धरान÷नेपाल औषधी व्यवसायी संघ सुनसरीको प्रथम ऐतिहासिक अधिवेशन यही भाद्र ७ गते हुने भएको छ ।
विगतमा अञ्चल, केन्द्र स्तरमामात्र औषधि व्यवसायीहरु बीचमा प्रतिष्पर्धा भएर नेतृत्व छनौट हुँदै आए पनि अब भने जिल्ला स्तरमै व्यवसायीहरुको हक,हितलाई मध्यनजर गरी जिल्ला स्तरीय नेतृत्व छनौट हुन लागेको हो । प्रथम जिल्ला अधिवेशन भएपनि त्रिपक्षीय भिडन्त हुने भएपछि व्यवसायीहरुको निर्वाचन भने रोचक हुने देखिएको छ ।
सुनसरी जिल्लाको धरानमा सबैभन्दा बढी औषधि व्यवसायी रहेका छन् । जिल्ला भरिबाट कुल ४ सय २९ औषधि व्यवसायीले नेतृत्व छनौटका लागि मतदात गर्ने भएका छन् । धरानबाट जिल्ला नेतृत्वका लागि सहारा मेडिकल हलका सञ्चालक मच्छेन सुब्बा, इटहरीबाट नविन गौतम र रविन्द्र बीचमा प्रतिष्पर्धा हुने देखिएको छ । अौषधी व्यवसायीहरु बीचमा अत्यन्तै लोकप्रिय मानिने सुब्बा जिल्ला नेतृत्वमा छनौट हुने प्रवल सम्भावना देखिएको स्वयम् व्यवसायीहरु बताउँछन् । सुब्बाले आफ्नो प्यानलै खडा गर्नुभएको छ । जसमा जिल्ला उपाध्यक्षमा प्रभातकुमार श्रेष्ठ, महासचिवमा सुवास पौड्याल, सचिवमा पंकज झा, कोषाध्यक्षमा चोलेन्द्र वास्तोला, सह कोषाध्यक्षमा सत्रुघन प्रसाद साह, सदस्यमा राजु श्रेष्ठ, अब्दुल मोजिब र सन्तोषकुमार सिंह रहनु भएको छ । अन्य अध्यक्षका आकांक्षीहरुले हालसम्म प्यानल समेत तयार पार्न नसकेको व्यवसायीहरु बताउँछन् ।
