जथाभावि खोला उत्खनन् गरेको भन्दै गाउले आक्रोसित

धरान÷जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिकाका स्थानीयहरु यतिवेला आक्रोशित बनेका छन् । गाउँमा सञ्चालित क्रसर उद्योगले मनपरी रुपमा खोला उत्खनन् गर्दा गाउँ जोखिममा परेको भन्दै क्रसर उद्योग हटाउन माग राख्दै कडा आन्दोलनमा उत्रिएका छन् ।
खदम खोलामा आएको बाढीका कारण वर्षौदेखी त्रासमा जीवन बिताउन बाध्य मोरङको केराबारी गाउँपालिका–८ आमजुङीबासीका लागि वर्षातको समय रात विताउन गाह्रो हुने गरेको छ । २०४५ साल यता पटक–पटक खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि त्रसित बनेका उनीहरु यतिबेला झनै पीडामा छन् । गाउँमा सञ्चालित सिबम एग्रिगेट इण्डष्ट्रिज र महादेव मिनिरल इष्डष्ट्रिजले जथाभावी मापदण्ड विपरीत खोला उत्खनन् गर्न थालेपछि आमजुङी गाउँको करिब ५ सय घरपरिवार जोखिमा परेको छ । गाउँ नै जोखिममा परेपछि स्थानीयहरुले उद्योगमा तोडफोड समेत गरेका छन् । स्थानीयले गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भिम पौडेलविरुद्ध चर्को नाराबाजी गदै प्रशासनको आडमा मापदण्ड विपरीत खोला उत्खनन् गरेको आरोप समेत लगाए ।
स्थानीयका अनुसार क्रसर उद्योगले मापदण्ड विपरीत २५–३० फिट गहिराईसम्म उत्खनन् गरेकाले जोखिम बढेको भन्दै खोला पस्न नदिन चाडो ड्याम निर्माण गरेर उत्खनन् गरेको स्थानमा पुरिदिन माग गरेका छन् । स्थानीय जीतबहादुर बस्नेतले क्रसर बन्द नगरे आन्दोलन गर्ने चेतावनी दिए ।
गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शान्ति लिम्बु भुजेलले खोला उत्खनन्को विषयमा व्यवसायीहरुलाई पटक–पटक सचेत गराउँदा समेत उत्खनन् कार्य नरोकिएको जवाफ दिनुभयो ।
सरकारले खोला उत्खनन्को विषयमा कानुन बनाएपनि कानुनको खिल्ली उडाउँदै क्रसर उद्योगहरुले मापदण्ड विपरीत खोला उत्खनन् गर्दा पनि सम्बन्धीत निकाय मौन बसेको स्थानीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया