कर समायोजन पहिलो प्राथमिकतामा ः नव निर्वाचित मेयर तिलक राई

धरान÷ उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले गत बुधबार कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्ने वित्तिकै उहाले कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर समेत गरिसक्नुभएको छ । नव निर्वाचित मेयर राईको आगमनमा धरानले विकासको कस्तो गति लिन्छ भन्ने कुरा सर्वसाधारणलाई चासोका विषय समेत बनेको छ ।
मंसिर १४ गतेको उपनिर्वाचनपछि मंसिर १६ गते धराने जनताको मतबाट सम्मानजनक विजय प्राप्त गर्नुभएका राईले आफना पहिलो काम कर समायोजन हुने बताउनुभयो । उहाले निर्वाचित भएर आइसकेपछि आफू कुनै पार्टी वा दलको प्रतिनिधि नभइ समग्र धरानेको मेयर भएका कारण कोही पनि सत्ता पक्ष र प्रतिपक्ष नरहने उल्लेख गर्नुभयो । उहाँले नगरको विकासमा सबैको सहयोग लिएर अघि बढ्ने बताउनुभयो ।
पदभार ग्रहण गर्नुपूर्व नगर प्रमुख राईले धरान–१६ स्थित लौह पुरुष गणेशमान सिंह र धरान–१९ हरियाली स्थित नगर प्रमुख स्व. तारा सुब्बाको अर्धकदको शालिकमा माल्यार्णपण समेत गर्नुभएको थियो । स्वर्गीय सुब्बाको शालिक माल्यार्णपण पछि बोल्नुहुदै नगर प्रमुख राईले स्वर्गीय सुब्बाले अघि सारेका राम्रा काम निरन्तरता दिने बताउदै आफु स्वर्गीय सुब्बाको उत्तराधिकारीको रुपमा काम गर्ने स्पष्ट पार्नुभयो ।
धरानमा २८ बर्षपछि कम्युनिस्टको जनप्रतिनिधिले धरान उपमहानगरपालिका चलाए पनि यसपटक भने काँग्रेसलाई काम गर्ने मौका दिएको छ । यो ऐतिहासिक क्षणलाई मेयर राईले कस्तो काम गर्नुहुन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।

तपाईको प्रतिक्रिया