धरान÷ रेफ्री बिना कुनै पनि फुटबल प्रतियोगिता सफल हुन सक्दैन । रेफ्रीले प्रतियोगताभरि राम्रो निर्णायक भूमिका निर्वाह गर्दा प्रतियोगिता धाधलीरहित हुने गर्छ ।
यसैलाई मध्यनजर गरी अखिल नेपाल फुटबल संघ (एन्फा) एक नं. प्रदेशले प्रदेश नं. १ का १३ जिल्लाका रेफ्रीलाई ७ दिने प्रशिक्षणको आयोजना गरेको छ । रेफ्रीका गलत निर्णयका कारण प्रतियोगिता स्थगित नभई सहज रुपमा प्रतियोगिताहरु सम्पन्न होउन भन्ने उद्देश्यले फागुन ५ देखि ११ गतेसम्म रेफ्रीको तालिमको आयोजना गरिएको हो
कतिपय प्रतियोगितामा रेफ्रीको गलत निर्णयका कारण खेलाडीहरुबीच विवाद हुने, खेलाडीहरुबीचमा कुटाकुट हुने र अन्त्यमा प्रतियोगिता नै स्थगित हुने गरेका घट्नाहरु धरै छन् । यसैलाई मध्यनजर गरी प्रदेश नं. १ मा रेफ्रीहरुलाई एक हप्ते तालिम राखिएको अखिल नेपाल फुटबल संघ (एन्फाले जनाएको छ ।
मुलुक संघीयतामा गए पछि एन्फाले सातवटै प्रदेशमा प्रदेश स्तरीय एन्फाको कार्यालय खोलेसंगै खेलाडीलाई प्रशिक्षणसंगै रेफ्रीहरुलाई समेत प्रशिक्षण दिन थालेको हो । जथाभावि रुपमा रेफ्रीहरुले प्रतियोगितामा गएर निर्णय गर्र्ने गरेका कारण रेफ्रीहरुमाथि आक्रमण हुने
गरेको घट्ना सुनाउदै अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवम् प्रवक्ता किरण राईले रेफ्रीहरुले प्रतियोगिताको निर्णायक भूमिकाको निर्वाह गर्न जादा एन्फा मातहतमा रहेको जिल्ला संघ, प्रदेश संघसंग अनुमति लिएर जान आग्रह गर्नुभयो । उहाले एन्फाको स्वीकृतिविना भएका प्रतियोगिताबाट कुनै अप्रिय घट्ना भएमा एन्फा जिम्मेबारी नहुने भएकोले यसतर्फ सचेत हुन तालिममा आएका रेफ्रीहरुलाई सजक गराउनुभयो ।
यस्तै आयोजक प्रदेश फुटबल संघ, एक नं. प्रदेशका अध्यक्ष किशोर राईले खेललाई व्यवसायिकीकरण नगरेसम्म फुटबल खेलको विकास नहुने तर्क राख्नुभयो । उहाले फुटबल खेललाई पूर्ण व्यवसायिक बनाउदै स्थायी रोजगारीको माध्यम बनाउनुपर्ने बताउनुभयो ।
उहाले फुटबल खेलको विकासमा रेफ्रीको महत्वपूर्ण भूमिका रहने भएकोले प्रशिक्षण पश्चात सही तरिकाले रेफ्रीको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
रेफ्री तालिममा सहभागी हुन आएका रेफ्रीहरुले समेत यो तालिम प्रभावकारी हुने बताएका छन् । सोलुखुम्बुबाट प्रशिक्षणमा आउनु भएका विक्रमकुमार श्रेष्ठले यहाँबाट सिकेका कुरालाई आफ्नो जिल्लामा सही सदुपयोग गर्ने बताउनुभयो ।
एन्फाको प्रदेश गठन भएपछि एक नं. प्रदेशले पहिलो पटक रेफ्री प्रशिक्षण कार्यक्रम राखिएको हो । धरान १७ एन्फा एकाडेमीको हलमा सञ्चालन भएको तालिममा प्रदेश नं. १ को खोटाङबाहेक अन्य १३ जिल्लाका ५४ जनाले सहभागिता जनाएका छन् । प्रशिक्षण कार्यक्रमलाई नेपालका प्रख्यात रेफ्री सुदिप पाण्डे, सुरेन्द्र सिक्रकर, मधुसुदन खनाल र किरण गिरीले सहजीकरण गर्नुभएको छ ।
यो तालिमपश्चात रेफ्रीहरुले सहज र निष्पक्ष ढंगले फुटबल प्रतियोगिता गराउने र फुटबल खेलको विकासमा कोशेढुगा सावित हुने अपेक्षा आयोजक गरेको छ ।
