धरान/ धरान उपमहानगरपालिकाले सामुदायिक कुकुरको नियन्त्रणका लागि जतिसुकै काम गरे पनि यस्ता कुकुरको संख्या घट्नुको साटो बढ्दै गएपछि धरानेहरुका लागि टाउको दुखाईको विषय बनेको छ ।
उपमहानगरपालिकाले यस्ता कुकुरहरुलाई मार्ने अभियान चाल्दै आएको भएपनि विगत तीन बर्षदेखि भने पशु अधिकारकर्मीहरुको विरोधका कारण न्यूनिकरणका लागि भन्दै बर्षेनी पोथी कुकुरको बन्ध्याकरण गरेर कुकुरको संख्या घटाउने अभियान चलाए पनि अपेक्षित रुपमा त्यो सफल हुन नसकेको नगरपालिकाले नै स्वीकारी सकेको छ ।
तीनबर्षदेखि कुकुरको क्षेत्रमा काम गर्दै आएको पेट्स होमको सहकार्यमा धरान उपमहानगरपालिकाले चालेको बन्ध्याकरणपश्चात समेत धरानमा
कुकुरको संख्या नघटेको स्वीकार गरेको छ । धरान उपमहानगरपालिकामा वातारणीय क्षेत्रमा काम गर्दै आउनु भएका वातावरणविद् शिशिर श्रेष्ठले बर्षेनी पोथी कुकुरको बन्ध्याकरण गर्ने अभियान चाले पनि धरानदेखि बाहिरबाट अझ धेरै सामुदायिक कुकुरहरु भित्रिने गरेकाले पनि घट्नुको साटो बढेको बताउनुभयो । उहााले अब यसलाई अझ प्रभावकारी रुपमा लानका लागि ६/६ महिनामा वन्ध्याकरण गर्ने अयिभान अगाडि ल्याउने बताउनुभयो ।
यता पशु चिकित्सकहरुले भने कुकुरको बन्ध्याकरण नै कुकुरको संख्या घटाउने उत्तम उपाय भएको बताउछन । उनीहरुले कुकुरको बाच्ने अधिकारलाई सुनिश्चित गर्दै बन्ध्याकरण गरेर अनावश्यक रुपमा फैलिएका सामुदायिक कुकुरहरुलाई न्यूनिकरण गरेर लानु नै उत्तम हुने उनीहरुको भनाई छ । वन्ध्याकरण गर्दा रेविज रोगसमेत संगै लगाउने भएकाले त्यस्ता कुकुरको टोकाइबाट हुने रेविज रोगमा समेत नियन्त्रण आउने चिकित्सकको भनाई छ ।
सामुदायिक कुकुर वृद्धि हुनुको प्रमुख कारण अव्यस्थित सहरलाई समेत सर्वसाधारणले लिने गरेको पाइएको छ । अनावश्यक रुपमा बढेका घरहरुका कारण यस्ता कुकुर बढ्ने गरेको उनीहरुको भनाई छ । धरानमा रहेका मासु पसल, जथाभावि फाल्ने फोहोरका कारण पनि कुकुरको संख्या बढेको उनीहरुको भनाई छ । उनीहरुले कुकुरका कारण दुर्घटना बढाउने, रेविजरोगको सक्रमण बढ्ने जस्ता सम्भावना बढी हुने बताउछन् ।
धरान उपमहानगरपालिकाले हाल धरानमा ५ हजार ५ सय सामुदायिक कुकुर रहेको अनुमान गरेको छ । बन्ध्याकरण गर्ने अभियानले धेरै मात्रामा नियन्त्रण गरे पनि अन्यत्रबाट समेत धरानमा यस्ता कुकुर आउने गरेका कारण अझ समस्या थपिएको नगरपालिकाको भनाई छ ।
