राथमिकताका साथ गर्ने उहाँले बताउनुभयो ।
जिल्ला सभापतिका लागि क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु गरी २८०५ जनाले मतदान गर्नेछन् । यहाँ स्मरणीय कुरा के छ भने क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नविकिरणको अन्तिम सूचि तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गते रहेको छ । क्रियाशील सदस्यताको सूचिमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई कन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र, गाउँ नगर वडा अधिवेशन श्रावण १२ गते, गाउँ नगर अधिवेशन श्रावण १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन श्रावण २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते, प्रदेश अधिवेशन भाद्र १ र २ गते र केन्द्रीय अधिवेशन भाद्र १६, १७, १८ र १९ गते काठमाण्डौमा हुने भएको छ ।
