धरान÷ धरानमा नीजि विद्यालय भन्दा सामुदायिक विद्यालयमा आकर्षण बढेको पाइएको छ । सामुदायिक विद्यालयहरुले निजी विद्यालय जस्तै कक्षा १ देखि नै अंग्रजी माध्यमलाई प्राथमिकतामा राखेर पठन पाठन थालेसंंगै सामुदायिक विद्यालयमा आकर्षण बढेको हो ।
७३ बर्ष अगाडि स्थापना भएको धरानको नाम चलेको सामुदायिक विद्यालय पब्लिक मावि अहिले धरानको नमूना विद्यालयको रुपमा प्रस्तुत
गरेको छ । यस विद्यालयको पठन पाठन, विद्यालयको उपस्थिति तथा विद्यालयमा हुने पूर्वाधारमा उत्कृष्ट भएकै कारण नेपाल सरकारले यस विद्यालयलाई नमूना विद्यालयको रुपमा लिएको छ ।
२००३ साल साउन १३ गते स्थापना भएको यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु देशका महत्वपूर्ण स्थानमा पुगेको पाइन्छ । विगतमा केही यस विद्यालयको स्तर केही खस्के पनि अहिले पहिलाको शाक फर्काउन विद्यालय सफल भएको छ । कक्षा १ देखि १२ सम्म पढाइ हुने यो विद्यालयमा १ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् ।
यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुको प्रमुख कारणमा अहिले कक्षा १ देखि ५ सम्म अनिवार्य अंग्रेजी, पढाइसंगै खेलकुदका गतिविधि बढी हुने, आगामी दिनमा इन्डोर गेमका लागि भवन निर्माणका साथै भविष्यमा डिजिटल क्लास सञ्चालन गर्ने योजना विद्यालयले लिएको छ ।
दुई बर्ष अगाडिदेखि कक्षा ११ र १२ मा विज्ञान शंकायसंगै प्राविधिक विषयहरु थप गरेपछि यो विद्यालयमा विद्यार्थीको संख्यामा अझ थप भएको हो । विद्यार्थीहरु गणितमा धेरै फेल हुने भएकोले आगामी दिनमा म्याथ ल्यावकोे निर्माण समेत गर्न लागिएको विद्यालयका प्रद्यनाध्यापक इन्द्रमोहन झाले बताउनुभयो ।
यस विद्यालयमा शिक्षक र तथा कर्मचारी गरी ७६ जना कार्यरत
रहेका छन् । विषयगत शिक्षकहरु समेत दक्ष भएका कारण निजी विद्यालय भन्दा अझ राम्रो पढाइ हुने गरेको विद्यार्थीहरु बताउछन् । कक्षा १० मा अध्यनरत करिस्मा कार्कीले निजी विद्यालयभन्दा राम्रो सामुदायिक विद्यालयमा पढाइ हुने दाबी गर्नुभयो ।
कक्षा ९ मा अध्ययनरत आशिष साहका भनाई पनि करिष्माको जस्तै छ । विद्यार्थीहरुलाई बुझाएर, सम्झाएर पढाउने भएकोले पनि आफूले पढेको कुरा लामो समयसम्म नबिर्सिने बताउनुभयो ।
अझ विद्यालयमा खाजाको व्यवस्था, गरिब तथा असहाय, उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिदिएका कारण पनि अहिले सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गएको पाइएको छ ।
