सरकारले गरेको जोर विजोर प्रणालीले घरको चुल्हो बाल्न कठिन हुन थालेको यातायात मजदुरहरुले गुनासो पोखेका छन् ।
धरान १६का रामबहादुर गुरुङले जोरविजोर प्रणालीले मजदुरलाई ज्यादै कठिन भएको बताउनुभयो । उहाले विगतमा समेत बल्लतल्ला ऋण तिरेर घर खर्च जोहो गर्ने गरेको बताउदै जोरविजोर प्रणालीले अझ समस्या निम्त्याएको बताउनुभयो ।
विगतमा भएको लकडाउनले समेत धरासायी बनेका यातायात मजदुर यस बर्ष कोरोनाकै कारण यस्तो अवस्था आउला भन्ने सोचेका पनि थिएनन् । धरान १५ का सिटी सवारी चलाउदै आएका मिलन राईले विगतमा कष्टकर जीवन विताए पनि यो बर्ष त्यस्तो दिन आउला भन्ने कल्पनै नगरेको बताउनुभयो । उहाले भोलि यो भन्दा अझ भयावह अवस्था आएर लकडाउन गरेको अवस्थामा यस पटक अझ गाह«ो पर्ने बताउनुहुन्छ ।
गत बर्ष राहत थापेर जीविकोपार्जन गरे पनि बैंकको ऋणमा मिनाहा नभएको उहा बताउनुहुन्छ् । सरकारले एउटा निर्देशन दिन्छ तर सम्बन्धित पक्षले त्यसको पालना गर्दैन । यस्तो अवस्थामा आफ्ना नागरिकलाई सहुलियत दिनुपर्ने हैन र ? उहा प्रश्न गर्नुहुन्छ
धरानमा अहिले ४ सयदेखि ५ सय यस्ता साना सवारी साधन चल्ने गरेका छन् ।
दैनिक उनीहरुले १ हजारदेखि २ हजारसम्म आम्दानी गर्ने गर्छन, तर कोरोनाको दोस्रो चरण भित्रिएसंगै अहिले आधा पनि कमाई नहुने उनीहरु बताउछन् । भौतिक दूरी कायम गरेर सवारी साधन चलाउदा पेसिन्जर पनि कम बोक्नुपर्दा यातायात मजदुरको कमाई मरेर गएको उनीहरुको भनाई छ ।
