धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नी विभाग प्रमुख, बरिष्ठ हाडजोर्नी विशेषज्ञ एवम् कार्यकारिणी समितिका सदस्य प्रा.डा. पशुपति चौधरीका एक साथ चार पुस्तक विमोचन भएको छ ।
शुक्रबार प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित विशेष पुस्तक विमोचन समारोहमा प्रदेश नं. १ का सभामुख प्रदीप कुमार भण्डारी र मुर्धन्य भाषाशास्त्री प्रा.डा. टंक प्रसाद न्यौपानेले संयुक्त रुपमा ती पुस्तकहरुको विमोचन गर्नुभएको थियो । प्रा.डा. चौधरीद्वारा लिखित एवम् प्रकाशित पुस्तकहरुमा फिजियो थेरापी एक परिचय, ढाँडको दुखाइको समस्या समाधान, हाडजोर्नी समस्या र समाधान र थारु मान्छेहरुको उत्पतिको इतिहास रहेका छन् ।


पुस्तक प्रकाशन हुनुभन्दा अगावैदेखि प्रा.डा. चौधरीले हाडजोर्नी सम्बन्धी आलेखहरु विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित गर्दै आउनु भएको थियो । तिनै आलेखहलाई एकीकृत गरेर उहाँले पुस्तकका रुपमा प्रकाशन गर्नुभएको हो । चिकित्सकीय पेशामा आवद्ध भएपनि उहाँले थारु मान्छेहरुको उत्पत्तिको इतिहाँस गहिरो अनुसन्धान, यथेष्ट प्रमाणमा आधारित भएर लेख्नु भएको पाइन्छ । पुस्तक विमोचन समारोहमा बोल्दै बरिष्ठ भाषाशास्त्री प्रा.डा. टंक न्यौपानेले भन्नुभयो प्रा.डा.चौधरीले प्रकाशनमा ल्याउनु भएका पुस्तकहरु समसामयिक र वहुउपयोगी रहेको छ । मानवीय सेवामा समर्पित एउटा चिकित्सकले एक साथ चार चार–वटा पुस्तक प्रकाशनमा ल्याउनु सामान्य कुरा होइन । यसैगरी प्रदेश नं. १ का सभामुख प्रदीप कुमार भण्डारीले पुस्तक प्रकाशन गर्नु नै महत्वपूर्ण भएको बताउनुभयो ।
पुस्तकको विमोजन समारोहमा प्रदेश नं. १ की सांसद नवोदिता चौधरी, उमिता विश्वकर्मा, सावित्री जोशी, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, पूूर्व सासंंद घनश्याम खतिवडा, प्रतिष्ठानका चिकित्सक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


