‘सार्वजनिक स्थल र सवारी साधनमा महिलालाई सम्मानपूर्ण व्यवहार गरौं’

धरान ÷धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सार्वजनिक यातायातमा महिला यात्रुप्रति सम्मान जनक ढङ्गले व्यवहार गर्नुपर्ने बताउनु भएको छ ।
प्रमुख अतिथि समेत रहेका राईले ईलाका प्रहरी कार्यालय धरानले आईतबार धरानको लोकतान्त्रिक चौतारी भानुचोकमा आयोजना गरेको सेफ्टी पीन क्याम्पेन कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले चालक तथा यातायात मजदुरहरूलाई सचेतनामूलक पर्चा वितरण गर्दै महिलाप्रति सम्मानपूर्ण व्यवहार गर्न अनुरोध गर्नुभयो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी एवं सेप्टी पिन क्याम्पेन धरानका अध्यक्ष ज्ञानेन्द्र बहादुर बस्नेतले सार्वजनिक स्थलमा बाटो छेकेर पछ्याउने, छोएर, अनावश्यक धकेल्ने, हमला गरेर, हर्न बजाएर, शङ्कास्पद हेराई, किसिङ न्वाईज गर्ने वा अश्लील हाउभाउ यौन क्रियाकलाप जनाउने भाषा प्रयोग गरेमा वा महिलालाइ असहज हुने व्यवहार भएमा महिलामाथि दुव्र्यवहार भएको मानिने बताउनुभयो ।
महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेयङले धरानको बसपार्क छेउछाउ तथा निम्न बस्ती भएको स्थानहरुमा महिला तथा बालबालिकाहरुमाथि यौन दुव्र्यवहार हुने गरेको बताउनुभयो । महिला तथा बालबालिकामाथि हुने अनैतिक गतिविधिको अन्त्य गर्नका लागि गाउँगाउँमा, टोलटोलमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया