वर्तमान नेकपाको दुई तिहाई सरकारले भ्रष्टाचारमा विश्व रेकर्ड कायम गर्ने ंसंकेत देखिएको छ । भ्रष्टाचारीको अनुहारै हेर्दिन, भ्रष्टाचारीलाई ठामको ठाम कार्वाही गर्छु, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला मुलुकमा देखिएको चरम भ्रष्टाचारका कारण अप्ठेरोमा परेका छन् ।
प्रधानमन्त्री ओलीका सबैभन्दा बढी विश्वास पात्र, प्रधानमन्त्रीकै आडमा मैमत्त साँढे झै भएका, बोल्ने शैलीमा दुर्वासा भएका सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रेस खरिद सम्बन्धी प्रकरणमा ७० करोड कमिशन काण्डमा मुछिएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् ।
सरकारको काम कारबाहीका सम्बन्धमा जोकोहीले पनि असन्तुष्टि व्यक्त गर्दा आक्रमणसम्मको धम्कीदिने अत्यन्तै अशिष्ट शैलीमा प्रस्तुत हुने गोकुल वास्कोटाले इमान्दारिताको बाहिरी आवरणमा भित्रभित्रै डरलाग्दा गोरस धन्दा सञ्चालन गर्दै आएको पुष्टि भएको छ । मन्त्री, सांसद, निर्वाचित पदाधिकारी अर्थात स्थानीय तहदेखि प्रदेश र संघ सम्मका कसैमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानविन हुनुहुँदैन भन्दै आएका बास्कोटाको अन्तत ः गोरस धन्दाको पर्दाफास भएरै छाड्यो ।
७० करोडको कमिशन काण्ड त एउटा उजागर भएको हो । यस्ता काण्ड दर्जन भन्दा बढी रहेका छन् । टेलिकमको फोरजी काण्डमा १२ अर्ब घोटाला गरेको उनकै पार्टीका वा नेकपाकै सांसदहरुले बेला बेलामा उजागर गर्दै आएका थिए । एनसेल काण्डमा वा एनसेलले लाभांश कर वापत तिुर्नपर्ने ७२ अर्ब रुपैया लगायतका काण्डमा समेत वास्कोटाको प्रत्यक्ष वा परोक्ष सरोकार रहेको पटक पटक नेकपाका सांसदहरुले उठाउँदै आएका थिए । तर तिनले उठाएका आवाजलाई प्रधानमन्त्री र सिंगो नेकपाले कहिल्यै नजरअन्दाज गरेनन् । आखिरी वास्कोटा प्रधानमन्त्री ओलीका विश्वास पात्र थिए उनका बारेमा बोल्नु पार्टीभित्रै एक्लो पर्ने, अवसरहरु गुमाउनुपर्ने भएपछि पनि वास्तविकता बाहिर ल्याउन सकेका थिएनन् ।
दुई दिन अगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले काभे्र पुगेर सञ्चारमन्त्री गोकुल वास्कोटा जस्ता नेता काभ्रेमा नभएको जस्ता शब्दहरु प्रधानमन्त्रीले खर्च गरेको सुन्दा कार्यक्रममा सहभमागी स्थानीय र नेकपाका कार्यकर्ताहरुले लामो स्वास लिएर जिब्रो टोकेका थिए । उनले प्रशंसा गरेका तिनै पात्र दुई दिन पछि निकम्बा सावित भए । सेक्युरिटी प्रेस खरिद प्रकणमा वास्कोटाले ७० करोडको बार्गेनिङ्ग गरेको अडियो प्रधानमन्त्री ओली समक्ष दुई महिना अगाडि नै पुगेको थियो । तर त्यसलाई भित्रभित्रै ढाकछोप गर्न नै प्रधानमन्त्री तथा उनका मतियारहरु लागि परेपछि बाध्य भएर सेक्युरिटी मेसिशन डिल गर्दै आएका विजय प्रकाश मिश्रले अडियो बाहिर ल्याइदिए । त्यसपछि वास्कोटालाई जोगाउन खेल खेल्दै आएका प्रधानमन्त्रीको नियत समेत उदांगो भएको छ । सम्पूर्ण कुराको जानकारी हुँदाहुँदै प्रधानमन्त्रीको मौनता रहस्यमय छ । उनले आफ्ना भ्रष्ट मन्त्रीलाई जोगाउने नियत किन देखाए ? कही गोकुल वास्कोटा प्रकरणमा ओलीको समर्थन त हैन ? अझ पनि वास्कोटालाई जोगाउने भित्री खेलहरु चल्न थालेका छन् । अख्तियार, सिआइवी, सम्पत्ति सुद्धिकरण कार्यालय, लेखा समिति, संसदीय समिति वास्कोटा बचाउ अभियानमा लागेका छन् । नेकपाका झोले कार्यकर्ताहरु बास्कोटाको बचाउ अभियानमा उत्रिन थालेका छन् । भष्टाचार गर्ने जोसुकै होस त्यसलाई राज्यको कानुन अनुसार कारबाही हुनुपर्ने होइन ? सामान्य पियनले दुई हजार घुस खाँदा पहाडै फोडुला झै गरेर कारबाही गर्ने अख्तियारको पञ्जा बास्कोटाको गर्धनसम्म किन पुग्न सकेको छैन ? हुन त अख्तियारमा हुनेहरु पनि पेट भएकै छन् । उनीहरु पनि दूधले नुहाएर त्यही पुगेका अवस्यै हुँदैनन् र छैनन् । यसको प्रत्यक्ष उदाहरण अख्तियारका प्रमुख पूर्व आयुक्त दिप बस्न्यातको प्रकरणले पुष्टि गरिसकेको छ ।
