अहिंसात्मक आन्दोलनका प्रवद्र्धक, भारतीय स्वतन्त्रता संग्रामका शिखर पुरुष, भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्म जयन्ति तथा दुई बर्ष लामो महात्मा गान्धीको १५० बर्ष स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको कार्तिक २४ गते सोमबार एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
भारतीय राजदूताबास काठमाण्डौले सोमबार एक विज्ञप्ती जारी गर्दे ‘हाम्रा नेपाली मित्रहरुसँग गान्धी शिक्षाका मूल्य मान्यताको’ सम्झनामा भारतीय राजदुतावासले बीपी कोइराला नेपाल–भारत फाउन्डेशनको सहकार्यमा उक्त पुस्तक प्रकाशन गरेको हो । उक्त पुस्तकले विश्व अहिंसात्मक आन्दोलनका शिखर व्यक्तितव महात्मा गान्धीको बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको
छ । गान्धीको योगदानका बारेमा विविध क्षेत्रमा समर्पित नेपालका २५ जना प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई पुस्तकमा समेटिएको छ । मैले बुझेको गान्धी नामक पुस्तकको प्रकाशनले नेपालका युवा पिढीलाई महात्मा गान्धीलाइ अझ नजिकबाट बुझ्न ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ । महात्मा गान्धीको जीवनको प्रेरणा र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
