नेपालको पहिचान बोकेको खुकुरी उद्योगहरु धमाधम बन्द हुदै

धरान÷ नेपालीको पहिचान मानिएको खुकुरी विश्वमा लोकप्रिय छ । खुकुरी भनेको नेपालीको पहिचान र परिचय हो । गोरखालीको वीरको चीनको र नेपाली शान वनेको खुकुरी विश्वमा चर्चित र लोकप्रिय छ । तर यस्ता खुकुरी उत्पादन गर्ने उद्योगहरु भने पछिल्लो समय धारासायी वन्दै गईरहेका छन् ।
खुकुरी उत्पादनका लागि कच्चा पदार्थको अभाव एकातिर छ भने अर्कोतर्फ कोरोना कहरका कारण बर्र्षनी हुने गरेको लकडाउनले खुकुरी उद्योग झन धरासायी बन्दै गएको छ ।
पछिल्लो समयमा खुकुरी उद्योगहरु व्यवसायिक कठिनाइका कारण पलायन हुने अवस्थामा पुगेका छन् । केही समय अगाडि धरानमा ३० वटा खुकुरी उद्योगहरु सञ्चालनमा रहेका थिए । तर कच्चा पदार्थको अभाव, उत्पादन गरेको खुकुरीले बजार नपाउदा अहिले मुस्किलले १० वटा उद्योग धरानमा सञ्चालनमा रहेका छन् । ९५ प्रतिशत उत्पादन विदेश निर्यात हुने त्यसमा पनि बढी चीन निर्यात हुने खुकुरी ०७२ सालका भूकम्प र नाकाबन्दीले थला पारेपछि थप अहिले भएको लकडाउनले झन समस्या निम्त्याएको हो ।
धरान खुकुरी उद्योगका सञ्चालक गोविन्द विश्वकर्माले खुकुरी उत्पादनका कमी आउनुको मुख्य कारण कुखुरी बनाउदा प्रयोग गरिने फलाम, कोइला अभाव हुनुका साथै कामदार समेत पाउन छाडेपछि उद्योग धरापमा पर्दै आएका बताउनुभयो ।
उहाले विगतमा दैनिक १५ सयदेखि २ हजारसम्म खुकुरी उत्पादन गर्ने भएपनि अहिले २ सय ३ सय सम्म मात्र उत्पादन गर्ने गरेको उहा बताउनुहुन्छ । युवा पुस्ताले यो पेशालाई छोडेर अन्य पेशा अंगाल्न थालेपछि यो व्यवसाय अझ ठूलो संकटमा परेको उहा बताउनुहुन्छ ।
यस्तै न्यू गोर्खाली खुकुरी उद्योगका सञ्चालक दिपक दर्नालको समेत भनाई उसतै छ । उहाले ९५ प्रतिशत खुकुरीको निर्यात चीन हुने गरेपनि भुकम्प, नाकाबन्दीदेखि नै उद्योगबाट उत्पादित खुकुरी बाहिर जान नसकेका बताउनुहुन्छ । उहाले लकडाउनपछि मुख्य निर्यात हुने चीनले नेपाली खुकुरी लान छाडेपछि झन समस्यामा परेको उहा बताउनुहुन्छ ।
२०६० सालमा स्थापना भएको यो उद्योगमा विगतमा ६० देखि ७० यस उद्योगमा कामदार रहेकोमा अहिले ३५ जना रहेको बताउनुभयो । नेपाल खुकुरी उद्योग संघ धरानका अध्यक्षसमेत रहनु भएका दर्नालले यही अवस्था आइरहे धरानका सम्पूर्ण खुकुरी उद्योग बन्द हुने अवस्थामा पुग्ने बताउनुभयो ।
सरकारले खुकुरी उद्योगको संरक्षणका लागि कुनै कदम नचालेका कारण यस्तो अवस्था आएको व्यवसायीहरु बताउछन् ।
विगतमा धरानबाट मात्र मासिक १ करोड बराबरको सिरुपाते, ड्राईगन, अफगाने खुकुरी देखि चार ईन्चे खुकुरी विदेश निर्यात हुने गर्दथे । अहिले त्यो ठप्प प्राय छ । हस्तकलाको नमूनाको रुपमा खुकुरीलाई सरकारले र विश्वका अन्य उपभोक्ताले माने पनि निर्यातमा हुने समस्या, कालीगढ तथा कच्चा पदार्थको अभापका कारण पलायन हुने अवस्थामा पुगेको उनीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया