विजयपुरका मन्दिरमा चहलपहल बढ्न थाल्यो

धरान÷ धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरु बढ्न थालेका छन् ।
कोरोनाको जोखिमलाई मध्यनजर गरी नौ महिना भन्दा लामो समयदेखि गरिएको लकडाउन विजयपुर क्षेत्रमा रहेका मठमन्दिर भने मंसिर २० गतेबाट खुलेका हुन् । मन्दिर खुलेंसंगै अहिले विजयपुरको चहलपहल समेत बढेको छ ।
नेपालीको मौलिक पर्वहरुमा समेत मन्दिर बन्द हुदा पूजाआजा गर्न नपाएका सर्वसाधारणका लागि मन्दिर खुल्ला गरेसंगै धरान लगायत धरान आसपास र छिमेकी मुलुक भारतबा समेत विजयपुरमा रहेका मठमन्दिरमा पूजाआजा गर्न आउन थालेका छन् ।
नेपालीहरुको महान चाड दशैमा बढी चहलपहल हुने दन्तकाली मन्दिर त्यसबेला लकडाउनका बेला मन्दिर बन्द रहेका कारण मन्दिरले गर्ने नित्यपूजाबाहेक हुन सकेको थिएन । तर मन्दिर खुल्ला भएसंगै भक्तजनहरुको आगमन बढेको मन्दिरका पूजारी विश्वराज खनालले बताउनुभयो । उहाले मन्दिर खुलेपनि कोरोनाको जोखिम अझै नहटिसकेकाले मन्दिरभित्र पूजाआजा गर्न एक एक जना प्रवेश गर्न दिने र बलिदिन ल्याइएका बोकालाई समेत व्यवस्थित बनाइएको बताउनुभयो ।
यता मन्दिरमा आउने भक्तजनहरु उत्साहितसंगै कोरोनाको जोखिम नहटेका कारण अझै पनि सावधानी अपनाउनुपर्ने बताउछन् । धरान १ का प्रज्वल रेग्मीले कोरोनाको जोखिम अझै भएकाले भीडभाड हुने स्थानमा आफै सचेत हुनुपर्ने बताउनुभयो ।
कोरोनाको जोखिम हुदा हुदै पनि अहिले सबै क्षेत्र खुल्ला भइसकेको छ । लकडाउनका बेला बन्द भएका धरानका अत्यन्तै भीडभाड हुने पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर र बूढासुब्बा मन्दिरमा दैनिक ३ सय भन्दा बढी सर्वसाधारण धरान लगायत धरान बाहिरबाट आउने गरेका छन् । दोस्रो चरणको कोराना संक्रमणको त्रास फैलिएको बेला सर्वसाधारण आफै सचेत हुन बाहेक अर्को विकल्प छैन ।

तपाईको प्रतिक्रिया