अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा

धरान÷धरानमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
धरान उपमहानरपालिका वडा नं. १३ र साहित्यकला तथा सँस्कृति प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको महोत्सवले धरानको साहित्य, कला, सँस्कृति, भेषभुष, भाषासँगै यस क्षेत्रका पर्यटन क्षेत्रहरुको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउने वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो । धरान उपमहानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा तीन बर्ष अगाडि निर्वाचित भएपछि कला, साहित्य, सँस्कृति र पर्यटनलाई थप महत्व दिने हेतुले काफ्लेकै पहलमा साहित्य कला तथा सँस्कृति प्रतिष्ठान विधिवत दर्ता गरिएको थियो ।
साहित्य कला तथा संस्कृति प्रतिष्ठानका सह संयोजक गोपाल श्रेष्ठले दिनुभएको जानकारी अनुसार महोत्सवमा भारतका ४० जना कवि, कवियित्री, लेखक, साहित्यकारहरुको सहभागिता रहने छ । उहाँहरु २७ गते नै नेपालको पूर्वी नाका काँकडभिट्टा आइपुग्ने र आयोजकले नाकामै पुगेर उहाँहरुको स्वागत गरी मोरङ बेलबारीको वेतना सिमसार क्षेत्रमा ल्याई खानासँगै सँस्कृतिक कार्यक्रम गरी बेलुका धरान ल्याइने भएको छ । यता नेपालका विभिन्न स्थानबाट ६० जना कवि तथा साहित्यकारसँगै
धरानका समेत २५ जना कविहरुको सहभागिता रहने भएको छ ।
महोत्सव सम्पन्न गर्नका लागि धरानका बरिष्ठ साहित्यकार एवम् कवि बम देवानको संयोजकत्वमा १७ सदयीय एक मूल समिति गठन गरिएको र अन्य ११ वटा विभिन्न उपसमितिहरु गठन गरिएको सह–संयोजक श्रेष्ठले बताउनुभयो ।
फागन २८ र २९ गते दुईदिनसम्म आयोजना हुने महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतिले विधिवत रुपमा उद्घाटन गर्नुपूर्व कार्यक्रम आयोजना स्थलबाट धरानको भानुचौकसम्म विभिन्न जातजातिको भेषभुषा सहितको झाँकी निस्कने, भारतबाट आएका साहित्यकार तथा कविले दुईवटा कार्यपत्र प्रस्तुत गर्ने, धरानलाई केन्द्रमा राखेर एक कार्यपत्र प्रस्तुत गर्ने त्यसमाथि अन्तरक्रिया गर्ने, आगन्तुकहरुका कविता प्रस्तुत हुने र गजल वाचनसँगै साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । त्यसभन्दा अगाडि धरान तथा आसपासका धार्मिक पर्यटकीय स्थलहरुको आगन्तुकहलाई अवलोकन गराउने र दोस्रो दिन पर्यटकीय स्थल कोशी टप्पु आरक्षण केन्द्रको स्थलगत अवलोकन गराउने र प्रदेशका सामाजिक विकास मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा समापन गरिने भएको छ । यति ठूलो कार्यक्रमका लागि स्रोतको व्यवस्थापन कसरी गरिरहनु भएको छ त भन्ने सवालमा सह–संयोजक गोपाल श्रेष्ठले धरान उपमहानगरपालिका वडा नं. १३ बाट १ लाख ५० हजार प्रारम्भमै प्राप्त भइसकेको, वडाध्यक्ष नेत्र काफ्लेले व्यक्तिगत रुपमा पनि सहयोग गरेको अन्य सामाजिक संघ संस्था, साहित्य अनुरागी, प्रदेश सरकार, सुनसरीका सबै नगरपालिकासँग पनि अुनरोध गरिएको र सोत जुट्ने काम भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया