उपभोक्ता सहभागितामा बाटो पिच गर्ने ‘धरान मोडल’ कसरी सुरु भयो ६०–४० को अवधारणा र अभ्यास ?

विनोद नेपाल
नेपालमा परापूर्व कालदेखि नै जनसहभागिताबाट कुनै पनि सामाजिक काम गर्ने प्रचलन चलिआएको हो ।
धरानमा पञ्चायत कालमा कृष्णकुमार
राई प्रधानपञ्च भएको बेलामा पनि उहाले जनसहभागिाको कुरा उठाउनु भएको थियो । तर त्यसबेला ६०(४० को अवधारणा तथा त्यसबेला प्रक्रिया भएको थिइन । ४०(६० को अवधारणा अर्थात् ४० प्रतिशत उपभोक्ताको र ६० प्रतिशत नगरपालिकाको लगानीमा बाटो पिच गर्ने अभियानले आज देशव्यापी रूप लिइसकेको छ । खाल्डाखुल्डी भएका घुले बाटाहरू जनताको उत्साहपूर्ण लगानी र सहभागिताका कारण चिल्ला सडकमा रूपान्तरित भएका छन् र यसले खासगरी देशभरिका सहरी क्षेत्रको अनुहार नै परिवर्तन गरेको छ । यो यस्तो अभियान हो, जुन आजभन्दा २५ वर्षअघि धरानबाट सुरू भएको हो । यसमा धरानले सिँगो देशलाई नेतृत्व गरेको छ र बाटो देखाएको छ । यो धरानका लागि गर्व र उपलब्धिको विषय हो । यसलाई जनसहभागितामा बाटो पिच गर्ने ‘धरान मोडल’ को नाम दिन सकिन्छ । यसको इतिवृत्त धरान नगरपालिकाले आफ्नो अभिलेखमा राख्नुपर्छ र गौरवसाथ प्रचार प्रसार पनि गर्नुपर्छ ।
समग्र देशका लागि उदाहरणीय र अनुकरणीय बन्न पुगेको यो अभियान धरानमा कहाँ र कसरी सुरु भयो भन्नेबारे अरूलाई त के, सायद धेरै धरानवासीलाई नै थाहा छैन होला । बाटो पिच गर्ने यो मोडल २०५१ सालमा प्रारम्भ भएको हो र यसरी पिच गरिएको पहिलो सडक वडा नं. १० को नारायण पथ हो । यसअघि पञ्चायत कालतिरै जनताको लगानीमा धरानमा एउटा बाटो (सिद्धार्थ मार्ग) अवश्य पिच भएको थियो, तर त्यो जसले जति सक्छ उति पैसा हालेर बनेको थियो । त्यो मोडल वैज्ञानिक वा व्यवस्थित नभएर काम नलाग्ने भएकाले त्यसपछि धेरै लामो समयसम्म धरानमा जनताको लगानीमा अरू कुनै बाटो पिच भएनन् । अरू सहरमा जस्तै खाल्डे र धुले बाटाहरू नै धरानका पनि परिचय बनिरहे ।
२०५१ सालको कुरा हो । मेरो टोल वडा नं. १० नारायणपथमा बाटो पिच गर्न पाए हुन्थ्यो भन्ने कुरा उठ्यो । तर कसरी गर्ने ? नगरपालिकाले पिच गरिदिँदैनथ्यो, टोलवासीले पिच गर्ने सिस्टम बसेको थिएन । एउटा राम्रो, सबैलाई चित्त बुझ्ने, उदाहरणीय र अरूले पनि अनुकरण गर्न सक्ने सिस्टम बनाउन सके बाटो पिच हुन्छ भन्ने मलाई विश्वास थियो । यसबारे मैले निकै गम्भीर भएर सोचिरहेको थिएँ । यसैकारण बाटो निर्माण समितिमा म सचिव पनि बनेको थिएँ । सोच्दै जाँदा मलाई लागेको थियो, पिच गर्न लाग्ने खर्चमध्ये टोलवासीले ४० प्रतिशत उठाउने र बाँकी ६० प्रतिशत नगरपालिकासँग माग्ने ग¥यो भने नगरपालिकाले पनि नाइँ नभन्ला । तर टोलवासीसँग कुन आधारमा पैसा उठाउने ? जसको जग्गा बढी छ वा जो बढी धनी छ उसँग बढी पैसा उठाउने कुरा गर्दा कुरै मिल्दैनथ्यो । त्यो वैज्ञानिक अथवा न्यायसंगत पनि हुँदैनथ्यो । यसैकारण बाटो पिच गर्ने कुरा, कुरा नमिलेर कुरैमा सीमित हुन्थ्यो । त्यसैले, मैले विचार गरे, बाटोमा जसको जग्गाको मुख जति पर्छ धेरै वा थोरै होस्, चाहे ऊ जति धनी वा गरिब होस् । यो सिस्टमको प्रस्ताव गर्दा सबैले समर्थन गरे र यही आधारमा पैसा उठाउने भइयो । तर, नगरपालिकाले ६० प्रतिशत रकम दिन मानेन । जति अनुरोध गर्दा पनि केही नलागेपछि इस्टिमेट भएको रकममध्ये हामीले ६० प्रतिशत रकम उठायौँ र नगरपालिकाले ४० प्रतिशत मात्र दियो । यद्यपी, पछि गएर मेरै अवधारणा अनुरूप, अन्य बाटोहरू जनताले ४० प्रतिशत उठाने र नगरपालिकाले ६० प्रतिशत दिने, ४०–६० को मोडल स्थापित भयो । टोलवासीको आफ्नै लगानी भएपछि सडक राम्ररी पिच भयो र नमुनाका रूपमा स्थापित भयो ।
यसरी नारायणपथ पिच भएपछि अन्य वडा र टोलका वासिन्दाहरू यो बाटो हेर्न आउन थाले र कसरी पिच भयो भन्ने सोधपुछ गर्न थाले । बाटोको मुखमा जसको जति फिट जग्गाले छोएको छ त्यसैको अनुपातमा दामासाही हिसाबले सबैसँग पैसा उठाउने र ४०(६० को मोडल अपनाउने कुरा बताएपछि सबैलाई चित्त बुझ्न थाल्यो र यही मोडलमा धरानमा अरू बाटाहरू पनि धमाधम पिच हुन थाले । फलस्वरूप छोटो समयमै धरानका अधिकाँश बाटाहरू पिच भए र धरान साँच्चै सुन्दर र नमुना सहरका रूपमा देशभरि चर्चित बन्यो । यसपछि अन्य सहरका मानिसहरू पनि ४०(६० को मोडलमा बनेका बाटाहरू हेर्न धरान आउन थाले र यसको सिस्टम बुझेर अरू सहरहरू पनि यही मोडलमा बाटो पिच हुन थाले । यसरी आज देशका सबैजसो सहरका अधिकाँश स्थानीय बाटाहरू यही मोडलमा पिच भएका छन् । उपभोक्ताको सहभागितामा ४०–६० को लगानीमा बाटो पिच गर्ने धरान मोडल सबैका लागि अनुकरणीय बनेको छ । त्यसबेला आपूmले सोचविचार गरेर बनाएको सिस्टम र मोडेलले धरानको मात्र होइन, देशकै सबैजसो सहरहरूको मुहार परिवर्तन गरेको देख्दा मलाई हर्ष, गौरव र आत्मसन्तोषको अनुभव हुनु स्वभाविकै हो ।
बिर्सन नहुने कुरा के भने, ६०(४० को अवधारणा दिमागमा आएपछि मैले यसबारे सर्वप्रथम बहुदलीय व्यवस्थाका पहिलो मेयर ध्यानबहादुर राईलाई यो ‘आइडिया’ बताएको थिएँ । मैले भनेको थिएँ । उपभोक्ताबाट रकम उठ्ने कुरामा मैले सिस्टम बनाएको छु । समस्या छैन । नगरपालिकाबाट ६०, उपभोक्ताबाट ४० को अवधारणाबाट सडक निर्माण गरेमा धरानकै सडक सबै कालो पत्रे हुन्छन् । तपाईं प्रथम मेयर नामपनि हुन्छ, विकास पनि हुन्छ भन्दा तर उहाँले मेरो कुरा बेवास्ता गर्नुभयो । उहाँले वास्ता नगरेपछि दोस्रो नगर प्रमुख मनोज मेयाङ्बोलाई पनि यसरी नै भने ‘धरानकै सबै सडक पिच हुन सक्छन्, तपाईंले इच्छा गर्नुभयो भने’ भनेर उत्प्रेरित गरे । उहाँले पनि हेरौँ मात्र भन्नुभयो विश्वस्त हुनुभएन । तर विकास रोक्ने कुरा थिएन । पिच बनाउनु आवश्यक थियो । खाली परिपाटी मात्र नभएर
रोकिएको थियो । आपैmँले नारायणपथ पिच गरेर उदाहरण पेश गरेपछि भने क्रमिक रूपमा अन्य बाटो पनि पिच हुन थाले । मेरो सोच कार्यरूपमा परिणत भयो । अनि ६०÷४० को अवधारणा मेयरले स्वीकार गर्नुभयो । फलस्वरूप धरान देशकै लागि नमुना सहर बन्यो ।
यहाँनेर भन्नैपर्ने कुरा के छ भने मैले ६०% नगरपालिकाले र ४०% उपभोक्ताले उठाउने परिपाटीको कुरा गरेको भए पनि तत्कालीन नगर प्रमुखले मान्नु भएन र उपभोक्ताले ६०% नगरपालिकाले ४०% रकम दिएर नारायणपथ बाटो बनेको थियो । पछि न.पा.को वार्षिक प्रगति प्रतिवेदनमा भने ६०% नगरपालिका र ४०% उपभोक्ताले उठाएर बनाएको भनी उल्लेख गरिएछ । यसलाई नगरपालिकाले सच्याउनु राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
सबै बाटाहरू पिच भएको धरान आज स्वर्गको टुक्रा जस्तै लाग्दछ । प्रायः सबै घर दुई अढाई तले छन् । सबै घरमा कम्पाउण्ड वाल छ । घरको अगाडि पूmलबारी छ । सुन्दर गेटहरू छन् । ती गेट अगाडि सुन्दर, सफा, चौडा कालो पत्रे बाटो छ । बाटो पुरै सफा छ । यसले धरानलाई दर्शनीय सहर बनाएको छ । त्यसमाथि यो सहरमा कहिले काग नआउने, तुषारो नपर्ने र विजयपुरस्थित बुढासुब्बा परिसरका बाँसका टुप्पा नहुने कारणले प्राकृतिक रूपमै भिन्न र सुन्दर छ । वातावरण अनुकूलित छ । जाडो मौसममा बढी जाडो हुँदैन र गर्मी मौसममा तराई जस्तो गर्मी पनि हुँदैन । जति नै ठुलो पानी परे पनि पानी परिसकेपछि तत्कालै सुख्खा हुन्छ । अलि अगाडि पानी परेको थियो भन्दा पत्याउन नसक्ने अवस्था बन्छ । १४ सय मिटरको उचाइमा रहेको पर्यटकीय स्थल भेडेटार धरान बजारबाट १५(१६ किमी दुरीमा पर्दछ । यति छोटो दुरीमा चिसो, तातो अनुभव गर्न पाईने धरान नेपालकै एकमात्र सहर हो भन्दा फरक नपर्ला ।
जनताको लगानी र सहभागितमा बाटो पिच बनाउने अभियानको आधार बाटो भएर पनि धरान नारायणपथलाई सो बमोजिमको व्यवहार एवम् प्रचार गरेको देखिँदेन । अनभिज्ञ जस्तो गरेर यस्तो ऐतिहासिक बाटोप्रति मौन छ । सिस्टम बसालेर समग्र देशकै लागि उदाहरण बन्दै पिच बाटो बनाउन प्रेरित गर्ने यो बाटोलाई धरानले प्रचारमा ल्याउनुपर्ने देखिन्छ । यही बाटोको कारण धरानका बाटाहरू पिच भए र देशमा नै धरानले नाम राख्न सफल बनेको छ । यो धरान र धरानवासीका लागि गौरवको कुरा हो ।

तपाईको प्रतिक्रिया