सुख्खा मौसमसंगै धरानमा खानेपानीको हाहाकार

सुख्खायाम सुरु भएसंगै सुनसरीको धरानमा खानेपानीको चरम अभाव हुने गरेको छ । बर्षेनी मुख्य समस्याको रुपमा रहेको खानेपानी समस्याको दिर्घकालिन समाधानमा सम्बन्धित पक्ष गम्भिर नबन्दा खानेपानी समस्या झनै चुलिएर गएको छ । सुख्खायाममा खानेपानीको चरम अभाव झेल्दै आएका धरानबासीकालागि खानेपानी आपुर्तिमा नेपाल खानेपानी संस्थानको धरान शाखा र एकिकृत शहरी विकास आयोजना अन्तर्गतको धरान खानेपानी बोर्ड गम्भिर नबन्दा नगरबासी मारमा परेका छन् । करिब डेढ वर्षयता संस्थान र बोर्डबीचको आन्तरिक द्वन्द्वले नगरबासीले खानेपानीको चरम अभाव झेल्दै आएका हुन् । पानीकै अभावमा पानी परिपूर्तिका लागि उनीहरु यत्रतत्र भौतारिने गरेका छन् ।
धरान १६ का सुवास शंकर पानीका लागि टेम्पो लिएर शनिवार धरान १३ र २० को संगम स्थल बीपी पार्कमा पुगेका थिए । उनको घरको धारामा पानी नआएको तीन भएपछि टेम्पो लिएरै पानी थाप्न उनी त्यहा पुगेका हुन् । यस्तै समस्या धरान १५ का हर्क लिम्बुको पनि थियो । उनी पनि पानी नआएपछि धरान ९ मा रहेको विश्वकर्मा मन्दिर छेउको धारामा सिटी सफारी लिएर पुगेका थिए । यी दुई त प्रतिनिधि पात्रमात्र हुन्, अहिले धरानका सबै ठाउँका स्थानीयहरु खानेपानीका लागि भौतारिन बाध्य छन् ।
यो समस्या बर्षेनी हुने गरेको छ । खानेपानी समस्या समाधानका लागि धरानमा सहरी विकास आयोजना अन्तर्गतको एडिवीको सहयोगमा सम्पन्न भएको धरान खानेपानी बोर्ड र नेपाल खानेपानी सस्थान रहेका छन्, उनीहरुले अहिले सर्वसाधारणको समस्या भन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोप लगाएर पन्छिने काम गरिरहेका छन् ।
संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठले आइतबार एक विज्ञप्ती जारी गर्दै बोर्डले जानकारी नदिई इन्टरकनेक्सन गरेकोले खानेपानी व्यवस्थित हुन नसक्ने आशयको विज्ञप्ती प्रकाशित गरेपछि संस्थान र बोर्डबीचको द्धन्द्ध झन चर्केर गएको छ । संस्थानले खानेपानीको काउन्टर राखेर महसुल लिइरहेकोले खानेपानीको आपूर्ति गर्ने दायित्व पनि संस्थान कै रहेको धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल बताउनुहुन्छ ।
संस्थानलाई बोर्डमा गाभ्ने अभिप्रायले शुरु भएको आयोजनाको काम सम्पन्न भइसक्दा पनि पूरा हुन सकेको छैन । यसका लागि विज्ञ टोली गठन गरेर प्रतिवेदन बुझाउँदा समेत निकास निस्किेको छैन । संस्थानलाई बोर्डमार्फत सञ्चालन गर्नको लागि संस्थानको सम्पत्ति,दायित्व, कर्मचारी समायोजन चुनौती छ । विगत २२ बर्षदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थानमार्फत पानी वितरण गदै आएको भएपनि संरचनाहरु जिर्ण भएका कारणले संस्थानले मर्मत सम्भार गरेर बोर्ड र प्रतिष्ठानबीच सम्झौता गर्न बाँकी रहेको बोर्डले जनाएको छ । आन्तरिक द्वन्द्वमा फसेको संस्थान र बोडबीच चाडै समाधान खोजेर नगरबासीले भोग्दै आएको वर्षौदेखीको पानीको अभावलाई सधैको लागि अन्त्य गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया