धरान÷ धरान–६ पानबारीबासीको खानेपानीको मुख्य स्रोत सेहरा खोलामा मानिसहरुले नुहाउने, लुगाधुने र वनभोज स्थलको रुपमा प्रयोग हुँदा खानेपानी दुषित बनेको भन्दै स्थानीयबासीले मुहान क्षेत्रमा सफाई अभियान सुरु गरेका छन् । स्थानीय सयपत्री बोइज यूनियन क्लवको अगुवाईमा स्थानीयबासीले खानेपानीको मुहान क्षेत्रमा प्रत्येक शनिबार सफाई अभियान सुरु गरेका हुन् ।
धरान–६ स्थित सेहेरा खोला पानबारी बासीको खानेपानीको मुख्य स्रोत हो । खानेपानीको मुहान क्षेत्रमा मानिसहरुले जथाभावी रुपमा फोहोर गरिदिँदा पानबारी बासी दुषित पानी पिउन बाध्य छन् । त्यसैले, अहिले स्थानीय सयपत्री बोइज यूनियनक्लवको अगुवाईमा स्थानीयबासी खानेपानीको मुहानक्षेत्र सफाई अभियानमा जुटेका छन् । पानबारीबाट करिब ६ किलोमिटरको दुरीमा पर्ने मामफाङमा खानेपानीको मुहान छ । खानेपानीको मुहान क्षेत्रमा मानिहरु बनभोज खान जाने, घुम्न जाने जथाभावी रुपमा फोहोर गर्ने गरेको स्थानीयबासी बताउँछन् । हिउद लागेसंगै पानीको मुहान सुक्दा पानीको चरम अभाव हुने गरेको खानेपानी उपभोक्ता समितिले जनाएको छ । खानेपानीको मुहान क्षेत्रमा जथाभावि रुपमा फोहोर मैला गरिदिँदा खानेपानी दुषित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रमेश बस्नेतले बताउनुभयो ।
खानेपानीको मुहान क्षेत्रमा जथाभावि फोहोर हुन नदिन मुहान क्षेत्र बाहिर छुटै नुहउने स्थान निर्माण गर्ने वडा ६ नं वडा अध्यक्ष भुवनसिंह बस्नेत बताउनुहुन्छ । पानबारी खानेपानी उपभोक्ता समितिको तथ्यांङक अनुसार पानबारी क्षेत्रमा करिब २ हजार १ सय घरधुरीमा धारा जडान गरिएको छ । वर्षेनी खानेपानीको अभाव झेल्न बाध्य स्थानीयहरुले दुषित खानेपानी पिउन बाध्य छन् । यसतर्फ सम्बन्धित पक्षको ध्यानपुग्न सकेको छैन ।
