धनकुटा÷नेपाल तरुण दलले धनकुटाको पाख्रीबासमा तरुण डिफेन्स फोर्स गठन गरेको छ ।
लोकतन्त्र र अधिनायकवादी, भ्रष्टचारीका विरुद्धमा लड्ने भन्दै विमल गुरुङको संयोकत्वमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स गठन गरेको हो ।
नव गठित तरुण डिफेन्स फोर्सलाई शुभकामना दिँदै नेपाल तरुण दल धनकुटाका अध्यक्ष तथा नेपाली काँग्रेस धनकुटाका जिल्ला कार्यसमितिका कोषाध्यक्ष दिनेश राईले लोकतन्त्र र लोकतन्त्रमाथि धावा बोल्ने जुनसुकै तत्वलाई परास्त गर्न फोर्सको गठन गरिएको बताउनुभयो । उहाँले त्यस्ता तत्वसँग लड्न तरुण फोर्सलाई सदैव तयारी अवस्थामा बस्न पनि आग्रह गर्नुभयो ।
यसैगरी नेपाली काँग्रेस धनकुटा जिल्ला कार्यसतिका सचिव विजय सन्तोषी राईले तरुण भनेको त्यसै पनि परिवर्तनका सम्वाहक हुन् । तरुण शक्तिलाई कुनैपनि शक्तिले रोक्न नसक्ने भन्दै तरुण फोर्स कसैमाथि जाइ नलाग्ने तर कोही आइलागेमा त्यसलाई धुलो चटाउने ताकत राख्ने बताउनुभयो ।
नेपाल तरुणदल पाख्रीबास नगर समितिका अध्यक्ष रवि राईको अध्यक्षतामा भएको भेलामा नेपाल तरुण दल जिल्ला उपाध्यक्ष युवराज पराजुली, नेपाल महिला सघकी जिल्ला उपाध्यक्ष अम्बिका धमला, मदन घिमिरे लगायत भातृ संगठनका पदाधिकारीहरुको सहभाभागिता रहेको थियो । नव गठित तरुण फोर्सले तरुणको ड्रेसमा पाख्रीबास नगरपालिकाको परिक्रमा समेत गरेको थियो । धनकुटाको पाख्रीबास नगर समितिले गठन गरेको तरुण फोर्स जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा समेत गठन गरिने तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।
