अन्तर्राष्ट्रिय स्तरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘ मुंगेरीलाल ’ प्रवृत्तिमा फस्यो खाता शून्य, शिक्षक कर्मचारी तलब विहीन : उपकुलपति कुर्सी जोगाउन र रजिष्ट्रार उपकुलपति हत्याउन तल्लिन

धरान/हिन्दी भाषामा एउटा उखान छ ‘मुगेरीलालके हसिन सपने ।’ भारतीय दुरदर्शन च्यानलमा ८० को दशकमा प्रशारण भएको यो चर्चित सिरियल आजको दिनसम्म पनि दिउँसै सपना देखेर दुनियाँ राज गर्नेसँग जोडेर सम्झना गर्ने गरिन्छ । ससुराली र श्रीमतिको दबाबमा बाँचेका मुंगेरीलालको सामाजिक र आर्थिक अवस्था निम्न मध्यम वर्गीय भए पनि उनले देख्ने सपनाहरु दुनियाँलाई राज गर्ने प्रकारका हुन्छन् । उसले दिउँसै देख्ने सपनाहरुमा ऊ मग्न रहन्छ, रोमाञ्चित हुन्छ र आत्मरतिमा रमाउँछ । कहानीको अन्तमा उसको श्रीमतिले उसलाई टोल्हाएको देखेर झस्काउँँछे र झसँग भएर आफ्नो वर्तमानमा फर्कन्छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आजको दिनमा यस्तै मुंगेरीलाल उपकुलपति र रजिष्ट्रारको दाउपेजमा फँसेर लगभग बन्द हुने अवस्थामा पुगेको छ ।
रजिष्ट्रारको तारे होटलको रमझम
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली अनुसार आर्थिक प्रशासनिक काम कार्वाहीको दायित्व रजिष्ट्रारमा पर्न जान्छ ।
प्रतिष्ठानको आर्थिक प्रशासनलाई सुचारु गर्ने, सुधार गर्नै तथा नेपाल सरकार अन्य निकायबाट आर्थिक स्रोत जुटाउने मुख्य जिम्मेवारी रजिष्ट्रारको हो । नियमित तलब भुक्तानी गर्ने, छनौट समितिको सदस्य सचिव र कार्यकारिणी समितिको सदस्य सचिवको हैसियतले शिक्षक कर्मचारीकोे सरुवा बढुवालाई वैज्ञानिक तवरले व्यवस्थित गर्ने जिम्मेवारी पनि रजिष्ट्रारकै हो ।
आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा एक कार्यकारिणी समितिका सदस्यले दिएको जानकारी अनुसार रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले नियुक्ति लिएर आएको दिनदेखि उपरोक्त कुनै पनि विषयमा काम गर्नु त कता हो कता सामान्य चासो लिएको पनि प्रतिष्ठानका शिक्षक कर्मचारीले महसुस गरेका छैनन् । उहाँ त आफू नियुक्त भएको तेस्रो दिनदेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध फाइल बोकेर अख्तियार कार्यालय धाउन थाल्नु भयो । यो पद त उहाँले उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बेबकुफ बनाएर उनैलाई हटाएर आफू उपकुलपति बन्ने सिँढीको रुपमा पो लिनु भएको रहेछ, यो त मुंगेरीलाल प्रवृत्ति भयो । यही चक्करमा प्रतिष्ठानको आर्थिक प्रशासन इतिहासमै सबैभन्दा बढी बिग्रियो ती कास सदस्यले भने । उनी भन्छन्, उहाँ काठमाण्डौ जानुहुन्छ, फर्किदा तारे होटलको महँगो बिल बुझाउनुहुन्छ तर बजेट निकासा गराएर आएको आजसम्म थाहा छैन । उहाँ त काठमाण्डौ जाँदा पनि प्राय ः मन्त्रालय निस्कनु हुन्न बरु केही मदिरा व्यवसायी, विष्णु रिमाल आदिलाई भेटेर आएको सुनिन्छ, लेखा शाखामा लामो समय काम गरेका एक अधिकृतले भने ।
परिवारका सदस्यलाई प्रतिष्ठानको ल्यापटप
प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले प्रतिष्ठानका शिक्षक कर्मचारीलाई नियमित तलब दिन नसकेपनि आफनो र परिवारको सुविधामा भने कन्च्युस्याई गरेका छैनन् । आफ्नो नियुक्ति भएको दोस्रो दिन नै उनले आफ्नो निवासमा विशेष सुरक्षा दस्ता राखेर प्रतिष्ठानलाई बार्षिक १० लाख सुरक्षा व्ययभार थपेका छन् । उनको निवास मर्मत संहार तथा रंगरोगनमा प्रतिष्ठानको ५५ लाख लगानी भएको रजिष्ट्रार निकट स्रोतले जनाएको छ । प्रतिष्ठानकै इतिहासमा कुनै रजिष्ट्रारले यस्तो रवाफ देखाएको याद छैन उनले भने । हुँदा हुँदा आफ्नी श्रीमति र छोराको ल्यापटप र मोवाइल समेत प्रतिष्ठानबाटै किनाएका छन् । एकातिर शिक्षक कर्मचारीको नियमित तलब आउँदैन अर्कातिर रजिष्ट्रारको यस्तो चाल छ, यो त अति भयो सेवा निवृत्त हुन लागेका एक प्राध्यापकले भने ।
इन्टरनेट व्यापारीसँग सेटिङ
प्रतिष्ठानले राखेको सुविसु कम्पनीको इन्टरनेटको सेवा कमजोर भयो भनेर शिक्षक कर्मचारीले सुधारको निम्ति आवाज उठाइरहेको मौकामा चौका हानेर रजिष्ट्रार रेग्मीले एक इन्टरनेट कम्पनी र स्थानीय टेलिभिजन वितरक संस्थासँग २५ लाख कमिशनमा सुविसु कम्पनी हँटाएर प्रतिष्ठानमा स्थापित गरिदिने गोप्य डिल गरी फाइल समेत अगाडि बढाइसकेका छन् । कमिशनको कुरा आयो भने हाम्रा रजिष्ट्रार रातारात जाग्छन्, हैन भने तीन महिनासम्म फाइल हेदैनन् र आफ्नो अफिसमा आउने सबैलाई उपकुलपति डा. गिरीले प्रतिष्ठान डुबाए भनेर कहानी सुनाएर बस्छन्, कम्प्युटर शाखाका एक कर्मचारीले भने ।
के भन्छन् धरानबासीहरु
नागरिक अभियन्ता तथा धरानका वौद्धिक व्यक्तित्व प्रा.डा. राजेन्द्र शर्मा प्रतिष्ठानभित्र मौलाएको भ्रष्टाचारले प्रतिष्ठान नै विघटनको संघारमा पुगेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ चरम अनियमितता, भ्रष्टाचार र विकृतिका विरुद्धमा हामीले नागरिक दबाब समूहले एक चरणको अभियान थालेका थियौं । बीचमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाको पिताको निधन भएपछि फेरि त्यसलाई निरन्ता दिएका छैनौ अब हाम्रो अभयान पुनः शुरु हुन्छ ।
उहाँले भन्नुभयो प्रतिष्ठान एकदमै समस्याग्रस्त छ । समस्याबाट बाहिर निकाल्न ठूलै मेहनत गर्नुपर्छ । पहिलादेखि नै बिग्रेको प्रणाली जस्तै भ्रष्टाचारमा फँसेको प्रणालीहरु, नियुक्ति प्रणाली, पेमेन्ट प्रणाली सबै चिजमा डरलाग्दो अनियमितता छ । उहाले भन्नुभयो वर्तमान सरकारका स्वास्थ्य मन्त्री हुँदा भाभुनभक्त ढाकालले उपकुलपति र रजिष्ट्रारको जुन नियुक्ति गर्नुभयो उनीहरु अनियमित प्रक्रियाबाटै आए । तत्काल सुधारको सम्भावना केही देखिदैन । प्रा.डा. शर्माले भन्नुभयो यही अवस्था कायम रहेमा प्रतिष्ठान नराम्रोसँग धाराशायी हुनेछ । सरकारले बेलैमा सोच्नुपर्छ, यो सरकारको दायित्व हो । हामी धरानबासीले त आँखा देखाइदिने मात्र हो । उहाँले भन्नुभयो पदाधिकारीले भ्रष्टचार गरे, अनियमितता गरे, प्रतिष्ठानलाई दुर्दशाको अवस्थामा पु¥याए भनेर हुलदंगा, फौजदारी गर्न सक्दैनौं । सरकार ध्यान दिँदैन, प्रहरीले तिनै भ्रष्टको संरक्षण गर्ने गरेको छ उहाँले भन्नुभयो बीपीलाई योजनाबद्ध ढंगले धराशायी बनाउने षड्यन्त्र थियो आज त्यसैको परिणाम यहाँ देखिदैछ ।
उता सुनसरी उद्योग वाणिज्य संघ धरानका पूर्व अध्यक्ष एवम् व्यवसायी पवन अग्रवाल भन्नुहुन्छ प्रतिष्ठान त बर्बाद भइसकेको छ । प्रतिष्ठानमा भएका वर्तमान पदाधिकारी सबै जानुपर्छ । नयाँ सोच भएका, प्रतिष्ठानको हितमा काम गर्ने पदाधिकारी आएमात्र प्रतिष्ठानले त्राण पाउँछ । खाली दलाली गर्दै बसेर हुँदैन । अति गन्हाएर बसेका छन् । केही कर्मचारी र पदाधिकारी भ्रष्टाचारमै व्यस्त छन् ।
रजिष्ट्रार फाल्न उपकुलपति प्रधानमन्त्री निवासमा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोहनचन्द्र रेग्मीलाई रजिष्ट्रारमा नियुक्ति गरेपछि धराशायी बन्न पुगेको प्रतिष्ठानबाट रेग्मीलाई निकाल्नुपर्ने र बजेटको माग गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरी सोमबार साँझ ७ः३५ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री निवास वालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रतिष्ठानका उपकुलपति डा. गिरी आउनु भएको र प्रधानमन्त्रीसँग भेट भएको हो । भेटमा उहाँहरुबीच के के कुरा भयो त्यो थाहा नभएको स्रोतले जनाएको छ । बजेट माग गर्ने सम्बन्धमा केही दिन अगाडि उपकुलपति र रजिष्ट्रार काठमाण्डौ गएका थिए । सोमबार मन्त्रालयमा गएर बजेटका सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएपनि सो समय अगावै रजिष्ट्रार धरान हान्निएको एक पदाधिकारीले बताए । उनले भने रजिष्ट्रार स्वास्थ्य मन्त्रालय नै गएनन । तलब, भत्ता, उपकरण, खरिदमा बजेट अभाव भएपछि स्वास्थ्य मन्त्रालयबाट बजेट माग गर्न उपकुलपति सहित रजिष्ट्रार काठमाण्डौ पुगेको थियो । ती पदाधिकारीले भने यतिबेला रजिष्ट्रार डा. रेग्मी आफूलाई काँग्रेसी कार्यकर्ता हुँ भनेर काँग्रेसका नेताहरुकोमा जाने गरेका छन् । प्रदेश नं. १ र केन्द्रमा नेपाली काँग्रेस सत्तामा आउने वा सत्ताको अहम् भूमिकामा रहने निश्चित भएपछि रेग्मी काँग्रेसको पुरानो सदस्यता बोकेर हिड्ने गरेको उनले सुनाए ।

तपाईको प्रतिक्रिया