धरान÷ धरान १३ स्थित कृषि बजारमा चिस्यान केन्द्र स्थापना भएपछि अहिले त्यहाका व्यापारीहरुलाई सहज भएको छ ।
लामो समयपछि कोल्ड रुम (चिस्यान घर) सञ्चालनमा ल्याएसंगै कृषक तथा व्यापारीहरुलाई सहज भएको हो ।
प्रदेश १ सरकारसँगको साझेदारीमा निर्माण भएको कोल्डरुम (चिस्यान घर) सञ्चालनमा आएसँगै लामो समयसम्म बिक्री नभई रहेको कृषक तथा व्यापारीको कृषिजन्य समाग्री विग्रिने चिन्ताबाट मुक्त भएका हुन् ।
यो कोल्डरुम प्रदेश १ सरकारको ५० लाख सहयोग र कृषि बजारको २५ लाख लागत साझेदारीमा निर्माण भएको हो । कोल्ड रुम निर्माण भएसँगै बिक्री नभई लामो समयदेखि राखिएका फलफूल तथा तरकारी त्यसै Ïयाक्नु नपर्ने भएको कृषि बजारका व्यापारी शैलेन्द्र साह बताउछन् । कृषि बजारमा फलफूलको होलसेल पसल खोल्नु भएका साहले कोल्डसेन्टर व्यापारीका लागि फलदायी भएको बताए । उनले भने –‘कोल्ड सेन्टर नहुदा व्यापारीहरुले ल्याएको फलफूल लामो समयसम्म विक्री नहुदा कुहेर फाल्नुपर्ने अवस्था थियो, अब त्यो चिन्ताबाट व्यापारीहरु मुक्त भएका छन ।’
यस्तै भनाई कृषि बजारकै अर्का व्यापारी दानबहादुर प्रधानको छ । उनी पनि भारत तथा पहाडी क्षेत्रबाट होलसेलमा फूलफूल ल्याएर विक्री गर्ने गर्छन् । उनलाई पनि कोल्डसेन्टर सञ्चालन पछिे फलफूल विग्रने चिन्ता नभएको बताए । उनले भने ‘फलफूल चाडो विग्रिन्छ, फलफूल विग्रदा विगतमा धेरै घाटा व्यहोर्नुप¥यो, अहिले कोल्डसेन्टर बनेपछि कुनै चिन्ता छैन ।’
नेपालमा सरकार मातहतको सरकारीस्तरका कालीमाटीसहित ११ कृषि बजार रहेका छन् । सरकारी स्तरमा बनेका कृषि बजारमध्ये धरानमा पहिलो पटक कोल्डसेन्टर निर्माण भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउछन् । उनले भने कोल्ड रुममा १० टन फलफूल राख्न सक्ने क्षमिता छ । कोल्ड रुममा ६ देखि ८ महिनासम्म फलफूल राख्न सकिन्छ ।’ उनले निर्माण भएको कोल्डरुमको क्षमता ७५ टनको रहेको बताए ।
प्रदेश सरकार र स्थानीय सरकारको सहयोगकै कारण धरानको कृषि उपज बजार सातौ पटकसम्म उत्कृष्ट बजार भएको छ । कृषक र व्यापारीकै सुविधाका लागि सञ्चालन भएको कृषि बजारमा अझै धेरै सेवा सुविधा सम्पन्न बनाउदै लगिने धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनले भने ‘कृषि बजारमा व्यापारी तथा कृषकका लागि अझ धेरै सुविधा थप गर्न बाकी छ, त्यसका लागि हामी पहल गर्छौै ।’
कोल्ड रुम निर्माण भएपछि कृषक तथा व्यापारीहरु लाभान्वित हुने निश्चित छ । समयमै विक्री नहुदा पनि लामो समयसम्म कोल्डरुममा राखेर फलफूल तथा अन्य कृषिजन्य सामाग्री विक्री वितरण गर्न सकिने भएकोले पनि कृषक तथा व्यापारीहरु खुशी देखिएका छन् ।
