धरान÷मुलुकमा यतिबेला कोरोना भाइरसको सन्त्रास छ, नियन्त्रण र रोकथामका लागि सरकार निरन्तर प्रयासरत छ, अत्यावश्यक बाहेक गृह मन्त्रालयले १५ गतेदेखि नै अन्तर जिल्ला सवारी पासमा रोक लगाएको छ तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि गृहमन्त्रालयको नियम कानून लागू हुदैन ।
देशका अन्य भागमा जस्तै धरान उपमहानगरपालिकामा समेत दिनानुदिन कोरोनाका विरामी बढिरहेका छन् । सरकारले एउटा जिल्लाबाट अर्को जिल्ला भ्रमण गर्न निश्चित मापदण्ड तोकेको छ, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम आम नागरिकलाई दैनिक सचेत गराइरहेका छन् तर प्रतिष्ठानका उपकुलपति गिरीले बिना पासमा काठमाण्डौ आवतजावत गर्ने गरेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतलाई डा. गिरी आफू भन्दा निम्न तहको कर्मचारी बताउँछन् । धरानबाट काठमाण्डौ आवात जावत गर्दा उनलाई सुनसरीका प्रमुख जिल्ला अधिकारीको अनुमति चाहिँदैन र सरकारको क्वारेन्टाइनको नियमलाई समेत उनी धोती लगाइदिन्छन् । श्रावण १७ गते शनिवार उनी विना पास काठमाण्डौ गएर २० गते मंगलबार फर्किए । यसै सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो गृह मन्त्रालयले १५ गतेदेखि नै अन्तर जिल्ला पास जारी नगर्न निर्देशन दिएको थियो । १६ गते उपकुलपति गिरीले फोन गरी १७ गतेका लागि पास माग्नुभयो । आफूले दिन नसक्ने जनाएपछि उहाँ बिना पास नै काठमाण्डौ जानु भएछ । प्रमुख जिल्ला अधिकारी पोख्रेलले भन्नुभयो इमरजेन्सी परेकाहरुलाई, विरामीहरुलाई, विदेश जान टिकट भएकाहरुलाई पास दिने गरिए पनि उपकुलपति गिरीको हकमा यो लागू भएन । विना पासै उहाँ काठमाण्डौ जानुभयो त भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी पोख्र्रेल भन्नुभयो, उहाँ डाक्टर हो, इमरजेन्सी सेवा भनेर बाटामा चेकजाँच गर्ने पुलिसलाई भन्दै हिड्नुभयो होला । उपकुलपति गिरीको भनाई उद्यृत गर्दै स्रोतले दिएको जानकारी अनुसार प्रजिअ भनेको सेकेण्ड क्लास अफिसर हो । त्यसले मलाई रोक्ने ? सरुवा खोजेको हो ? एउटा नगर पालिकाको मेयरले मलाई कोरोनाको बारेमा सिकाउने ? हाल उपकुलपति गिरीले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको फोन समेत नउठाएको गुनासो स्वयम् प्रमुखले केही ठाउँमा गरेका छन् ।
उपकुलपति डा. गिरीको छट्टपट्टी
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.गिरीलाई हिजोआज विवादास्पद मातृ शिशु भवनको अनियम तवरले गरेको म्याद थप र भुक्तानी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीले छट्टपट्टी भएको एक कर्मचारीे बताए ।
मध्य पश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति डा. उपेन्द्र कोइरालाको जोडबलले निजका साढुभाइ पर्ने अख्तियार प्रमुख नविन घिमिरेमार्फत सबै उजुरी तामेलीमा राखेको दाबी निजका सल्लाहकार दिलिप भट्टराईले गरे तापनि डा. गिरीले अनावश्यक रुपमा आफूलाई विवादमा तानेको भन्दै स्वयम् अख्तियार प्रमुखले मातृ शिशु भवन अनियमितता सम्बन्धमा छानविन गर्न क्षेत्रीय कार्यालय इटहरीलाई आदेश दिइसकेको अख्तियार स्रोतले बताएको छ ।
कोरोना अस्पतालको नाममा धमाधम अनियमित खरिद
प्रतिष्ठानका एक खरिद शाखाका कर्मचारीका अनुसार उपकुलपति गिरीले खरिद लेखाको चाबी आजकल सल्लाहकार दिलिप भट्टराईलाई दिएका छन् ।
सोतका अनुसार उक्त शाखाका प्रमुखहरु सल्लाहकार भट्टराईका छायाँ भएर बसेका छन् । भट्टराई आफै खरिद गर्न जान्छन्, कुनै माग फारम र खरिद आदेश बेगर फटाफट मोटो रकम कमिशन डिल गरेर सामान किनेर ल्याउँछन । सामान किनीसकेपछि सबै कागजात मिलाउन लगाउँछन् । यसरी कसरी काम गर्ने ती कर्मचारीले बताए । उनले भने आज सम्म नदेखेको र नभोगेको गाइजात्रा देख्न थालियो । गत आइतबार अर्थात साउन ११ गते कोरोना अस्पतालको निम्ति आपैmले ६ वटा एयर कण्डिशन मेसिन र ४ वटा टेलिभिजन भट्टराई आफैले विराटनगरबाट खरिद गरेर ल्याएको ती कर्मचारीले बताए । यसरी पटक पटक रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको सहमतिमा सम्बन्धित शाखालाइ जानकारी नै नदिई सल्लाहकार भट्टराईले उपकुलपति डा. गिरीको सेटिङ्गमा विराटनगरका व्यापारीबाट विना टेन्डर करिब ५५ लाखको सामाग्री खरिद गरिसकेको र खरिद तथा लेखा शाखालाई भुक्तानीको निम्ति दबाब दिन थालेको लेखा शाखाका एक अधिकृतले जानकारी दिए ।
गेष्ट हाउसमा मोजमस्ती

उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलिप भट्टराई विगत तीन महिनादेखि प्रतिष्ठानको चारतारे स्तरको गेष्ट हाउसमा निःशुल्क खाने र बस्ने गरेका छन् । बसेको र खानाको पैसा तिराउने हो भने प्रतिदिन उनले कोठाको १८ हजार र खानाको एक हजार तिर्नुपर्ने हुन्छ । सल्लाहकारका बारेमा बोल्यो भने जागिर जान्छ हरेक दिन यहाँ भोजको व्यवस्था गर्नुपर्छ, सामान्य प्रशासनका एक कर्मचारीले भने ।
अस्पताल निर्देशक र शिक्षाध्यक्षलाई अख्तियारमा मुद्दा हाल्ने कसरत
केही हप्ता पहिला उपकुलपति डा. गिरीका सल्लाहकार दिलिप भट्टराई लेखा शाखाबाट गर्नुपर्ने सम्पूर्ण भुक्तानी काठमाण्डौबाटै गर्न चेकबुक र सम्पूर्ण कागजात बोकेर काठमाण्डौ गएको बेला अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालसँग सम्बन्धित कागजातहरु समेत बोकेर गएको र ती कागजात मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति डा. उपेन्द्र कोइरालालाई बुझाएको स्रोतले जनाएको छ ।
डा. कोइराला मार्फत उक्त कागजातहरु अख्तियार प्रमुख समक्ष पेश गर्ने र आगामी भाद्र महिनाभित्रै दुवै जनालाई मुद्दा दायर गराउने आफ्नो योजना रहेको सल्लाहकार भट्टराईले आफनो बेलुकाको गेष्ट हाउस सिटिङमा बताउने गरेको एक कर्मचारीले बताए । आगामी भाद्र २४ गते अख्तियार प्रमुख घिमिरेले अवकाश पाउने चिन्ताले उपकुलपति डा. गिरीलाई सताएको छ ती कर्मचारीले बताए ।
