लिपि सिक्न लिम्बु जाति भन्दा अन्य जाति इच्छुक

स्वर्णीमहाङ फोम्बो
धरान÷किरात शिरिजङ्गा लिपि सिक्न लिम्बू समुदाय भन्दा अन्य जाति बढी इच्छुक देखिएको धरान १५ का जनप्रतिनिधिहरुले बताएका छन् ।
धरान उपमहानगरपालिका १५ नं. वडाको सहयोग तथा लिम्बु भाषा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा धरान १५ स्थित बद्रीनाथ आधारभूत विधालयमा संचालित पाँच दिने किरात शिरिजङ्गा लिपि लेखन प्रशिक्षणको समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । समापन कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य रामकाजी राईले (नेपाल बहुभाषिक, बहुसाँस्कृतिक राष्ट्र भएकोले सबै जातिको भाषा लिपि सँस्कार सँस्कृति सिक्नुले हामीलाई सामाजिक रुपमा काम गर्न सहज हुने बताउनुभयो ।
त्यस्तै वडा सदस्यद्वय जानुका कार्की र नरमाया बिकले कुनै पनि जातिको भाषा लिपि देशको सम्पत्ति भएकोले सरकारी तवरबाट नै स्वेच्छिक नभइ शैक्षिक रुपमा अगाडी बढाउनु पर्ने र सम्बन्धित संस्थाहरुले सरकारसमक्ष पहल कदमी गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै कियाचु सुनसरी अध्यक्ष मोहनकुमार हुक्पाचोङ्बाङ्ले सबै जातिको भाषा लिपि देशको सम्पत्ति हो तर यसको विकासको निमित्त सरकारसँग आर्थिक सहयोग माग गर्नुपर्ने बिडम्बना रहेको बताउनुभयो भने स्कुलका प्र.अ. देबराज लिम्बुले स्कुलमा अध्ययनरत विद्यार्थी लिम्बू समुदायको भन्दा गैर लिम्बुहरु बढी भएको बताउदै किरात शिरिजङ्गा लिपि र लिम्बू भाषा सिक्न इच्छुक रहेको बताउनु भयो ।
माघ २१ गतेदेखि २५ गतेसम्म संचालित सो तालिममा कक्षा ३ देखि ८ सम्मका ६७ जनाले नाम लेखाए पनि ५४ जना विद्यार्थीहरुले नियमित रुपमा किरात शिरिजङ्गा लिपि र केही लिम्बू भाषा सिकेका थिए । सहभागी विद्यार्थीहरुमा ५ जना लिम्बू, ९ जना राई, ९ जना क्षेत्री बाहुन, २३ जना दलित, ४ जना तामाङ, २ जना मगर, १ जना गुरुङ र १ जना चौधरी रहेका थिए ।
सबै प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी तथा अतिथिहरुले प्रमाणपत्र र नोट्बुक वितरण गरेका थिए ।
पाँच दिने सो कार्यक्रमको उद्घाटन वडाध्यक्ष नरेश कुमार इवारमले माघ २१ गते लिपि लेखेर शुभारम्भ गर्नु भएको थियो । कार्यक्रम लिम्बू भाषा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष एवम् प्रशिक्षक स्वर्णिमहाङ फोम्बो लिम्बुको सभापतित्व र सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया