चुलाचौकामा सीमित महिलाहरुले लोकतन्त्र पश्चात आफ्नो भूमिकालाई दब्रिलो बनाउदै लगेका छन् । राणाकालीन समय, पञ्चायती व्यवस्था भन्दा ०४६ सालको जनआन्दोलनपछि केही जागरुक बन्दै गएका महिलाहरु ०६२÷०६३ पछि प्राप्त लोकतन्त्र पश्चात झन जागरुक बन्दै गएका हुन् ।
यसको प्रत्यक्ष उदाहरण धरानको महिला सञ्जाललाई लिन सकिन्छ । ०६६ सालमा धरानमा सक्रिय महिलारुको संगठनलाई समावेश गरेर छाता संगठनको रुपमा आफूलाई स्थापित गर्दै आएको सञ्जाल अहिले महिला अधिकारका कुरा, हिंसामा परेका महिलालाई न्यायका लड्नेदेखि लिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनेमात्र हैन सामाजिक, आर्थिक, शैक्षिक गतिवधिमा समेत संलग्न हुदै आएको छ ।
सञ्जालको पाँच वटा नेतृत्व परिवर्तन भइसक्दा आदबासी, दलित, आर्थिक अवस्था कमजोर भएका महिला, हिंसामा परेका महिलाहरुका लागि धेरै काम गरेको महिला सञ्जालकी एक अभियन्ता कोपिला भट्टराईले बताउनुभयो । महिलालाई न्यायको पहुच पु¥याउन, आत्मनिर्भर बनाउन, हिंसामा परेका महिलाहरुको पक्षमा आवाज बुलन्द बनाउने उद्देश्य बोकेर सञ्जाल गठन भएकोले यसका लागि निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।
सञ्जालकी निवर्तमान अध्यक्ष सविता राईले महिला सञ्जालले महिलाको वृत्तिविकास, हिंसारहित समाजको परिकल्पनासंंगै राजनीतिक क्षेत्रमा समेत ठूलो उपलब्धी हासिल गरेको बताउनुभयो ।

लोकतन्त्र पश्चात महिलाहरुले राज्यका हरेक निकायमा पहुँच पुगेपनि अझै पनि त्यो प्रर्याप्त नभएको निवर्तमान अध्यक्ष राइको भनाई थियो ।
यता अर्की अभियन्ता यसोदा कायस्थले परिवार, समाज तथा राज्य सञ्चालनमा पुरुष महिलाको भूमिका उत्तिकै रहेको बताउनुभयो । परिवारबाटै शिक्षाको ज्योति छर्दै, महिलाहरुको वृत्ति विकासमा ध्यान दिन सके हिंसारहित परिवार, समाज र राष्टको परिकल्पना गर्न सकिने बताउनुभयो ।
गत असोज १६ गते सम्पन्न पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले कोरोना संक्रमणकाललाई ध्यानमा दिए पदस्थापना कार्यक्रम गर्न सकेको थिएन। त्यसबेला अध्यक्षमा चेतना श्रेङ निर्वाचित भएपछि कोरानाका कारण समयमै पदस्थापना हुन सकेको थिएन । धरानमा रहेका ३७ वटा महिलावादी संघ संस्थाको छाता संगठनको रुपमा रहेको सञ्जालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय हुने छात्राहरुलाई प्रमाणपत्र सहित पुरस्कृत गरेका थिए भने प्रा.डा.राजेन्द्र शर्मा, सञ्जालकी संस्थापक गङ्गा बराल, महिला अधिकारकर्मी मिना पुलामी मगर र पूर्वअध्यक्ष शिला बज्राचार्यलाई सम्मान पनि गरिएको थियो । पदस्थापनापश्चात उनीहरुले महिला सञ्जाललाई अझ सशक्त बनाएर लाने प्रतिबद्धता समेत जनाएका थिए ।
