धरान÷अत्यन्तै जुझारु, कर्तव्यनिष्ट, इमान्दार, शालीन व्यक्तित्व नेपाली काँग्रेसका होनेहार युवा नेता प्रताप भट्टराईको आइतबार आफनै निवास धरान १४ मा अप्रत्यासिशत, अपत्यारिलो निधन भएको छ ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सदस्य, नेपाल विद्यार्थी संघ सुनसरीका पूर्व सहसचिव एवम् उपाध्यक्षको जिम्मेवारी समेत सम्हालि सक्नु भएका भट्टराई पार्टी पंक्ति भित्र बौद्धिक बहस गर्न सक्ने, सांगठनिक दख्खल भएका र युवाहरु माझ लोकप्रिय समेत हुनुहन्थ्यो ।
नेपाली काँग्रेस प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठको स्वकीय सचिव समेत रहनु भएका भट्टराईलाई आफ्नै कोठामा झुण्डिएको अवस्थामा परिवारले फेला पारेका थिए । भट्टराईको निधनले आफू स्तब्ध भएको प्रदेशसभा सांसद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो सदैव हासिरहने, हरेक काममा पोख्त भट्टराईले असामयिक निधन रोज्नुको कारण के हुन सक्छ ? झण्डै दुई बर्ष सम्म साथमा हिँडदा कहिल्यै कसंैसँग वैमनस्यता भएको आफूले थाहा नपाएको भन्दै श्रेष्ठले राम्रो पारिवारिक पृष्ठभूमि भएका, अध्यात्मिक क्षेत्रमा समेत प्रसस्ती कमाएका भट्टराईको निधनले सुनसरी काँग्रेसलाई नै
अपुरणीय क्षति भएको बताउनुभयो ।
भट्टराईको अस्वभाविक निधनको खबर बाहिरिएसँगै धरानका हजारौ सर्वसाधारण भट्टराइको निवासमा जम्मा भएका थिए । धरान वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई भन्नुहुन्छ, म छिमेकी भएर पनि शुरुमा प्रताप भट्टराईको निधनप्रति आश्वस्त हुन सकिनँ । यथार्थ कुरामा आश्वस्त नभएर पनि भएन भन्दै उहाँले असामयिक निधन रोज्नुको कारण आफूहरुले बुझ्न सम्म नसकेको र अन्यले समेत विश्वास नगरेको बताउनुभयो । यसैगरी नेपाली काग्रेसका पुराना नेता श्याम श्रेष्ठले समेत उच्च आत्मबल भएका, अरुका लागि समेत प्रेरणाको स्रोत भएका नेपाली काँग्रसका युवा नेता प्रताप भट्टराईले स्वयम् मृत्यु रोज्नु दुःखद् भएको बताउनुभयो ।
वि.सं. २०४६जेष्ठ १९ गते जन्मनु भएका स्व. भट्टराइका एक श्रीमति र एक नवजात शिशुसँगै ९६ बर्षीय हजुरबुबा र मातापिता रहनु भएको छ । आइतबारै इटहरीस्थित बूढी गंगामा दाह संस्कार गरिएको थियो । त्यसभन्दा अगाडि उहाँको पार्थिव शरीरमा हजारौले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
