कोरोनाको संक्रमणको जोखिम न्यूनिकरण गर्न हरेक क्षेत्र लकडाउन छ, विभिन्न भाषा, भाषी, संस्कृति, धर्म मान्ने सर्वसाधारण नेपालमा
रहेका छन् । तर पछिल्लो समय धार्मिक क्षेत्रमाथि पनि लकडाउनले ठूलो प्रभाव पारेको छ ।
नेपालमा मठ मन्दिर, मस्जिद चर्च सबै क्षेत्रमा लकडाउन भएको छ । जसले गर्दा नेपालीहरुले आफूले मनाउने मौलिक पर्व खुलेर मनाउन पाएका छैनन, बन्द कोठामा घरभित्रै बसेर परिवारमा सीमित भएर मनाउनुपर्ने बाध्यता छ ।
पछिल्लो पटक मुसलमानहरुले हर्षोल्लासका साथ मनाउने गरेको रमजान समेत कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न गरेको लकडाउनले प्रभावित बनेको हो । सामुहिक रुपमा मस्जिदमा गएर मनाउने यो पर्व घरभित्रै थुनिएर मनाउनुपर्ने बाध्यता छ ।
सुनसरीको इटहरी स्थित गैसारका मोहम्मद रमजान आफुले चाल पाएदेखि नै सामुहिकरुपमा रमजान मनाउँदै आएका छन् । प्रत्येक बर्ष सबै मुसलमान समुदाय एकै ठाउमा भेला भएर मनाउने यो पर्व कोरोना भाइरसको जोखिमका कारण यसरी घरभित्रै मनाएको भने इतिहासमै पहिलो पटक भएको बताउनुहुन्छ । यसरी मनाउदा उहालाई नमज्जा त लागेकै छ तर पनि उहाँ यस बर्ष यस्तो भएपनि आगामी दिनमा यस्तो दिन नआओस् भनेर कामना समेत गर्नुभयो ।
उहाँको घरबाट मस्जिद पुग्न एक मिनटको समय लाग्छ । तर यो मस्जिद अहिले बन्द छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले सबै धार्मिक स्थल बन्द गराएका कारण मस्जिद पनि बन्द गरिएका हुन् । रमजान जस्ता धेरै मुस्लिम यसरी नै घरमा बसेर पवित्र पर्व रमजान मनाउने बाध्य छन् ।
सुनसरीका सबै इस्लाम धर्मालम्बीले यस बर्षको रमजान घरघरमा नै बसेर मनाउूदै छन् । गत शनिबारदेखि सुरु भएको इस्लाम धर्मालम्बीको महानपर्व रमजान कोरोना भाइरस संक्रमणका कारण घरमै मनाइरहेका हुन् । दैनिक मस्जिद गएर नमाज पढ्नु पर्ने नियमलाई लकडाउनका कारण घरमै बसेर सवै मुस्लिम समुदाय धार्मिक अनुष्ठान गर्दै मनाएको इटहरी १४ गैसारका मोहम्मद रमजानले बताउनुभयो ।
अहिले हिजरी संवत १४४१ हो । रमजानको महीनामा मुस्लिमहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको धार्मिक मान्यता छ । रमजानमा महिनाभर रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । आत्मसुधार र गल्तीका प्रायश्चित गर्ने चाडका रुपमा पनि यसलाई मनाइने गरिएको छ । मुस्लिम समुदायले एक महिनाभर निराहार बस्दै पैगम्बरको स्मरण गर्दे नमाज पढ्ने गर्छन । हिन्दु धर्मकालागी दशै र तिहार जस्तै महान चाडको रुपमा मुस्लिम समुदायले मनाउने रमजान युवाहरुकालागी समेत खास हुने गर्छ , नयाू लुगा लगाउन,साथि भाइ भेट्ने र बेलुका सगैं भेला भएर सामुहिक भोजन गरेर रोजा तोड्न यस पटक नपाउदा खल्लो भएको सुनसरीका युवाहरुले बताएका छन् ।
दिनभर ५ पटकको नमाज र साँझ झण्डै एक घण्टाको सवारी अर्थात विशेष प्राथना सकेपछि मात्र एक दिनको रोजा सकिन्छ । यो क्रम हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । ससाना बालबालिका, बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहे पनि रोजाका निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।
