धरान÷धरानमा नाटक घर निर्माण हुने निश्चित भएको छ ।
गत आइतबार धरान ८, सभागृह क्षेत्रमा प्रादेशिक नाटक घरको शिलान्यास भएसंगै प्रादेशिक नाटकघर बन्ने निश्चित भएइको हो ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ४० लाख बजेट छुटिएपछि नाटकघरको संघीय सांसद जयकुमार राईले शिलान्यास गर्नुभएको थियो ।
रंगकर्मीको सहर भनेर चिनिएको धरानमा नाटकघरको शिल्यान्यास भएसंगै रंगकर्मीहरु हर्षित बनेका छन् । उद्घाटनपश्चात बोल्दै सांसद राईले नाटकको उर्वरभूमि धरानको नाटकले मुलुकमा धेरै अर्थ बोकेको भए पनि नाटकघर निर्माण हुन नसकेको बताउनुभएको थियो । उहाले निर्माण सम्पन्न गर्नका लागि सबैबाट साथ, सहयोग हुने अपेक्षासमेत व्यक्त गर्नुभयो ।
नाटक घर निर्माणकालागि भने केही समय अगाडि स्थानीयहरु विरोधमा उत्रिएका थिए । स्थानीयसंगको छलफलपश्चात सहमति जुटेपछि भने निर्माण कार्यको बाटो खोलेको हो । सांसद राईले स्थानीय,प्रदेश र संघीय सरकारको बजेटबाट निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै भाषाविद् डा.टंक न्यौपानेले नाटक घर निर्माण सम्पन्न भयो भने धरानको कला, सँस्कृति क्षेत्रको आवश्यकतालाई पूर्ति गर्ने विचार व्यक्त गर्नुभयो । निर्माण उपभोक्ता समितिका संयोजक प्रेम सुब्बाले नाटक घर मात्र नाटक मञ्चन गर्नको लागि नभै साहित्यिक कार्यक्रम, चित्रकला प्रर्दशनीलगायत पनि गर्न सकिने गरि निर्माण हुने बताउनुभयो ।
शिलान्यास कार्यक्रम धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
