धरान । दलित समुदायका युवाहरुलाई मिडिया प्रति आकर्षित गर्ने लक्ष्यका साथ पिस मिडिया ग्रुपले एक दिने मिडिया उत्प्रेरणा तालिम सम्पन्न गरेको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १५ को दलित लक्षित कार्यक्रम अन्र्तगत वडाका विभिन्न टोल विकाश समितीका १६ जना युवा तथा युवतीहरुले सहभागि जनाएका थिए । दलित समुदाय माथिको विभेद अन्त्य र अधिकार सुनिश्चितताका लागि सञ्चारक्षेत्रको महत्वपुर्ण भुमिका रहने भएकाले युवाहरुलाई मिडिया प्रति आकर्षित गराउन कार्यक्रमको आयोजना गरिएको पिस मिडिया ग्रुपका संयोजक दिनेश गजमेरले बताए ।
वडा नम्बर १५ का वडाअध्यक्ष नरेश कुमार इवारुमको प्रमुख आतिथ्यमा भएको थियो । मिडिया उत्प्रेरणा तालिममा समाज परिवर्तनका लागि मिडिया आवश्यक भएकाले दलित समुदायको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने प्रमुख अतिथी इवारमले बताए । उनले समाज संगै समुदायको अधिकार सुनिश्चितका लागि आवाज बुलन्द गर्न मिडियामा प्रतिनिधित्वका लागि सदैव साथ रहने प्रतिबद्धता जनाए ।
सामाजिक, आर्थिक, शैक्षिक क्षमताको कमिले सञ्चारक्षेत्रमा दलित समुदायको उपस्थिती न्युन रहेको छ । जसका कारण दलित समुदायका मुद्धाहरु सञ्चारमाध्यममा आउन नसकेकाले जस्को पिडा उसैको कलमको माध्यमबाट परिवर्तनका लागि अनिवार्य रहेकाले तालिमले युवाहरुलाई उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको गजमेरको भनाई छ ।
पहिलो चरणमा दलित समुदायका युवाहरुलाई मिडिया प्रति उत्प्रेरणा जगाउँदै दोस्रो चरणमा उनीहरुले चाहे जस्तो सञ्चारमाध्यमहरुको तालिमहरु संचालन गर्ने योजना रहेको उनले बताए ।
दलित महिला वडा सदस्य निरमाया विकको सभापतित्वमा भएको एक दिने तालिममा नागरिक दैनिकका पत्रकार रोहित राई र ग्रुपका संयोजक दिनेश गजमेरले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र बस्नेत, दलित विकाश समितीका संयोजक किशोर परियार लगायतको उपस्थिती रहेको थियो ।
