२८ बर्षपछि धरान उपमहानगरपालिकाको नेतृत्व परिर्वन भएको छ । वामपन्थीहरुको एकलौटी वर्चश्व तोडिएको छ । वर्चस्व गुमेसँगै उनीहरु तिल्मिलाएका छन्, हार्नुको कारण खोजीमा विभिन्न प्रकारका समीक्षात्मक वैठकहरु गरिरहेका छन् ।
आखिरी धरान उपमहानगरपालिकामा यस पटक भएको उप निर्वाचनमा बामपन्थीहरुले किन लज्जास्पद पराजय भोगे त ? पूर्व माओवादी र पूर्व एमालेले दुई बर्ष अगाडि ल्याएको मत गणना गरेर उनीहरु आफ्नो जीतमा सुनिश्चित देखिन्थे तर नगरपालिकाभित्र उनीहरुले बढाएको विकृति, नेकपाका जनप्रतिनिधिको भ्रष्टाचार, सेवकको सट्टामा शासक बन्ने दुष्प्रयास, जनभावना विपरीत केही चतुर र भ्रष्ट कर्मचारीको मिलेमतोमा खानेपानी संस्था कब्जाको दुष्प्रयासमा अँध्यारो कोठामा एडिवीसँग कपटपूर्ण ढंगले सहमति गरेर धराने जनताको थाप्लोमा ऋणको भार बोकाउने, धरान उपमहानगरपालिकालाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउने, धरानेहरुको पीडा बनेका भ्रष्ट कर्मचारी हरुलाई साथमा लिएर अचाक्ली कर बृद्धि गर्ने, विकास निर्माणमा कुनै चासो नदिने, सुकुम्बासी समस्या ज्यूँका त्यूँ राखेर सस्ता आश्वासन बाँडेर उनीहरुलाई भोट बैकिङ्गका रुपमा मात्र प्रयोग गर्ने, यातायात मजदुरलाई सास्ती दिने, जलाधार क्षेत्रको जग्गा भूमाफिया र कर्मचारीसँगको मिलेमतोमा आफै संलग्न भएर बेचबिखन गर्ने जस्ता दर्जनौ कारणले उनीहरु अर्थात कम्युनिस्टको विरासतले यसपटक हात धुएको हो ।
नेपाली काँग्रेसबाट प्रत्यासी भएका उमेद्वार यसपटक धराने मतदाताका लागि साझा उमेदवार बन्न पुगेका थिए ।।कुनै विद्वान वा लोकप्रिय भएर काँग्रेसका उमेद्वार साझा बन्न पुगेका पक्कै थिएनन् । उनी साझा उमेद्वार यस मानेमा बन्न पुगेका थिए कि वामपन्थी वा नेकपा नेतत्वले गरेका माथिका यावत कामप्रति धराने जनताको घोर असन्तुष्टि थियो । धराने जनता आफ्ना अन्तुष्टीहरुलाई पोख्ने उपयुक्त समय र व्यक्तिको खोजीमा देखिए । फलत ः उप निर्वाचनबाट आत्म विश्वासलाई तोडिदिए, रछ्यानमा मिल्काइदिए र आशाका साथ वर्तमान नेतृत्वको काम हेर्ने प्रतिक्षामा छन् । निर्वाचित वर्तमान नेतृत्वले जन भावननाको कदर गर्दै अगाडि नबढ्ने हो भने आगामी दुई बर्षपछि फेरि पनि २८ बर्षे नेतृत्वको पुनरागमन नहोला भन्न सकिदैन । यो उपयुक्त अवसर हो नेपाली काँग्रेस र कम्युनिस्टबीचको विभेद छुट्याउने ।
तर वर्तमान नगर नेतृत्व प्रारम्भमै अलमलमा परेको हो कि जस्तो देखिन थालेको छ । पर्याप्त समय छैन । पाँच बर्षे कार्यकाल लिएर वर्तमान नेतृत्व आएको होइन । यस कुरामा हेक्का राख्नैपर्छ । लामो र दीर्घकालीन योजना बनाउने भन्दा पनि तत्काल देखिने गरी काम गर्नुपर्छ । स–साना कामहरुमा अल्झिने बेला होइन यो । दैनिक जसो आयोजना हुने विभिन्न संघ संस्थाका कार्यक्रमहरुको उद्घाटनमा दौडिने, सम्मान खाने, सम्मान गर्ने, प्रमुख अतिथिको रुपमा भाषण ठोक्ने कामहरु बन्द गर्नुपर्छ । विभिन्न समितिहरु बनाएर अल्झने कामलाई बन्द लगाउनुपर्छ । यस्ता यावत कामहरु दुई बर्षपछि हुने निर्वाचन पश्चातको पूर्व अवधिलाई प्रयोग गर्न सकिन्छ । धरान उपमहानगरपालिकाका भ्रष्ट र बर्षौदेखि जरा गाडेर बसेका कर्मचारीहरुलाई तत्काल ठेगान लगाउने काम मात्र तत्काल भएमा वर्तमान नेतृत्वको धराने जनताले हाइहाइ गर्ने छन् । एडिवीलाई खानेपानी जिम्मा दिनु हुँदैन भन्ने पक्षमा धरानका ९० प्रतिशत जनता छन् । बाँकी दश प्रतिशत एडिवीको दान दक्षिणा खाएकाहरुले मात्र त्यसको पक्ष पोषण गरेका छन् । नेतृत्वले जनमतको कदर गर्नैपर्छ । बर्षौैदेखि ढलीमली गर्ने कर्मचारीका सट्टामा प्रदेश तथा संघ संरकरसँग निजामिति
कर्मचारीहरुको माग गरी ल्याउनु पर्छ । यसभन्दा अगाडि निजामति कर्मचारीहरुलाई आउनै नदिएको दृष्टान्त छ । सडकका खाल्डाखुल्डी पुर्ने र जन्म, मृत्यु, बसाई सराई जस्ता सामान्य सिफारिसमा लिने दस्तुर निःशुल्क बनाउदै सुकुम्बासी समस्या समाधानको दीर्घकालीन योजना अगाडि बढाउँदा आगामी दिनमा पुनः कम्युनिस्ट नेतृत्व आउने सम्भावना न्यून रहन्छ । अन्यथा दुवैमा कुनै विभेद देखिने छैन ।
