महिलाहरु व्यवसायिक बाख्रा पालनतर्फ आकर्षित

गोविन्द बस्नेत
धरान÷केही समय यता महिलाहरु आत्मनिर्भर बन्न व्यवसयिक बन्न थालेका छन् ।
विशेष गरी पुरुषबाट चलेको घर व्यवहारबाट परिवारको आवश्यकता परिपूर्ति हुने गरे पनि धेरै महिलाहरु घरेलु हिंसाबाट पीडित बन्ने गरेका छन् । यस्ता कुराहरुलाई चिर्दै व्यवसायिक पशुपालनमार्फत आत्मनिर्भर बन्ने उद्देश्यले लेटाङ नगरपालिकाका महिलाहरु समूह नै बनाएर बाख्रापालन गरिरहेका छन् ।
शुक्रबार लेटाङ नगरपालिकाकी दिलमाया तामाङ धरान १३ स्थित कृषि उपज बजारमा भएको खसी बोका विक्री कसरी सञ्चालन गर्ने भन्ने विषयमा बुझ्न आउनुभयो । उहासंगै ७ जनाको टिम व्यवस्थापक लक्ष्मण भट्टाईसंग भेटेर बुझ्न आएका थिए । तामाङसहित त्यहाका महिलाहरुलाई समूह बनाएर आत्मनिर्भर बनाउन २०५२ सालदेखि २५÷३० जनाको समूह बनाएर दैनिक ५ देखि १० रुपैया संकलन गरेर बाख्रा पालन फर्म नै सञ्चालन गरेका छन । पछि त्यसलाई व्यवसायिक बनाउदै सहकारीको रुपमा अगाडि बढे । बाख्रा पालनसंगै हाटबजार समेत सञ्चालनमा ल्याएका उनीहरुले पालिएका बाख्राको बजारको अवस्था कस्तो हुनुपर्छ भन्ने बुझ्नलाई त्यहा आएको तामाङले बताउनुभयो । संस्थाकी अध्यक्ष समेत रहनु भएकी तामाङले महिलाहरुमात्र सामेल रहेको यस सहकारीमा अहिले सदस्यको संख्या १ सय २६ पुगेको बताउनुभयो । उहाँले अहिले समूहमा रहेका महिलाहरुले प्रति व्यक्ति बार्षिक १ देखि २ लाख सम्म कमाइ गर्ने ेबताउनुभयो ।
उनीहरुको परिश्रमलाई देखेर अहिले नेपाल सरकार पशुपंक्षी निर्देशनालयबाट ५० लाख सहयोग प्राप्त भएको उहा बताउनुहुन्छ । व्यवसायिकतासंगै हाड बजार समेत सञ्चालन गर्दै आएका उनीहरुका लागि लेटाङ नगरपालिकाले १० लाख रुपैया सहयोग गरेको तामाङ बताउनुहुन्छ । निम्न आय भएका महिलाहरुको जीवनस्तर उकास्न सकिन्छ भन्ने उद्देश्यले सञ्चालन गरेको बाख्रा पालन सहकारी सञ्चालनमा ल्याएको सहकारीकी सचिव मृदुला गौतम बताउनुहुन्छ । उहाँले बाखा पालनसंगै व्यवसायिक बन्न बजारको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले लेटाङमा पशु बजार सञ्चालनमा ल्याएका छौं, कसरी सञ्चालन गर्ने भन्ने विषयमा हामी कृषि बजार आएका हौ ।’
उनीहरुलाई कृषि उपज बजारले समेत सहयोग गर्ने जनाएको छ । बेलाबेलामा लेटाङ पुगेर व्यवसायिकताको विषयमा प्रशिक्षण प्रदान गर्दै आएको कृषि बजारले महिलाहरु आफै उत्सुक भएर कृषि बजारसम्म आउनु सकारात्मक पक्ष भएको जनाएको छ । कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले ‘व्यवसायिक महिलाहरुले बाख्रा पालनका विषयमा भएको समस्या, आवश्यक पूर्वाधारक विषयमा जानकारी गरायौ, उनीहरु अहिले निर्धक्कसंग व्यवसायमा लाग्न उत्साहित छन् ।’
महिलाहरुलाई व्यवसायिक बनाउदै आत्मनिर्भर बन्ने सोचका साथ उनीहरुले गरेको कार्यप्रति सर्वत्र प्रशंसाको विषय बनेको छ । लेटाङका महिलाहरुजस्तै अन्य क्षेत्रका महिलाहरुले समेत यस्ता काम गर्न सके महिलाहरुले पुरुषको मुख ताक्नुनपर्ने र आफै आत्मनिर्भर् बन्न सहयोग पुग्नेमा दुई मत छैन । यसमा सरकारी सहयोग प्रर्याप्त पुग्न सके महिलाको काममा अझ सहयोग पुग्ने थियो ।

तपाईको प्रतिक्रिया