विहार समान त हैन, तर केही समदृश्य छ

जयप्रकाश प्रसाद गुप्ता
भारतको विहार प्रदेशमा विद्यानसभाको चुनाव हुँदैछ । विहारमा पछिल्लो तीस बर्षदेखि मुख्यत ः दुईवटा राजनीतिक दलहरु लालु प्रसाद यादवको नेतृत्वको राष्ट्रिय जनता दल र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेडको शासन रहेको छ ।
राजदले ‘सामाजिक न्याय’ र जेडियुले ‘समुन्नति’ को नारामा । राजदले सामाजिक न्यायको मुद्दालाई सर्वाधिक महत्व दियो, जनताले बृहद फस्टाएको अपराध तथा आर्थिक अवनतिलाई शुरुका १५ बर्षसम्म ध्यानै दिएनन् । त्यसपछि जेडियुले सुशासन तथा जनताको विकासको नारालाई जोड दियो । तर, राज्यलाई शासनको निरन्तरतामा मात्र केन्द्रित ग¥यो, फलत ः आर्थिक विकासको कुरा नाममा मात्र सीमित रहन गयो ।
जनता रनभुल्लमा रहे, सात दशक वित्यो । समग्रमा राजनैतिक स्वप्न, शोषण विरुद्धको प्रतिशोध, विकासका नारा तथा धर्मान्ध चेतनाको ध्रुविकरणमा सात दशक वितेको छ । आज भारतको विहार प्रदेशको समुन्नतिको कैनभासमा यस्तो तस्विर देखिन्छ–जहाँ ३३.७४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन् । उद्योगले जम्मा १७ प्रतिशत अर्थतन्त्रलाई धानेको छ । भारतको २९ प्रदेशमा जिडिपीको हकमा विहारको स्थान ८ औ छ । त्यहाँ ५२.४७ प्रतिशत जनसंख्या निरक्षर छन् । यो भारतकै उच्च दर हो । करिब ४० प्रतिशत छात्रछात्राले १२ औं कक्षामा पुग्दा विद्यालय छाड्छन्, १३.६ प्रतिशतले मात्र उच्च शिक्षामा भर्ना लिन्छन् । समग्रमा ३५.९ प्रतिशत बालबच्चा शिक्षाबाट बञ्चित छन् । त्यहाँ करिब ४२ प्रतिशत बालबच्चा कुपोषणका शिकार छन् । विहारमा १६ देखि ६५ बर्ष उमेर समूहका ३८.२ प्रतिशत बेरोजगार छन् भने ४०.५ प्रतिशत मजदुर काम बेगर बाँचेका छन् । यी तथ्यांकहरु विहारमा यस अघि चुनावका गम्भीर मुद्दा बनेको थिएन । सामाजिक न्यायको चर्को कुराले आर्थिक बदलिको कुरालाई ओझेलमा राखेको थियो । तर अहिलेको चुनावमा यस्ता सवालहरुले विहारका ठूलो जनसंख्याको ध्यान खिचेको छ । जनताले प्रश्न गर्न थालेका छन् कि अब थप कति बर्षको समय दिने ? जनताको यो प्रश्न सत्तारुढ गठनबन्धनका लागि कठिन भएको छ ।
नेपालका केही प्रदेशहरु भारतका प्रदेशहरुसँग जोडिएको छ । तर सबैभन्दा बढी तादाम्यता प्रदेश २ को विहार प्रदेशसँग छ । यसर्थ, नेपालको प्रदेश २ ले विहारको चुनावमा उठेका सवालहरु तथा अपेक्षाहरुलाई गहन रुपमा बुझ्नु जरुरी छ । यो यस
कारणले पनि बुझ्न जरुरी छ कि प्रदेश २ को सरकार तथा यसका सत्तारुढ दलले वितेको समायवधिमा बढी महत्व अधिकारका सवालहरु र सामाजिक न्यायका कुराहरुलाई दिइरहेको देखिन्छ ।


नेपालको प्रदेश २ जसको ८ वटै जिल्लाहरु भारतको विहार प्रदेशसँग जोडिएको छ । यहाँ पनि २७.७ प्रतिशत मानिस गरिबीको चपेटामा रहेका छन् । स्वतन्त्र विज्ञहरुले यो ३५ प्रतिशत भन्दा पनि ठूलो रहेको भन्छन् । यो प्रदेश वहुआयामिक गरिबीको मापदण्डमा पूरै मुलुकमै उच्च रहेको छ । नेपालका ७७ जिल्लामध्ये प्रदेश २ को ८ जिल्लाका वहुआयामिक गरिबहरुको जनसंख्या ३५ प्रतिशत रहेको छ । यस प्रदेशमा स्कुल जाने उमेरका मध्ये ५० प्रतिशत बालबच्चाहरु मात्र स्कूलमा भर्नासम्म भएका छन् । कुपोषणका शिकार जनसंख्याको सन्दर्भमा कर्णाली प्रदेशपछि प्रदेश २ आउँछ । प्रदेश २ मा १५–४९ उमेर समूहका महिलामध्ये ५८ प्रतिशत एनिमिया रोगबाट ग्रस्त छन् भने ३६.८ नवजात बच्चाहरु कम तौलका जन्मिने गर्छन् ।
मुलुकका कुल ३५५२० वटा स्कूलहरु मध्ये प्रदेश नं. २ मा स्कुलको संख्या ४१३७ रहेको छ । प्रदेशबाट २४.२० प्रतिशत युवाहरु श्रम बेच्न विदेशिएका छन् । आर्थिक विकास दर भने जम्मा २.३ प्रतिशत रहेको छ । यो प्रदेशमा युवा साक्षरता दरमा मुलुकमै सबैभन्दा कम ६३ प्रतिशत रहेको छ । जबकि गण्डकी प्रदेशको सवाधिक ९५ प्रतिशत छ । मुलुकको कुल ४०१२३६ उद्योगको तुलनामा प्रदेश न. २ मा उद्योग संख्या ५४९१० छ । यहाँको ५४,०४,१४५ जनसंख्यामा जम्मा १३ वटा अस्पताल रहेका छन् । हालको महामारी कोभिड १९ लाई नियन्त्रणमा लिने सन्दर्भमा यो प्रदेश असफल जस्तै देखिएको छ ।नेपालको सन्दर्भमा पदेश २ को स्थितिमात्र खराब छ भन्ने होइन। तर प्रदेश २ तुलनात्मक रुपमा बढी खराब छ ।
विहारको निर्वाचनमा ३१–५० उमेर समूहका मतदाताहरु ४४.१ प्रतिशत रहेका छन् । यसरी नै २६–३० उमेर समूहका मतदाताहरु १५.८ प्रतिशत रहेका छन् । दुवैलाई जोड्दा, अर्थात २६–५०उमेर समूहका मतदाताको प्रतिशत ५६.९ हुन आउँछ । विहार
राज्यको विधानसभा निर्वाचनको गहिरिएर मुल्यांकन गर्नेहरुले त्यहाँको सत्तारुढ गठबन्धनलाई सबैभन्दा ठूलो चुनोति यही उमेर समूहका मतदाताबाट हुने आंकलन छ । यस उमेर समूहले यसपटक नयाँ अपेक्षाहरु प्रकट गरिरहेको देखिन्छ । सामाजिक न्यायाको मुद्दा, दलित सशक्तिकरणको सवाल, हिन्दु धर्मान्धता, राम मन्दिरको निर्माण र अल्पसंख्यक अधिकारको कुरा ओझेलमा परेको त भन्नुहुन्न तर प्राथमिक सवालको रुपमा रहेको छैन ।
विहार राज्यको झै नेपालको प्रदेश न. २ को पनि जनसंख्यीक स्थिति समान नै रहेको छ । जनताका प्रश्नको निर्माण, उमेर समूहको प्राथमिकता तथा समान आकांक्षाहरुले निर्धारण गर्दछ । यसर्थ, यहाँका राजनीतिक दलहरुले भोलिका दिनहरुमा सामना गर्नुपर्ने सवालहरुको आंकलन पनि विहारको राजनीतिक परिदृश्यबाट बुझ्न उपयुक्त नै हुनेछ ।

तपाईको प्रतिक्रिया