राजधानी÷भारत स्वतन्त्रताका महानायक, विश्व अहिंसात्मक आन्दोलनका प्रवद्र्धक महात्मा गान्धीको १५१ औ जन्म जयन्तिका अवसरमा भारत सरकारले नेपालका ३० वटा जिल्लामा रहेका सरकारी तथा गैर नाफा मूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेस र ६ वटा बसहरु उपहार स्वरुप प्रदान गरेको छ ।
न्ोपालका लागि भारतीय राजदूता विनय मोहन क्वात्राले काठमाण्डौ स्थित दुतावास हातामा रहेको महात्मा गान्धीको पूर्ण कदको प्रतिमामा पुष्प गुच्छा सहित श्रद्धासुमन अर्पण पश्चात हिजो शुक्रबार ती एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्नुभएको हो ।
भारत सरकारले आफनो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई लक्षित गरी एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्दै आएकोमा महात्मा गान्धीको जन्म दिनमा समेत उक्त कार्यलाई थप निरन्तरता दिएको छ । यस पटकको महात्मा गान्धी जयन्तिका अवसरमा भारतीय राजदूतावास काठमाण्डौले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैर सरकारी एवम् गैर नाफा मूलक परोपकारी संघ संस्थाहरुलाई उपहार स्वरुप एम्बुलेन्स र बसहरु प्रदान गरेको हो । भारत सरकारले दुतावासमार्फत विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँचको विस्तार होस् भन्ने हेतुले विगत २६ बर्षदेखि एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्दै आएको छ ।


सन् १९९४ देखि आजसम्म भारत सरकारले भारतीय राजदूतावास मार्फत ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । यस पटक उपलब्ध गराइएको एम्बुलेन्स तीन प्रकारका रहेका छन । जसमा Advance Life Suporrt Category, Basic Life Support , Common Life Support छन् । पहिलो प्रकारको एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजी तथा अक्सिन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टे स्थोस्कोप, एम्बु व्याग, ट्युव तथा काथेटर, ह्वीलचेयर, स्ट्रेचर,रेडियो सञ्चार यन्त्र तथा फोरजी मोवाइल डिभाइस आदि हुनेछन । यसैरी दोस्रो प्रकारको एम्बुलेन्समा भेन्टिलेटर बाहेकका सबै सुविधा रहने छन् भने तेस्रो प्रकारकोमा फोर ह्वील प्रणाली जडान भएकोले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त हुनेछन ।
भारतीय दूतावासले शुक्रबार ६ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ वटा बस समेत गरी हाल सम्म १६० वटा विद्यालयलाइ उपहार स्वरुप प्रदान गरिसकेको छ । नेपालले स्वास्थ्य क्षेत्रमा विशेष गरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारी राखेको निरन्तर सहयोग अनुरुप ती एम्बुलेन्स र विद्यार्थीहरुको विद्यालयसम्मको पहँुच सरल होस् भन्ने हेतुले बसहरु प्रदान गरिएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

