भारत–नेपालका कवि तथा साहित्यकार सहभागीतामा धरानमा साहित्यिक महोत्सव हुँदै

धरान÷भारत–नेपालका कवि तथा साहित्यकारहरुको वृहत सहभागितामा धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय साहित्यिक पर्यटक महोत्सव हुने भएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १३ र साहित्यकला तथा संस्कृति प्रतिष्ठानको व्यानरमा यही फागुन २८ र २९गते महोत्सव हुने भएको हो । धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेको सक्रियतामा दर्ता भएको साहित्य कला तथा सँस्कृति प्र्रतिष्ठानले यसभन्दा अगाडि पनि विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।
साहित्यिक कला तथा सँस्कृति प्रतिष्ठानका अध्यक्ष तथा महोत्सव मूल तयारी समितिका सह संयोजक गोपाल श्रेष्ठले दिनु भएको जानकारी अुनसार महोत्सवमा भारतको सिक्किम, दार्जीलिङ, खर्साङ, गुहाटी, मणिपुर, कालिम्पोङ, बनासरका ४० जना कवि तथा साहित्यकाहरुको सहभागिता रहने र नेपालको काठमाण्डौ लगायतका स्थानबाट ५० भन्दा बढी कवि तथा साहित्यकारको अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवमा सहभागिता रहने निश्चित भइसकेको छ ।
धरान उपमहानगरपालिकाका भूतपूर्व प्रधानपञ्च कवि बम देवानको संयोजकत्वमा हाल १७ सदस्यीय मूल आयोजक समितिको गठन भएको छ । जसमा भाषा शास्त्री प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रा.डा. गोपालप्रसाद भण्डारी, प्रा.डा. भीम खतिवडा लगायत रहनु भएको छ । यस प्रकारको कार्यक्रम धरान प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने थियो तर उनीहरुले कुनै पहल नगरेपछि धरान उपमहानगरपालिका वडा नं. १३ र साहित्य कला तथा साँस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको वडाअध्यक्ष नेत्रप्रसाद काफ्लले बताउनभयो । महोत्सवले धरानको पर्यटन, कला, सँस्कृतिका सम्बन्धमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक मूल समितिका सह संयोजक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो महोत्सवलाई सफल बनाउन १३ वटा विभिन्न उपसमितिहरु समेत बनाइएका छन् । जसमा आगन्तुक पाहुनाहरुका लागि आवासको व्यवस्था गर्ने, यातायातको व्यवस्था गर्ने, मञ्च व्यवस्थापन समिति, आर्थिक संकलन समिति, पुरस्कार व्यवस्थापन समिति लगायत रहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतिबाट विधिवत शुभारम्भ हुने महोत्सवमा पहिलो दिन दुवै देशका कवि तथा साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गर्नुुहनेछ । यसमा महत्वपूर्ण पक्ष के रहेको छ भने नेपालका कवि तथा साहित्यकाहरुले प्रस्तुत गर्ने कार्यपत्र धरानको साहित्यसँग जोडिएको हुनेछ । विभिन्न जात जातिका भेष, भुषा तथा झाकीहरुले नगर परिक्रमा गर्ने, कार्यक्रम स्थल वडा नं. १३ मा जातजातिको भेषभुषा सहितको नृत्य प्रदर्शन, खानाका परिकारहरुका स्टल रहने, नेपाल र भारतका साहित्य सम्बन्धमा वृहत विमर्श हुने, पोखराबाट आएको साँस्कृतिक समूहले दोहोरी गीत साँझको आयोजना गर्ने लगायतका कार्यक्रम महोत्सवका मुख्य आकर्षकण हुनेछन् ।
आयोजककातर्फ आगन्तुक पाहुनाहरुलाई धरानका महत्वपूर्ण धार्मिक तथा पर्यटक स्थलहरुको अवलोकन समेत गराइने सहसंयोजक श्रेष्ठले बताउनुभयो । स्रोतको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ त भन्ने सवालमा श्रेष्ठले भन्नुभयो वडा नं. १३ ले १ लाख ५० हजार उपलब्ध गराइसकेको र अन्य विभिन्न संघ संस्था, धरानका अन्य वडाहरु, धरान उपमहानगरपालिका, साहित्यिक अनुरागीहरुबाट स्रोत जुट्ने क्रम जारी रहेको समेत उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया