धरान÷खानेपानीको चरम अभाव झेलिरहेका धरान उपमहानगरपालिकाका विभिन्न वडामा हरनाम दाश वृजलाल गर्ग स्मृति प्रतिष्ठानले दैनिक रुपमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण गरिरहेको छ ।
धरानमा यतिबेला खानेपानीको चरम अभाव छ, खानेपानी संस्थानलाइ असफल आयोजना खानेपानी व्यवस्थापन बोर्डमा फागुन १७ गते जबरजस्ती विलय गरेपछि धरान काकाकुल बनेको हो । धरानमा नागरिकहरु खानेपानीको सहज आपूर्तिका लागि आन्दोलन गरिरहेका छन् तर बोर्डमा बस्नेहरु सत्ता र शक्तिको आडमा नागरिकका आवाज नसुन्ने, दबाउने, धम्क्याउने कार्यमै लिप्त छन् ।
खानेपानी अभावको विकराल अवस्थामा प्रतिष्ठानले निःशुल्क पानी वितरण गर्नु प्रशंसायोग्य कार्य भएको धरान १६ का लक्ष्मण बस्नेत बताउनुहुन्छ । प्रतिष्ठानका महासचिव एवम् सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल भन्नुहुन्छ धरानका अधिकांश वडामा स्थानीयका घरमा कैयौ दिनदेखि खानेपानी नभएको सुनेपछि स्व. पिता वृजलाल अग्रवालको नाममा स्थापित प्रतिष्ठानबाट पानी वितरण गर्ने निर्णय भए अनुरुप पानी वितरण गर्न थालिएको हो । ९ हजार लिटरकोे ट्यांकरबाट सुकुम्बासी बस्ती, विद्यालय, विपन्न परिवारको बसोबास भएको स्थानमा पानी निःशुल्क वितरण गर्दे आएका छौं । हालसम्म धरानका विभिन्न वडामा ३० ट्यांकर पानी वितरण गरिसकेको अग्रवालले बताउनुभयो । यसै सम्बन्धमा प्रतिष्ठाका अध्यक्ष दिनेश अग्रवालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो प्रतिष्ठानको सबै काम पवन अग्रवालले नै हेर्ने गरेको बताउनुभयो । पानी धनी र गरिब सबैलाई चाहिन्छ । निःशुल्क रुपमा वितरण गरिएको ट्यांकरको पानी थाप्न सबै आउने गरेको पनि महासचिव अग्रवालको कथन छ ।
