धरान/ केन्द्रकृत शासन व्यवस्था विकेन्द्रीकरण गर्दै लैजानुपर्छ र राज्यले दिने सेवा सुविधामा प्रत्येक नागरिकको पहुाच हुनुपर्छ भन्ने मान्यता विपरीत स्वयम् राजनैतिक दलहरु अस्पष्ट हुनु तथा
सरकारले आफूले गरेको निर्णय समयमै कार्यान्वयन गर्न उदाशीनता देखाउनुले यतिबेला सुनसरी सदरमुकाम इनरुवा र धरान आन्दोलित भएको छ ।
प्रसंग हो मालपोत र नापी कार्यालयको सेवा विस्तार । सरकारले असोज ३० गते मुलुकका २१ स्थानमा नापी र मालपोतको सेवा विस्तारको निर्णय गर्यो । निर्णयमात्र गर्ने तथा कार्यान्वयनमा सरकारले उदासीनाता देखाउदा मंसिरदेखि नै शुरु गर्नुपर्ने सेवाबाट धरानेहरु बञ्चित हुन पुगेपछि हाल आन्दोलन गर्न बाध्य भएका छन् । सरकारको कार्यान्वयन पक्ष फितलो भैदिदा आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । अर्थात सरकारकै कारण नागरिक आन्दोलत भइरहेका छन् ।
यसैबीच धरानेहरु समेत संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका
छन् ।
मालपोत र नापी कार्यालयको शाखा धरानमा ल्याउन बनेको दबाब संघर्ष समितिले सोमबार इलाका प्रशासन कार्यालय धरान घेराउ गर्दै इलाका प्रशासन कार्यालय धरानमार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र समेत बुझाएको छ ।
धरानका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यापारी व्यवसायीहरु तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा धरान उपमहानगरपालिकाको कार्यालयमा भेला भएर नारा सहित इलाका प्रशासन कार्यालयमा गएर ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझाउदै संघर्ष समितिका संयोजक एवम् सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसंगै सरकारले सबै जनतालाई सहज र सरल ढंगले सरकारी कामकाज सजिलो बनाउने उद्देश्यले गरेको निर्णयको विरोधमा इनरुवाबासी उत्रिनु विडम्बना भएको बताउदै विरोध लोकतान्त्रिक पद्धति विरुद्ध भएको बताउनुभयो ।
उहाले संघर्ष समितिले १० दिनको अल्टिमेटमसहित यस अघि पनि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको स्मरण गराउदै निर्णय कार्यान्वयन नभएर जस्तो सुकै आन्दोलन गर्न आफूहरु तयार रहेको समेत चेतावनी दिनुभयो ।
यसैबीच मालपोत र नापी कार्यालयको शाखा विस्तार गर्न माग गर्दै सुनसरी क्षेत्र नं. १ ले कार्यवाहक सभापति सुरेशमान श्रेष्ठ र सचिव सुजेन्द्र तामाङले विज्ञप्ति जारी गरेको छ ।
धरानमा शाखा विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको अवस्थामा एकाएक इनरुवाका केही विचौलिया, उद्योगी व्यवसायी, लेखन्दास तथा संकुचित
विचारका राजनीतिकर्मीहरुको विकास
विरोधी फोहोरी खेल र दवावमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले शाखा विस्तारको कार्यलाई स्थगित गरेपश्चात धरानका विभिन्न राजनीतिक दल,
नागरिक समाज, संघसंस्था र
धरानवासीहरुवाट स्थगनको निर्णयलाई बदर गर्न गरेको मागको हालसम्म वेवास्ता भएकोप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाएको छ ।
धरानवासीले अहिलेसम्म प्रेस विज्ञप्ति जारी गर्ने, पत्रकार सम्मेलन गर्ने, हस्ताक्षर संकलन गर्ने, सांकेतिक बजार बन्द गर्ने, ज्ञापनपत्र बुझाउने, दवाव समूह गठन गर्ने जस्ता शान्तिपूर्ण
विरोधका कार्यक्रमहरु गर्दा पूर्ण वेवास्ता गरेको भन्दै अविलम्व शाखा विस्तारको प्रक्रिया सुचारु नगरे सशक्त आन्दोलन गर्न वाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
शाखा विस्तारको विरोध भएवाट संघीयता मार्फत सिंगो मुलुक विकेन्द्रिकरणतर्फ लम्किरहेको अवस्थामा आफनो ठाउामा मात्रै सम्पूर्ण सेवा, सुविधा र विकास हुनुपर्छ भन्ने दरिद्र मानसिकता र केन्द्रिकृत सोंच एवम् चिन्तन भएकाहरुको चरित्र उदाङ्गिएको जनाउंदै त्यस्ता आवाञ्छित तत्वहरुसंग भिड्न
धरानवासी तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य डा. शशांक कोइराला समक्ष कांग्रेस क्षेत्र नं. १, सुनसरीको प्रतिनधि मण्डलले भेट
गरी नेपाल सरकारको निर्णय बमोजिम धरान उप–महानगरपालिकामा मालपोत र नापी कार्यालयको शाखा विस्तार गर्ने निर्णय तत्काल कार्यान्वय गराउन प्रधानमन्त्री एवम् पार्टी सभापति शुसील कोइरालाको ध्यानाकर्षण गराउन माग गरेका छन् । भेटमा डा. कोइरालाले सरकारको निर्णय कार्यान्वय नभएकोमा दु:ख प्रकट गर्दै काठमाण्डौं फर्के लगत्तै निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय एवम् निकायलाई निर्देशन दिन प्रधानमन्त्रीलाई भेट गरी आग्रह गर्ने बताएका छन् । उनले जनताले सरकारी सेवा र सुविधा सहज रुपले पाऊन् र हरेक क्षेत्रको विकास होऊन् भन्ने अभिप्रायले सरकारले शाखा विस्तार गर्ने निर्णय गरेको भन्दै यस्तो कदमको विरोध हुनु अत्यन्तै दु:खद भएको बताएका छन् । कांग्रेस क्षेत्रीय सचिव सुजेन्द्र तामाङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा महाधिवेशन प्रतिनिधि उमेश थापा, क्षेत्रीय सदस्यहरु मुरारीप्रसाद
भट्टराई, सागर प्रसाई, प्रेमकुमार राई, १६ नं. नगरवडा सभापति गोविन्द बस्नेत लगायत सहभागी थिए ।
यता सरकारको निर्णयको कार्यान्वयन गर्नुपर्ने भन्दै आइतबार नेपाल नागरिक समाज सुनसरीले दबाब स्वरुप हस्ताक्षर अभियान चलाएको
थियो । धरानको भानुचौकमा राखिएको सो हस्ताक्षर अभियानमा सैयौ
सर्वसाधारणले हस्ताक्षर गरेका छन् । एकदिने हस्ताक्षर कार्यक्रमपश्चात समाजले इलाका प्रशासन कार्यालय
धरानमार्फत प्रधानमन्त्रीको कार्यालयमा हस्ताक्षर भएको समाग्री पठाएको समेत समाजका अध्यक्ष प्रेम प्रसाद पौड्यालले जानकारी दिनुभयो ।
हस्ताक्षर अभियानमा व्यापारी व्यवसायीहरुले समेत धरान लगायतका आसपासका क्षेत्रमा शाखा खोल्दा सेवाग्राहीहरुलाई सर्वसुलभ ढंगले सेवा पाउने भएकोले यसको विरोध नगरी बरु इनरुवाबासीहरुले नेपाल सरकारको निर्णयलाई स्वागत गर्नुपर्ने बताएका छन् । व्यवसायीहरुले कसैले आफ्नो स्वार्थपूर्तिका लागि जनतालाई राहत दिने कार्यक्रम नेपाल सरकारले ल्याएकोले विना अवरोध कार्यान्वयनमा जोड दिन इनरुवाबासीहरुलाई आग्रह समेत गरेका छन् ।
