बजार अनुगमनको नाममा उपप्रमुखको मनोमानी : व्यवसायी भन्छन् नगरपालिकाले मूल्य तोक्ने होइन

धरान÷अक्सर चाडपर्वको बेला बजार अनुगमनको नाममा सल्बलाउने धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीको संयोेकत्वमा गठित अनुगमन समितिका कारण यतिबेला कृषि उपज बजारका व्यवसायीहरु आक्रोसित बनेका छन ।
बजार अनुगमन समितिकै कारण यतिबेला धरानमा भुटानी आलु, प्याज, लसुन लगायतका कृषि उपज सामाग्रीको चरम अभाव भएको छ । भारतीय आलु र नेपाली आलुको तुलनामा भुटानी आलु स्वादिष्ट हुने भएकोले उपभोक्ताहरुले यसैको माग ज्यादा गर्ने गरेका छन् ।
केही दिन अगाडि उपप्रमुख भण्डारीको नेतृत्वमा पुगेको अनुगमन समिति र कृषि उपज बजारका व्यवसायीहरु बीचमा मूल्यलाई लिएर धम्साधम्सी नै परेको थियो । समितिमा धरान उपमहानगरपालिकाका बजार अनुगमन कर्मचारी वेदप्रकाश सापकोटा, कृषि बजार सञ्चालक समितिका अध्यक्ष पर्शुराम कटुवाल लगायतको समेत उपस्थितिमा व्यवसायीले आयात गरेको मूल्य भन्दा कम मूल्यमा आलु, प्याज बेच्न दबाब दिएपछि दुवै पक्षबीचमा केही बेर विवाद भएको थियो ।
व्यवसायी शिवचन्द्र चौधरी भन्नुहुन्छ भुटानबाट आयात गर्ने आलु प्रतिकेजी ७० रुपैया पर्छ । त्यसमा ढुवानी खर्च बेग्लै हुन्छ । तर अनुगमन समितिले वास्तविकता नै नबुझी ६० रुपैयामा विक्री गर भनेर दबाब दिनु अनुचित हो । व्यवसायी दुई पैसा कमाइको आशामा काम गर्छन् तर घर जग्गा बेचेर घाटा खाएर कसैले व्यापार गर्दैन । अनुगमन समितिको अनुचित दबाब पछि यतिबेला कृषि बजारमा कुनैपनि व्यापारीले भुटानी आलु मगाएका छैनन् । उपभोक्ताहरु भुटानी आलुकै लागि दैनिक कृषि बजार पुग्ने गरेका छन् । कृषि बजारका अर्का व्यवसायी भन्छन् नगर पालिकाले भुटानी आलुको मूल्य प्रतिकेजी
धरानसम्म आइपुग्दा कतिपर्छ भनेर पहिला पत्ता लगाउनुप¥यो, भारतबाट आयात गरिएको प्याज प्रतिकेजी कति पर्छ भनेर मूल्य सूचि मगाउनु प¥यो । जथाभावी बेच भनेर दबाब दिनु त भएन नि †
तीन तहको सरकार छ आफैले गर्दा हुन्छ
यतिबेला नेकपाको केन्द्रमा मात्र नभएर प्रदेश र स्थाीय तहमा दुई तिहाइको सरकार छ । उपभोक्ताहरुलाई सस्तोमा आलु, प्याज दिलाउने हो भने आफैले मगाएर धरान उपमहानगरपालिकाले सस्तो पसल खोल्दा भैगयो व्यवसायी सोनेलाल गुप्ताको कथन
छ । गुप्ता भन्नुहुन्छ नेपाली कृषकले उत्पादन गरेको बन्दाकोपी उत्पादन स्थलमै ६० रुपैया प्रतिकेजी रहेको छ । त्यसमा ढुवानी खर्च समेत हुन्छ । कृषकसँग ल्याएको बन्दाकोपी सिधै ग्राहकलाई बेच्न सकिदैन । पहेलो पातहरु सबै निकालेर बेच्नुपर्छ । पात निकालेको बन्दा कोपी व्यावसायीले ७०–८० रुपैयासम्म बेच्छन् । तर नगरपालिकाको अनुगमन समिति प्रति केजी ६० रुपैयामा बेच भन्छ त्यो कसरी सम्भव हुन्छ । कि नगरपालिकाले कृषकसँग सस्तोमा ल्याएर व्यवसायीलाई विक्रीका लागि दिनु प¥यो । होइन भने वास्तविकता नबुझी सस्तो लोकप्रियता कमाउन कृषि बजारमा आएर व्यवसायीलाई दबाब दिने नाटक बन्द गर्नुप¥यो उनले भने ।
अर्का व्यवसायीले भने यतिबेला बजारमा खाद्यान्नको मनपरी मूल्य छ । एक महिना अगाडिसम्म सेलो खाने तेल, घण्टी लगायतका तेलमा २०–३० रुपैया बढी तिरेर ग्राहकहरुले किनिरहेका छन् । न उत्पादकले खाने तेलको मूल्य बढाएको छ न डिलरहरुले वास्तविक मूल्य राखेका छन् । तर उपभोक्ताहरुले बढी मूल्यमा किन्नु परेको छ । खाद्यान्नमा तेलमा मात्र होइन अन्य समानको पनि मनपरी मूल्य छ तर अनुगमन समितिले त्यसलाई देखेको छैन । उनले भने अनुगमन समितिकै नियत माथि यतिबेला आशंका उत्पन्न भएको छ ।
प्याज आयतमा कडाई
दशैंको मुखमा बजारमा प्याजको अभाव देखिएको छ । कोरोनाका कारण विगतका बर्षहरुमा जस्तो तामझाम रुपले दशै मनाउने मनस्थितिमा सर्वसाधारण नभए पनि सामान्य रुपमा आफनो परम्परा धान्न सबै लागिपरेका छन् । बजारमा फाट्टफुट्ट रुपमा पाइने दुई चार केजी पुरानो स्टोकको प्याज मात्र छ । नया आयात हुन सकेको छैन ।
कृषि उपज बजारका व्यवसायी शिवचन्द्र चौधरी भन्नुहुन्छ यस भन्दा अगाडि प्याज भारतबाट आयात गर्देै आएका थियौ । प्याज आयात हुने पनि भारतबाटै हो । तर भारततर्फको भन्सारले प्याज नेपाल ल्याउन दिएका छैन । उहाँ भन्नुहुन्छ जोगबनीमा प्याज किनेर राखिएको छ तर नेपाल आउन पाएको छैन । प्याज किन र के कारणले आउन पाएन भनेर धरान उपमहानगर पालिकाकाकी बजार अनुगमन समितिकी संयोजक एवम् उपप्रमुख मञ्जु भण्डारीले कहिल्यै सोधेकी छैनन् । खाली यतिमा बेच भनेर दबाब मात्र दिने गरेकी छन् । व्यापारीहरु मुख्य भन्सार नाका भन्दा बाहेकका नाकाहरुबाट प्याज ल्याउन तयार छन् तर त्यसरी ल्याउदा तस्करी गरेर ल्यायो भनेर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले सामान मात्र होइन सवारी साधन नै जफत गर्छन । त्यसरी ल्याएको सामानको भन्सार तिर्ने व्यवस्था गरेमा व्यापारीहरु खुशी हुने थिए । नगरपालिकाले यस्तो व्यवस्था गर्ने हिम्मत गर्छ ? खाली अनुगमनको नाममा व्यापारीहरुलाई आतंकित बनाउने काम गर्नु भएन नि ।

तपाईको प्रतिक्रिया