दिल्लीको निजामुद्धिनका मुसलमान नेपालको सीमा क्षेत्रमा

धरान÷केही दिन अगाडि भारतको दिल्लीमा मर्कज निजामुद्धिन मुस्लिम संस्थाको आयोजना पश्चात फर्किएका मुसलमानहरु नेपालको सीमा क्षेत्रका मस्जिद र मदर्शामा आश्रय लिएर बसेको पाइएको छ ।
प्राप्त समाचार अनुसार मोरङ्ग जिल्लाको सुनवर्सी नगरपालिका वडा नं. ४ स्थित रहेको मस्जिदमा आइतबार नौ जना पाकिस्तानी र १० जना भारतीय मुसलमान फेला परेका थिए । भारतसँगै नेपालमा लकडाउन शुरु भएपछि सीमावर्ती क्षेत्रहरुमा रहेका मस्जिद र मदर्शाहरुमा विदेशी मुुसलमानहरु फेला पर्न थालेका हुन् । यसैगरी सुनसरीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेका दुईवटा मदर्सामा आश्रय लिएर बसेका २२ जना विदेशी मुसलमानहरु फेला परेका छन् । सुनसरीको हरिपुर गाउँपालिका वडा न. १ स्थित जामिए मस्जिदमा मर्कजबाट आएका मुम्बईका १४ जना मुुसलमान फेला परेका थिए ।
यता इटहरी उपमहानगरपालिका वडा नं. १८ स्थित जतपुर मस्जिदमा आश्रय लिएर बसेका ८ जना पाकिस्तानी नागरिक प्रक्राउ परेका छन् । स्थानीयको सूचनाका आधारमा आइतबार ११ बजे उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पकलीले उनीहरुलाई स्वास्थ्य परीक्षण गर्न आइतबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको थियो । यता धरानबाट ४० दिन अगाडि धरानका ११ जना र दमकका एक जना मुस्लिम युवाहरु धार्मिक यात्रमा भारतको कोलकत्ता गएको र २० दिन अगाडि यात्रा सिध्याएर नेपाल फर्कने क्रममा मोरङ्गको कटहरीमा फँसेको नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य अलिम अन्सारीले जानकारी दिएका छन् । उनीहरु मोरङ्गको कटहरी गाउँ पालिका वडा नं ४ स्थित मस्जिदमा आश्रय लिएर बसिरहेको अन्सारीले बताउनुभयो । उनीहरुको उद्धारको व्यवस्था गरी धरान ल्याई क्वारेन्टाइनमा राखिदिन अन्सारीले धरान उपमहानगर पालिकालाई आग्रह गर्नु भएको छ । त्यसरी फँसेका मुस्लिम युवाहरुमा धरान ३ का फिरदोष अली, धरान २ का अब्दुल मजिद, धरान ८ का शमिम अन्सारी, धरान ९ का सद्धाम हुसैन, धरान ७ का शमशेर मियाँ, धरान १५ का समिर अली, धरान १५ का महवाज सिद्धिकी, धरान ३ का मो. हासिम, धरान ३ कै मो. हजाज, सोहराव आलम र झापा दमक ८ का मो. असगर रहेका छन् ।

तपाईको प्रतिक्रिया