धरान÷सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग आवद्ध संघीय लिम्बुवान मञ्च नेपालले प्रदेश नं. १ को नामाकरण लिम्बुवान किराँत खम्बुवान नराखिए जीवन मरणको सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
गत हप्ता धरानमा सम्पन्न मञ्चको प्रान्तीय कमिटीले विविध निर्णयहरु गर्दै नामाकरणको विषयलाई प्राथमिकता दिएको हो । मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिंगदेनको अध्यक्षतामा बसेको बैठकले प्रदेशको नाम लिम्बुवान किराँत खम्बुवान नामाकरण गराउन जीवन मरणको सडक आन्दोलन अगाडि बढाउने निर्णय गरेको हो । आन्दोलन निर्णायक हुने भन्दै उसले आन्दोलनका लागि पहिचान पक्षधर सबै पार्टी, समुदाय, व्यक्ति, संस्था, नागरिक समाजसँग सहकार्य, गठबन्धन गर्दै मञ्चको सबै जन वर्गीय संगठनहरु, सबै तहका समितिहरु, लिम्बुवान भोलिन्टियर्सहरुलाई आन्दोलनका लागि चुस्त दुरुस्त गर्ने निर्णय गरेको छ ।
मञ्चले आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउन महासचिव शान्ता योङहाङको संयोजकत्वमा सात सदस्यीय समिति समेत गठन गरेको छ । जसको सदस्यमा सचिव एवम् एलभि प्रवक्ता राजु राई, सचिव गजेन्द्र चोङवाङ क्याक, संघीय दलित सिल्पि मञ्चका अध्यक्ष रमेश गजमेर, सुनसरी जिल्ला अध्यक्ष अमर इजम, मोरङ्ग जिल्ला अध्यक्ष दिलु लिंगदेन, झापा जिल्ला अध्यक्ष धनबहादुर पन्थाक
रहनु भएको छ । मञ्चले सात प्रान्तलाई संसोधन गरेर १०+१ प्रान्त कायम नहुदासम्म प्रत्येक असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने र आगामी दिनमा लिम्बुवान जस्तै अन्य १०+१ प्रान्तमा पनि असोज ३ लाई कालो दिनको रुपम मनाउन मञ्चले भूमिका खेल्ने निर्णय गरेको छ । उसले हालै सम्पन्न उप निर्वाचनको परिणामलाई समेत विश्लेषण गरेको छ । मञ्चले अधिकांश समय जन धन, शक्ति, पहिचान सहितको संघीयता, प्रदेश नं. १ को नामाकरण, ऐतिहासिक विजयपुर बचाउ आन्दोलन, नयाँ वानेश्वरमा पाँच दिने वृहत धर्ना, आरक्षण हटाउने लोकसेवा विरुद्धको लामो आन्दोलन, असोज ३ कालो दिन सशक्त बनाउने कार्यक्रम, आन्दोलनका लागि जागरण आमसभा गर्दा खर्च भएको समेत जनाएको छ ।
