यस बर्ष सामुहिक धान रोपाइ भएन

धरान÷ पाथी रोपेर मुरी फलाउनका लागि कृषकहरु असार १५ देखि धान रोपाई शुरु गर्छन् । तर सुनसरीको धरान उपमहानगरपालिकाले धान जोनको रुपमा घोषणा गरेको धरान ६ स्थित पानबारीका कृषकहरु भने भर्खर मात्रै तयारीमा देखिन्छन् । लकडाउनका कारण समयमै बिउँ, मल नपाउँदा उनीहरुको रोपाई पनि ढिलो कृषकहरु बताउछन् ।
धरान उपमहानगरपालिकाले ६ नम्बर वडालाई कृषि क्षेत्र घोषणा गरेको छ । विशेष गरी पानबारीमा उत्कृष्ट धान खेती हुने भएकाले धरान उपमहानगरपालिकाले वडा नंं ६ पानवारीलाई धानको पकेट क्षेत्रको रुपमा विकास शुरु गरेको छ । विगत ३ वर्ष देखि पानवारीमा रोपाई महोत्सव नै गरेर रोपाई शुरु गर्ने गरेका थिए । तर यस वर्ष कोरोनाको संक्रमण र लकडाउनका कारण समयमै मल, बिउँ नपाउँदा पनि रोपाई नै ढिलो हुने देखिएको कृषक डम्बर देवान बताउनु हुन्छ ।
कोरोनाको संक्रमणलाई ध्यानमा राखेर नेपाल सरकारले चैत्र ११ देखि लकडाउन ग¥यो । लकडाउनले सबै क्षेत्र प्रभावित भएसंगै कृषि क्षेत्र समेत प्रभावित बन्यो । लकडाउनकै कारण समयमै मल, बिउँ नपाउदा कृषकहरुले अधिकांश धान खेती हुने क्षेत्रमा मकै लगाए । ढिलो गरी लगाएको मकैबाली समयमै उठाउन नपाउँदा पनि धानखेतीमा ढिलाई भएको कृषक इश्वर लामिछाने बताउनुहुन्छ । समयमै रोपाई गर्न नपाएका किसानहरु पछिल्लो समय सलह किराको प्रकोपको त्रासमा छन् । भर्खरै लगाएको धानको बिउ खाईदिने कि भन्ने डरमा उनीहरु छन् । हुन त् सुनसरीमा सलह किराको प्रकोप देखिएको छैन् तर पनि नेपालमा सलह कीरा प्रवेश गरेसंगै किसानहरु आफूले लगाएको बाली सलह कीराले नष्ट गरिदिने त्रासमा देखिन्छन्् । भर्खर लगाएको धानको बिउँमा सलहको प्रकोप फैलिए ब्याड नै नास हुने कृषक मानबहादुर योञ्जन बताउनुहुन्छ ।
पानवारीमा करिब साढे ४ सय हेक्टरको क्षेत्रफलमा धान खेती हुदै आएको छ । विगतमा धानखेतिमात्र हुदै आएको पानबारी पाचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएपछि पानबारी पनि सहरीकरणतर्फ उन्मुख बन्न थाल्यो । जसका कारण धानखेती प्लटिङ हुन थाले । प्लटिङकै कारण बर्षेनी धानखेति कम हुदै गएको बेला सुनसरीको प्रमुख धान खेती हुने यस स्थानमा रोपाई ढिलो भएपछि अझ ठूलो समस्या निम्तिएको छ । यस बर्ष पक्कै पनि धान उत्पादनमा ह्रास आउन सक्ने स्वयम् कृषकहरु नै बताउछन् ।

तपाईको प्रतिक्रिया